निषेधाज्ञा र पुँजीबजारमा आएको चमक «

निषेधाज्ञा र पुँजीबजारमा आएको चमक

देशमा दोस्रो लहरको कोरोनाको कारणले गर्दा सरकारले दोस्रो पटक जारी गरेको निषेधाज्ञा क्रमश खुकुलो हुँदै गएको छ । यसपालिको निषेधाज्ञाले सबैजसो क्षेत्रलाई निषेध गरेको थियो । खाद्यान्न पसलसमेत खोल्न दिइएन । निषेधाज्ञाले सबैजसो आर्थिक गतिविधि ठप्प भए । तर, सेयर बजार भने निषेधाज्ञाले निषेध भएन । सेयर बजार निषेधाज्ञामा पनि खेुले भने सेयर बजारमा चमक पनि देखिएको थियो । निषेधाज्ञामा पनि सेयर बजारले नयाँ–नयाँ रेकर्डहरू कायम गर्यो । देशको सबैजसो आर्थिक गतिविधि ठप्प भएको बेला सेयर बजार भने बढेको थियो भने कारोबारको रकममा पनि वृद्धि भएको देखिन्छ । यसलाई सकारात्मक मान्नुपर्छ ।
गत वर्ष पनि कोरोनाको कारणले लकडाउन भएको थियो । पहिलो लकडाउनमा सेयर बजार पनि बन्द भएको थियो । त्यस बेला केही लगानीकर्ताका नेताहरूले सेयर बजार बन्द गर्नुपर्छ भनेर होहल्ला गरेका थिए । त्यस बेला सेयर बजार ओरालो लागिरहेको अवस्थामा थियो । त्यस बेला पनि कतिपयको भनाइमा सेयर बजार ओरोलो लागेका कारण सेयर बजार लकडाउनमा बन्द गर्नुपर्छ भनेर आवाज उठाएको हो तर कतिपयको भनाइमा सेयर लगानीकर्ताका नेताहरू सेयर बजार ओरालो लागेको बेला मात्र सक्रिय हुने गरेको भन्ने आरोप पनि छ । तर, यसपालिको निषेधाज्ञामा भने सेयर बजारको अवस्था उकालो लागिरहेको अवस्थामा थियो । यसकारणले पनि लगानीकर्ताका नेताहरू केही नबोलेको होलान् । तर, यो एक हिसाबले सही नै हो भनेर भन्नुपर्ने हुन्छ ।
यसपालि सेयर बजारमा अनलाइनबाट कारोबार गर्नेहरू ह्वात्तै बढेका छन् । गत वर्ष निषेधाज्ञामा सेयर बजारमा अनलाइन कारोबार गर्नेहरू त्यति थिएनन् । त्यसो त अहिले सेयर बजारका सबै गतिविधि अनलाइनबाट नै हुने भइसकेका छन् । घर–पसल जहाँतहीँ बसेर पनि सेयर कारोबार अनलाइनबाट गर्न सकिने भएका छन् । यस कारणले पनि सेयर बजार बन्द गर्न नपर्ने भएको हो भन्दा पनि फरक नपर्ला । यस कारणले पनि सेयर बजारलाई निषेधाज्ञाले असर नगरेको भए पनि कतिपय नयाँ लगानीकर्ताहरू, अनलाइनमा आबद्ध नभएका लगानीकर्ताहरूले भने कारोबार गर्न नपाएको भनेर पनि भन्ने गरेका छन् । त्यसो त निषेधाज्ञाले अरू क्षेत्र बन्द भएकाले पनि सेयर बजार बढेको हो भनेर भन्ने पनि नभएको होइन । जे भए पनि निषेधाज्ञामा सेयर बजारमा भने चमक भने देखिएको थियो नै ।
यसपालि देशको राजनीतिमा भएको भाँडभैलोले पनि सेयर बजारलाई त्यति असर गरेन ।
यसपालिको निषेधाज्ञामा राजनीतिक क्षेत्रमा भाँडभैलो भएको थियो । सत्ताका लागि राजनीतिक दलहरूबीच लुँछाचँडी भयो । कोरोनाको कहरले अक्सिजन नपाएर बिरामीहरू मरिरहँदा पनि राजनीतिक दलहरूले सत्ताका लागि नाङ्गो नाच देखाए । नागरिकहरूले खोप मागिरहेको अवस्थामा पनि सरकारका दल भने भोट माग्ने अवस्थामा आइपुगे । सरकारले दोस्रो पटक प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचनको घोषणासमेत गरेको थियो । देशमा राजनीतिक दलहरू सत्ताका लागि भाँडभैलो गरिरहँदा पनि यसले सेयर बजारमा त्यति असर गरेन । सेयर बजार आफ्नै लयमा अगाडि बढिरहेको थियो । यो सेयर बजारका लागि राम्रो पक्ष हो । विगतमा भने राजनीतिक चलखेल र सरकार परिवर्तनसँगै सेयर बजारमा पनि असर गर्ने गरेको देखिन्थ्यो, तर यसपालि भने त्यस्तो देखिएन । के त लगानीकर्ताहरू परिपक्व भएको हुन् त ? हुनसक्छ ।
त्यसो त कतिपय सेयर बजारका ठूलाबडा माहिर खेलाडीहरूले सेयर बजारलाई आफ्नो अनुकूल बनाउनका लागि चलखेल गरेको पनि देखिन्छ । निषेधाज्ञामा नै नेपाल उद्योग वाणिज्य महासंघको पुँजीबजार विकास फोरमले प्राथमिक बजारमा रहेको १० कित्ते नीतिलाई हटाउनका लागि सेबोनमा दबाब दिएको चर्चा पनि सेयर बजारमा भएका थिए । सेयर बजारका माहिर खेलाडीहरूले प्राथमिक बजारलाई पनि आफ्नो पोल्टामा पार्नका लागि सेबोनलाई दबाब दिएका थिए । १० कित्ते नीतिलाई हटाउनु भनेको साना र नवप्रवेशी लगानीकर्ताहरूलाई प्राथमिक सेयर भर्नबाट वञ्चित गराउनु हो । सेबोनको अध्यक्ष पनि १० कित्ते नीतिको विरोधी नै थिए किनकि ठूलाबडा लगानीकर्ताहरूको आर्थिक दबाब परेको थियो ।
केही कम्पनीहरूले निषेधाज्ञामा नै वार्षिक विशेष साधारणसभाहरू पनि गरे । तर, यसमा आम लगानीकर्ताहरूको असन्तुष्टि रहेको छ । आम लगानीकर्ताहरूले नै भाग लिन नसकिने अवस्थामा साधारणसभा आयोजना गर्न नहुने सर्वसाधारण लगानीकर्ताहरूको भनाइ रहेको छ । साधारणसभा एक–दुई हप्तापछि गरेको भए पनि आकाश नै खस्ने थिएन । यसपालिको निषेधाज्ञामा आर्थिक वर्ष २०७८-७९ को बजेट पनि जारी भएको थियो । तर, यसपालिको बजेटले सेयर बजारका लगानीकर्ताहरूका लागि भने हात्ती आयो हात्ती फुस्सा भएजस्तै भयो । बजेटले सेयर बजारका लागि त्यस्तो केही सम्बोधन गरेन । तर, सेयर बजारका लगानीकर्ताहरूलाई भने दुई वर्गमा वर्गीकरण गरिदियो । लामो अवधिका र छोटो अवधिका लगानीकर्ताहरू भनेर भने पुँजीगत लाभकर ५० प्रतिशतले बढाएको थियो छोटा लगानीकर्ताहरूका लागि । सेयर किनेको एक वर्षभित्र बेच्ने लगानीकर्ताहरू छोटो अवधिका र सेयर किनेको एक वर्षपछि बेच्ने लगानीकर्ताहरू लामो अवधिका । बजेटले सेयर बजारका लगानीकर्ताहरूलाई कुनै राहतका कार्यक्रमहरू, योजनाहरू ल्याएन ।
यसपालिको बजेट राजस्व बढाउनमा नै केन्द्रित भयो । तर पनि सेयर बजारमा भने असर परेन । त्यसैले यसपालिको निषेधाज्ञा, राजनीतिक खिचातानी र बजेटले सेयर बजारलाई असर नपारेका कारणले यो सकारात्मक पक्ष हो भन्दा पनि फरक नपर्ला । तर पनि कतिपय लगानीकर्ताहरू भने आफुले किन्न लागेको कम्पनीको छनोटमा भने चिप्लिएको देखिन्छ । घाटामा रहेको कतिपय कम्पनीका सेयरमा लगानीकर्ताहरूको आकर्षण देखिएको छ । यस्ता कम्पनीहरूको सेयर मूल्य उच्च रहेको पनि देखियो । लगानीकर्ताहरू कम्पनी छनोटमा सजग, सचेत हुनुपर्ने देखिन्छ । घाटामा रहेका, वर्षौंदेखि लगानीकर्ताहरूले केही नपाएका कम्पनीहरूको सेयर मूल्य हजारभन्दा बढी रहेको देखियो । यस्ता कम्पनीहरूको सेयरबाट लगानीकर्ताहरू नडुब्ला भनेर भन्न सकिँदैन । लगानीकर्ताहरूले सेयरमा लगानी गर्दा आपूmले लगानी गर्ने कम्पनीका बारेमा आर्थिक सूचकांकका बारेमा जानकारी लिएर मात्र लगानी गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्