खोप आपूर्तिमा अमेरिकी सरकारको थप सहयोगको आग्रह «

खोप आपूर्तिमा अमेरिकी सरकारको थप सहयोगको आग्रह


नेपालले कोभिड विरुद्धको खोप पहिलो प्राथमिकताको विषय भएको भन्दै त्यसको आपूर्तिमा अमेरिकी सरकारबाट थप सहयोगको आग्रह गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि अमेरिकी राजदूत रयान्डी बेरीले शिष्टाचार भेट गदै कोरोनाको खोपको थप मात्रा सहयोग गर्न आग्रह गरेका हुन् । मन्त्री शर्माले कोभिड विरुद्धको खोप नेपालको पहिलो प्राथमिकताको विषय भएको भन्दै त्यसको आपूर्तिमा अमेरिकी सरकारबाट थप सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गरेका हुन् ।
भूकम्पछिको उद्धार र कोभिड महामारीको समयमा प्राप्त भएको अमेरिकी सहयोग अविश्मरणीय रहेको भन्दै सरकारको तर्फबाट धन्यवाद ज्ञापन गर्दै मन्त्री शर्माले अमेरिकी सरकारको सहयोगमा नेपालमा सञ्चालित परियोजनाहरुको कार्यान्वयनमा अनुगमन गरी तदारुकता दिन सरकारले ध्यान पुर्याउने प्रतिवद्धता व्यक्त गरे ।
भेटमा राजदूत बेरीले कोभिड विरुद्धको लडाइँमा अमेरिका नेपालको साथमा रहेको बताए । विगत ७० वर्षदेखि अमेरिकाले नेपालको स्वास्थ्य र शिक्षाको क्षेत्रमा सहयोग गर्दै आएको प्रसंग उल्लेख गर्दै उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाए । कोभिड विरुद्धको खोप अभियानमा सघाउन अमेरिकाले १५ लाख डोज खोप प्रदान गरेको र आगामी दिनमा पनि आवश्यक सहयोग गर्नेतर्फ सकारात्मक रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्