एक चौथाइ जनसंख्यामा पुग्यो बिमा «

एक चौथाइ जनसंख्यामा पुग्यो बिमा


गत आर्थिक वर्षसम्ममा एक चौथाइ जनसंख्याको पहुँचमा बिमा सेवा पुगेको छ । कोभिड महामारीमा पनि बिमा कम्पनीहरूले व्यवसाय विस्तार गरेकाले बिमाको पहुँच सामान्य वृद्धि भएको हो ।
बिमा समितिका अनुसार आर्थिक वर्ष ०७७-७८ सम्ममा जनसंख्याको २४.७६ प्रतिशतमा जनसंख्यामा बिमाको पहुँच पुगेको छ । गत आर्थिक वर्षसम्ममा २२ प्रतिशत हाराहारीमा रहेको बिमाको पहुँच एक वर्षमा करिब तीन प्रतिशत विन्दुले बढेको हो । वैदेशिक रोजगारीमा जाने व्यक्तिले गर्ने म्यादी जीवन बिमा पोलेसीसमेत जोड्दा बिमाको पहुँच २७ प्रतिशत हुने समितिले जानकारी दिएको छ ।
तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष ०७७-७८ को बजेट वक्तव्यमा बिमा पहुँच ४० प्रतिशत पु-याउने घोषणा गरेका थिए । समितिको तथ्यांकअनुसार, गत आवमा जीवन बिमा कम्पनीको २७.१२ र निर्जीवन कम्पनीको २२.७४ प्रतिशतले बिमा शुल्क आर्जन बढेको छ । जीवन बीमा कम्पनीले गत आर्थिक वर्षमा १ खर्ब २० अर्ब ९५ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरूले ३१ अर्ब ७० करोड रुपैयाँ गरी कुल १ खर्ब ५२ अर्ब रुपैयाँको बीमा शुल्क आर्जन भएको छ ।
गत आवसम्ममा जीवन बीमा कम्पनीको चुक्ता पुँजी ३८ अर्ब २१ करोड र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १९ अर्ब २८ करोड रहेको छ । बिमा अभिकर्ताको संख्या २ लाख ५० हजार र सर्भेयरको संख्या ४ सय पुगेको छ भने कम्पनीहरूले १० हजार ७५२ जना प्रत्यक्ष रोजगारी सिर्जना गरेका छन् ।
समितिका अनुसार, गत आवमा जीवन बिमा कम्पनीमा १५ हजार ९४६ वटा बिमालेखको २ अर्ब २५ करोड २ लाख र निर्जीवनतर्फ ८६ हजार ४४० वटा बीमालेखको २० अर्ब १४ करोड ५१ लाख बिमा माग दाबीको भुक्तानी भएको छ । यसैगरी जीवन बिमामार्फत ९ अर्ब ८८ करोड १४ लाख बराबरको ६३ हजार ३३१ वटा बीमालेख सरेण्डर भएको छ ।
हाल १९ जीवन बिमा, २० निर्जीवन बिमा र १ पुनर्बिमा गरी ४० वटा कम्पनी सञ्चालनमा छन् भने एक पुनर्बिमा कम्पनी सञ्चालनको तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्