भत्किएका पुल तथा सडक निर्माण गर्न समितिको निर्देशन «

भत्किएका पुल तथा सडक निर्माण गर्न समितिको निर्देशन


प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले अविरल वर्षाका कारण विभिन्न सडक र पुलहरू क्षतिग्रस्त भएकाले क्षतिको कारण पत्ता लगाई यथाशीघ्र निर्माणकार्य सुचारु गर्न निर्देशन दिएको छ ।


आइतबार बसेको समितिको बैठकले वर्षाका कारण देशभरका विभिन्न सडक खण्डमा निर्माणाधीन पुल क्षतिग्रस्त भएका र ति पुलहरू क्षतिग्रस्त हुनुका कारण पत्ता लगाई यथाशीघ्र निर्माण कार्य सुरु गर्न निर्देशन दिएको हो । समितिले सिरहा–धनुषा जोड्ने सडकअन्तर्गतको कमला पुल र गाइघाट–दिक्तेल अन्तर्गतको त्रियुगा नदीको पुल क्षतिग्रस्त हुनुको कारण पत्ता लगाई छिटो पुनः निर्माणकार्य सुचारु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।

त्यसैगरी कमला र त्रियुगा नदीको पुल के कारणले क्षतिग्रस्त भयो भन्ने छानबिन गरेर समितिलाई सात दिनभित्र जानकारी गराउन गराउन पनि निर्देशन दिएको समिति सभापति कल्याणी कुमारी खड्काले बताइन् । उनले भनिन्, “हालै अविरल वर्षाका कारण सिरहा, धनुषा जोड्ने हुलाकी सडक अन्र्तगत कमला नदीमा निर्माणाधिन पुल भासिएको एवं गाईघाट दिक्तेल सडकखण्ड अन्तर्गतको त्रियुगा नदीको पुल जग भासिएर स्ल्याब खसेको हुँदा निर्माणाधीन अवस्थामा रहेका पुलहरू क्षतिग्रस्त हुनुको वास्तविक कारण पत्ता लगाई यथाशीघ्र पुल निर्माणको कार्य सुचारु गर्न समिति पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ ।

साथै पुल निर्माणमा भएको प्राविधिक त्रुटिलगायतका भासिनुका विविध कारण पहिचान गर्न समितिले उपयुक्त समयमा सो क्षेत्रको स्थलगत अनुगमन गर्ने । कमला नदीको पुल, त्रियुगा नदीको पुललगायतका पुलहरू के कति कारणले क्षति भएको हो त्यो सातदिन भित्र छानबिन गरेर समितिलाई जानकारी दिन मन्त्रालयलाई निर्देशन दिइएको छ ।”
समितिले अरनिको राजमार्ग अन्तर्गतको विभिन्न सडक खण्डहरु क्षतिग्रस्त भएकाले सडकको स्तरोन्नति गर्न, आवश्यक पुलहरुको निर्माण गरी तत्काल यातायात सुचारु गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

त्यस्तै पटक पटक अवरुद्ध हुने नारायणघाट–मुग्लिन सडक खण्डको दीर्घकालीन समाधानका लागि विशेष अध्ययन गरी २४सै घण्टा इमर्जेन्सी रेस्पोन्सको व्यवस्था मिलाउन र बिना अवरोध यातायात सुचारु गर्ने व्यवस्था मिलाउन समितिले निर्देशन गरेको समिति सभापति खड्काले बताइन् ।
समितिले सरकारलाई बाढी, पहिरोबाट सिर्जित समस्याको समाधान गर्न पूर्वसचेतना कार्यक्रमलगायत बाढी, पहिरो नियन्त्रणसम्बन्धी दीर्घकालीन नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएको छ । तिनै तहको सरकारसँग समन्वय गरी तत्काल उद्धार, राहत र पुनःस्थापनाको प्रबन्ध मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई समितिको निर्देशन छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले हालसम्म १५३ स्थानमा सडक अवरुद्ध भएको बताए । यसमध्ये हाल ११ वटा अवरुद्ध अवस्थामै रहेको, ९३ वटा एकतर्फी चालू अवस्थामा रहेको र ४९ वटा दुवैतर्फ सुचारु अवस्थामा रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्