सूचना प्रविधि मेलामा सर्वसाधारणको आकर्षण बढ्दो

विराटनगर- विराटनगरमा जारी सूचना तथा प्रविधिसम्बन्धी महामेला क्यान इन्फोटेकमा सर्वसाधारणको सहभागिता बढ्दो छ ।
मेलामा सूचना प्रविधिसम्बन्धी महत्वपूर्ण जानकारी उपलब्ध गराउनुका साथै प्रविधिसम्बन्धी पछिल्लो आविष्कार प्रदर्शन गरिएको छ । क्यान महासंघ मोरङको आयोजनामा बिहीबारबाट विराटनगरमा सुरु प्रविधिसम्बन्धी प्रदेशस्तरीय महामेला क्यान इन्फोटेक–२०१९ मा सर्वसाधारण र आइटीसम्बन्धी जिज्ञासुहरूको सहभागिता उत्साहजनक रहेको आयोजक समितिले जनाएको छ । म्यानरोडस्थित जैनभवनमा जारी मेलामा विभिन्न ५० कम्पनीका १ सय १० वटा स्टलहरू राखिएको छ । पुस १९ गतेबाट सुरु मेलामा क्रमिक रूपमा सर्वसाधारण र जिज्ञासुहरूको सहभागिता बढ्दो रहेको आयोजक समितिका राजन लम्सालले बताए ।
क्यान इन्फोटेकमा प्रविधि प्रदर्शनीका साथै सेमिनार, कन्फरेन्स स्मार्ट सिटी र साइबर सुरक्षाबारे समेत जानकारी उपलब्ध गराएको छ । त्यसका लागि काठमाडौंलगायत विभिन्न विश्वविद्यालयका प्रविधिसम्बन्धी विशेषज्ञहरू प्रविधि महामेलामा सहभागी भइरहेका छन् । इन्फोटेकमा रोबो बार, पब्जी, स्मार्टसिटी मोडेलिङ, ह्याकाथुन, भिडियो थिम च्यालेन्ज जस्ता युवा तथा विद्यार्थी लक्षित कार्यक्रम पनि मुख्य आकर्षणको रुपमा समावेश गराइको छ । इन्फोटेकमा सर्वसाधारणको उपस्थितिबाट मेलामा स्टल राखेका प्रविधि विज्ञहरूसमेत उत्साहित छन् ।
मेलामा सहभागिताका लागि सर्वसाधारणले इन्फोटेक आयोजनासथल तथा ई–सेवा र खल्तीडटकमबाट अनलाइन टिकट लिन सक्ने व्यवस्था गरिएको छ । विद्यार्थीका लागि निःशुल्क र सर्वसाधारणका लागि ५० रुपैयाँको टिकट निर्धारण गरिएकोमा टिकट काटेकामध्ये लक्की ड्र मार्फत दुबई भ्रमण गर्ने अवसर प्राप्त गर्नेछन् । यसअघि सन् २०११ मा विराटनगरमै आयोजना गरिएको प्रविधि मेला ७ वर्षपछि क्यान महासंघ मोरङको आयोजनामा दोस्रोपटक आयोजना गरिएको हो ।