मेयर जिसीको उपचार गर्न महानगरले तत्काल १० लाख सहयोग गर्ने «

मेयर जिसीको उपचार गर्न महानगरले तत्काल १० लाख सहयोग गर्ने

पोखरा महानगरपालिकाले महानगरका मेयर मानबहादुर जिसीको तत्काल उपचार गर्न १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । मेयर जिसीको मस्तिस्कघातका कारण शुक्रबारदेखि काठमाडौंको न्यूरो अस्पतालमा उपचार भइरहेकोले तत्कालको लागि उनको स्वास्थ्य उपचारको लागि महानगरले १० लाख रुपैयाँ प्रकोप व्यवस्थापन कोषबाट निकासा गर्ने भएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले बताए ।
पोखरा महानगरपालिकाका कार्यबहाक नगर प्रमुख मन्जुदेवी गुरुङको अध्यक्षतामा मंगलबार बसेको बैठकले मेयर जिसीको शिघ्र स्वास्थ्य लाभको कामना सहित केही निर्णयहरूसमेत गरेकोे छ । साथै हरेक वडा कार्यालयमा मेयर जिसीको स्वास्थ्य लाभको पुस्तिका राख्ने, दैनिक नियमित सूचना प्रवाह गर्ने जिम्मा प्रवक्ता धनबहादुर नेपालीलाई दिने निर्णय भएको छ । साथै कोरोना विरुद्धको खोप वडा नम्बर १८ देखि ३३ सम्मका वडाका नागरिकलाई तत्काल संचालन गर्न महानगरले आवश्यक पहल गर्ने भएको छ । उपचारमा संलग्न अस्पताल, स्वास्थ्यकर्मीलाई धन्यवाद सहित उनको शीघ्र स्वास्थ्य साभको कामना गर्नेप्रति समेत महानगरले धन्यवाद ज्ञापन गरेको छ ।
यसैबीच, पोखरा—महानगरपालिकाका मेयर मानबहादुर जिसीको काठमाण्ठौंको न्यूरो अस्पतालमा उपचारमा रहेको अवस्थामा पोखराका केही वडा अध्यक्षहरूले भने शीघ्र—स्वास्थ्य लाभको कामनासहित पूजा गरेका छन् । पोखरा–३ स्थित नारायणथान मन्दिरको निलकण्ठ महादेव मन्दिरमा मंगलबार महा—मुत्युन्जय जप सहितको पुजा गर्दै मेयर जिसीको स्वास्थ्य लाभको कामना गरिएको पोखरा महानगरपालिका–३ का वडा अध्यक्ष रविन्सन प्रजुले बताए ।
उनले भने, “मेयर जिसी हाम्रो अभिभावक हो, उनको नेतृत्वमा करिब साढे चार वर्ष काम गरियो, आज उहाँ अचानक बिरामी हुनु भएको छ, उहाँको स्वास्थ्य लाभको कामना गर्दै हामीले पूजा गरेका हौं, हामी धार्मिक केही कुरामा समेत विश्वास गर्ने गर्छौं ।” वडा अध्यक्ष प्रजुको सहित पोखरा महानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष सीम गुरुङ, पोखरा ११ का वडा अध्यक्ष मोहन प्रसाद बाँस्तोला र पोखरा २४ का वडा अध्यक्ष ओम सुवेदी सहितको टोलीले मन्दिरमै पुगेर पूजा मंगलबार गरी मेयर जिसीको स्वास्थ्य साभको कामना गरिएको वडा अध्यक्ष सुवेदीले बताए । आफूहरू धर्ममा समेत विश्वास गर्ने भएकाले गर्दा मेयर जिसीको अस्पतालमै उपचार हुँदै गरे पनि यथा शीघ्र उनको स्वास्थ्य लाभको कामनासहित आफूहरूले भगवानसँग प्रार्थाना गरेको उनले जनाए । मेयर जिसीको स्वास्थ्यसाभको कामना गर्दै पण्डित रामकृष्ण पौडेल, छवि पौडेल र कमल खतीवडाले २१ हजार जप गरेको पण्डित रामकृष्णले बताए ।
मस्तिस्कघातका कारण श्ुक्रबार हेलिकोप्टर चार्टर गरी काठमाण्डौं लगिएको मेयर जिसीको काठमाडौं बाँसबारीस्थित न्युरो अस्पतालमा २ घण्टामै हेमीक्राइनेक्टमीको सफल शल्यक्रिया भएको र उनको स्वास्थ्यमा क्रमिक सुधार हुँदै आएको मेयरका प्रेस संयोजक माधव बरालले बताए । मेयर जिसी शुक्रबार करिब ४ः०० स्वास्थ्यमा समस्या देखिएपछि पोखराको मेडि प्लसमा उपचार गर्न लगिए पनि त्यहाँबाट रिफर गरी मणिपाल शिक्षण अस्पतालमा लगेसँगै उनको थप उपचारका लागि काठमाण्डौं लगिएको हो ।

प्रतिक्रिया दिनुहोस्