Logo

भैरहवा नाकाबाट चामल आयात घटदै


भैरहवा नाका हुँदै चामल आयात घटेको छ । लगातार ३ आर्थिक वर्षदेखि चामल आयात घटेको भन्सार कार्यालय भैरहवाको तथ्यांकले देखाएको छ ।
कार्यालयका भन्सार अधिकृत एवं सूचना अधिकारी तिर्थराज पासवानका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा भैरहवा नाकाबाट ७ अर्ब ६५ करोड २९ लाख ११ हजार रुपैयाँ बराबरको चामल आयात भएको छ । सूचना अधिकारी पासवानका अनुसार सो आर्थिक वर्षमा १ लाख ७३ हजार ७ सय ८ मेट्रिकटन चामल आयात हुँदा कार्यालयले ८८ करोड २७ लाख ६ हजार रुपैयाँ राजस्व संक्लन भएको थियो ।
आर्थिक वर्ष २०७५/०७६ मा ८ अर्ब ८४ करोड ७६ लाख ९७ हजार रुपैयाँ बराबरको १ लाख ९३ हजार ७ सय ६३ मेट्रिक टन र २०७६/०७७ मा ८ अर्ब ४५ करोड ८५ लाख ५१ ह्जार रुपैयाँ बराबरको १ लाख ८० हजार ६१ मेट्रिकटन चामल आयात भएको तथ्यांक भन्सार कार्यालयको छ । यो तथ्यांकले पनि भैरहवा नाका हुँदै चामल आयात घटेको प्रष्ट हुन्छ । चामल आयात घटेपनि चामल आयात हुँदा प्राप्त हुने राजस्व भने प्रत्येक वर्ष बढेको छ । २०७५/०७६ मा ७० करोड ४६ लाख, २०७६/०७७ मा ८७ करोड २७ लाख र २०७७/०७८ मा ८८ करोड २७ लाख रुपैयाँ राजस्व उठेको छ । राजस्व वृद्धि भनेको आयातित चामलको मूल्यवृद्धि हो ।
यो नाका हुँदै चामल आयात घट्नुमा उत्पादन बढेर भने नभएको धान चामल व्यवसायीको तर्क छ । भन्सार नाकामा लामो लाइन र पालो कुर्नुपर्ने कारणले आयातकर्ताले वैकल्पिक नाकाबाट ल्याइरहेको व्यवसायीको दावी छ । भैरहवा भन्सार नाका हुँदै आयात निर्यात झन्झटिलो, समय लाग्ने र सवारी साधनको लामो लाइन, कुर्नुपर्ने भएकाले आयातकर्ताहरुले अन्य वैकल्पिक नाका प्रयोग गर्दा आयात घटेको व्यवसायीहरुको भनाइ छ ।
नेपाल दाल चामल उद्योग संघका केन्द्रिय उपाध्यक्ष राम थापाले देशमा वैकल्पिक नाकाको प्रयोग रुट परिवर्तन मुख्य कारण र पछिल्लो समय देशमा धेरै चामल उद्योगहरु सञ्चालनमा आउँदा यसको आयातमा कमि भएको हुन सक्ने बताए । “उद्योग धेरै भएपछि नेपाली धान नेपाली बजारमै बिक्री हुनुका साथै चामलको कच्चा पदार्थका रुपमा धान भारतबाट पनि केही मात्रामा आउँदा यो नाकाबाट चामल आयात कम भएको देखिएको हो” अध्यक्ष थापाले भने ।
चामल आयात कम भएको देखिए पनि एकै नाकाबाट ७ अर्ब ६५ करोड रुपैयाँ बराबरको भित्रिएको छ । “कृषि प्रधान देश नेपाल एकै नाकाबाट यत्रो परीणामा चामल भित्रिएको छ” उनले भने, “भैरहवा नजिकै कपिलवस्तुको खुनुवा र कृष्णनगरबाट समेत चामल आयात भइरहेको छ, अन्य ठूला नाका वीरगन्ज, विराटनगरबाट अझ बढी आयात भइरहेको छ, यो चिन्ताको विषय हो ।”
यो नाका हुँदै भित्रने चामल लुम्बिनी प्रदेशका रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, बागलुङ, स्याङ्जा पोखरा, काठमाडौं, चितवनलगायत पूर्व पश्चिम क्षेत्रमा जाने गरेको सिद्धार्थ उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष नेत्रप्रसाद आचार्यले बताए । उनले चामल आयात बढेपनि यो नाकाबाट घटनुको मुख्य कारण आयात गर्दा समस्या बढी हुँदा आयातकर्ताले रुट परिर्वतन गरेको बताए ।

तयारी चामल भन्दा धान आयात बढाउ
चामल उद्योगीहरु तयारी चामल आयात प्रत्येक वर्ष बढिरहेको भन्दै चामलको सट्टा धान आयात बढाउनु पर्ने बताउँछन् । स्वदेशमै धान खेती बढाउन कृषकलाई प्रोत्साहन गर्नुपर्ने व्यवसायीको माग छ । अहिले भन्सारमा चामल आयात गर्दा ८ प्रतिशत र धान आयात गर्दा ५ प्रतिशत कृषि शुल्क लाग्छ ।
धान आयात गरी कुटेर बिक्री गर्दा तयारी चामल भन्दा बढी महगो नेपालको चामलको मूल्य पर्ने धान चामल उद्योग संघका उपाध्यक्ष राम थापाको भनाइ छ । “हामीले धान आयात गर्दा कम्तिमा २ प्रतिशत र चामलको डबल डिजिटमा पु¥याउनु पर्ने माग राखेको १ दशक भइसकेको छ तर सरकारले कहिल्यै सुनेन” थापाले भने ।
धान चामल बोर्ड अथवा समिति नहँुदा यसको मूल्य निर्धारण आयात निर्यात गर्दा धान चामलको मूल्यांकन, सेवाशुल्क लगायतका विषयमा विभिन्न समस्या हशुने गरेको सरोकारवालाहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्