मेलम्ची बाढीले तीन स्थानीय तहसँगको सडक सम्पर्क विच्छेद «

मेलम्ची बाढीले तीन स्थानीय तहसँगको सडक सम्पर्क विच्छेद

सिन्धुपाल्चोक-हेलम्बु गाउँपालिकाको भेम्राथाङमा पहिरो गई आएको बाढीले दुई पुलसहित २० घर बगाएको छ । हेलम्बुको लाइफलाइन मानिएको चनौटे बजारको पक्की पुल बगाएसँगै तीन स्थानीय तहबीचको सडक सम्पर्कसमेत विच्छेद भएको छ ।
गएको असार १ गते आएको बाढी शनिबार साँझ पनि उही रुपमा आएको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी राजन अधिकारीका अनुसार चनौटेको पक्की पुलसहित अर्काे एक झोलुंगे पुल बगाएको हो । त्यस्तै हेलम्बुका १२ पक्की घर, ८ वटा कच्ची घर बगाएको उनले जानकारी दिए । बाढीले थप २ वटा झोलुंगे पुल र ३ वटा घर डुबानमा पारेको छ । रेडियो मेलम्चीको भवनसमेत बाढीले बगाएको छ ।
हेलम्बुमा रहेको रातो पुल बगेपछि हेलम्बुको वडा नं १, २, ३ पाँचपोखरी गाउँपालिकाको १ र २ नं र मेलम्ची नगरपालिकाको ७, ८ र ११ नं वडाहरुसँगको सम्पर्क विच्छेद भएको छ । त्यस ठाउँमा यातायात पूर्ण रुपमा ठप्प हुँदा खाद्यान्न ढुवानी र बिरामी हस्पिटलसम्म लैजान समस्या परेको छ । रातो पुल बगाएपछि सडकबाट आवतजावत गर्ने अर्काे विकल्प छैन ।
बाढीले सडक ठाउँ ठाउँमा बगाएको छ । मेलम्चीबाट माथि तालामाराड, ग्याल्थुम पुग्न सक्ने अवस्था नभएको प्रदेश सभा सदस्य निमा लामाले जानकारी दिए । बाढीले ठाउँठाउँमा सडक भत्काएको उनको भनाइ छ ।
लेदोसहित आएको बाढीले तालामाराडको प्रहरी चौकीको भान्छा घर भत्काएको स्थानीयवासीले जानकारी दिए । अहिले पनि विभिन्न ठाउँमा पहिरो गइरहेको छ । हेलम्बुको किउल बजार जोखिममा रहेको छ ।
वर्षा नहुँदा पनि असार १ गते जस्तै गरि अकल्पनीय रुपमा बाढी आएपछि हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पा बाढी र पहिरोको उद्गमस्थल भ्रेमाथाङ पुगेका थिए । हेलिकोप्टरबाट त्यहाँ पुगेका अध्यक्ष शेर्पाले अवस्था निकै जटिल रहेको सुनाए । ‘अवस्था निकै नाजुक छ, त्यहाँको स्थिति निकै डरलाग्दो छ,’ अध्यक्ष शेर्पाले सुनाए, ‘दुबैतर्फबाट पहिरो झरिरहेको छ ।’ उनले बाढी फेरि आउन सक्ने अवस्था रहेको बताए ।
भ्रेमाथाङको अवस्था नियालेर अध्यक्ष शेर्पा तत्काल काठमाडौं पुगेर गृहमन्त्री बालकृष्ण खाणलाई भेटेका थिए । उनले गृहमन्त्री खाणलाई त्यहाँको अवस्थाको भिडियो देखाएर भने ‘अवस्था यस्तो छ, के गर्ने हो आफैं हेर्नुहोस् ।’ अध्यक्ष शेर्पाले कुनै पनि बेला झनै ठूलो बाढी आउनसक्ने आँकलन गरेका छन् । नदि किनारका बासिन्दालाई तत्काल सार्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । मेलम्ची खोला वरपरका बस्ती सार्नुको विकल्प नभएको अध्यक्ष शेर्पाले जानकारी दिए । ‘भेम्राथाङको ठूलो चौर अझै झर्ने सम्भावना देखिन्छ,’ उनी भन्छन्, ‘चिरा चिरा परेको र जमिन गलिसकेको जस्तो देखिन्छ ।’ उनले तल्लो तटीय क्षेत्रका बासिन्दालाई समयमै वैकल्पिक स्थानमा नसारे ठूलो दुर्घटना निम्तिन सक्ने बताए ।
मेलम्चीको मुहानभन्दा तल चौरमा माथिबाट बगेर आएको ढुंगा, माटो र बालुवा थुप्रिएको छ । सानो पानी पर्दा त्यो कटान भएर बगिरहेको शेर्पाले आँकलन गरे । मेलम्चीको पानीले उक्त चौरमा करिब २ सय मिटर उचाइका ढिस्का तयार पारेको र ती पनि बग्ने क्रममा रहेका शेर्पाले बताए । ‘पानीमा लेदो बग्दै आइरहेको छ । अझै रोकिने अवस्था छैन । पानी परेमा झन् खतरा छ,’ उनले थपे ।
शनिबार साँझबाट अविरल रुपमा आएको बाढीको उद्गम क्षेत्रमा विज्ञ टोली पुगेका छन् । खानी तथा भूगर्भ विभागका प्रमुख शिवहरि बाँस्कोटाको नेतृत्वमा ५ सदस्यीय टोली भेम्राथाङ आइपुगेको हो ।
मेलम्ची नदीमा आएको भीषण बाढी र पहिरोबारे अध्ययन गर्न विज्ञहरुको टोली पहिरो उद्गमस्थल भेम्राथाङ पठाउन निर्देशन दिएका थिए । टोली पहिरोको उद्गमस्थल भेम्राथाङ पुगेर त्यहाँको अवस्थाको बारेमा अध्ययन गर्न पुगेका हुन् ।
हेलम्बु गाउँपालिकाको भ्रेमाथाङ आसपास शनिबार दिउँसोबाटै निरन्तर पानी परेकाले तल्लो तटीय क्षेत्रमा ठूलो बाढी आएको हो । तल्लो तटीय क्षेत्रमा भने पानी परेको छैन । असार १ गते आएको बाढी भेम्राथाङको २५ प्रतिशत चौर बगेर आएको विज्ञले बताएका थिए ।

ढल्यो रेडियो मेलम्चीको भवन
मेलम्ची बजारमा रहेर जनतालाई सूसुचित गरिरहेको रेडियो मेलम्चीको चार तले पक्की घर बाढीले बगाएको छ । व्यक्ति व्यक्तिको चन्दा सहयोगबाट निर्माण गरिएको सामुदायिक रुपमा सञ्चालित रेडियो मेलम्चीको भवन बाढीले नदिमा मिसाएको हो ।
मेलम्ची नगरपालिकाले रेडियो सञ्चालनका लागि जग्गा उपलब्ध गराएपछि निर्माण सुरु गरिएको भवनका लागि विभिन्न व्यक्ति र संस्थाले आफूखुसी चन्दा सहयोग गरेका थिए । स्थानीय संग्रहालय, सभाहल, पुस्तकालय, सूचना केन्द्रसमेत रहने गरि बनाइएको भवन अब कथा मात्रै बनेको छ ।
अहिले रेडियो त्यही भवनबाट प्रशारण हुने गरेको थियो । असार १ गतेको बाढीले डुबानमा पारेको भवन शनिबारको बाढीले ढालेको हो । बाढीले डुबानमा पारेपछि उपकरणहरु सबै बिग्रिएको स्टेशन म्यानेजर देवराज सुवेदीले जानकारी दिए ।
भवन निर्माणका लागि निर्वाचन क्षेत्र विकास कोषबाट दश लाख रुपैयाँ प्राप्त भएपछि निर्माण सुरु गरिएको थियो । रेडियो सञ्चालक समितिका अध्यक्ष डम्बर रसिक भारतीले सांसद विकास कोषबाट विनियोजित रकमले निर्माण सुरु गरेपछि व्यक्तिहरुले पनि आफूखुशी चन्दा सहयोग गरेर भवन ठडिएको बताए । पछि ह्योल्मो–सिन्धु–मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिबाट दुई लाख रुपैयाँ संस्थागत रुपमा प्राप्त भएको थियो । ‘व्यक्ति व्यक्तिको पसिनाले बनेको भवन बाढीले निल्यो,’ अध्यक्ष भारतीले भने, ‘अब फेरि यस्तो भवन एउटा सपना हो ।’
यो भेगमा रेडियो स्टेशन यही एउटा मात्रै हो । भवनमा सूचना केन्द्रका साथै लोप भइसकेका र लोप हुने क्रमका विविध स्थानीय सामग्रीहरुको संग्रहालयसमेत राखिने तयारी स्टेशन म्यानेजर देवराज सुवेदीले जानकारी दिए । संग्रहालयमा खुर्पेटो, ढिकी, जाँतो, हर्पे, तुलो, ठेकी, घुम, घुमराडी आदि समावेश गरिने योजनामा रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्