कहाँ हराए भारतीय र चिनियाँ पर्यटक ? «

कहाँ हराए भारतीय र चिनियाँ पर्यटक ?

हुन त भारतीयहरू धेरै वर्षअघिदेखि पर्यटकका रूपमा नेपाल आउने गरेका भए तापनि चिनियाँहरूले भने यस्तो मौका सन् २००३ देखि मात्रै पाएका हुन् । तापनि चिनियाँ सर्वसाधारण नागरिकहरूले नेपालमा पर्यटकका रूपमा आउन थालेको छोटो समयमा नै नेपाल आउने विदेशी पर्यटकको संख्यामा दोस्रो हुन थालेका हुन् । सन् २००३ को पहिलो वर्षमा ७ हजार ५ सय ६२ जना सर्वसाधारण चिनियाँ नागरिकहरू पर्यटकका रूपमा नेपाल भित्रिएका थिए । त्यसयता चिनियाँ पर्यटकको संख्या लगातार बढेको बढ्यै छ ।
तर, सन् २०१९ को अन्तिमताका चीनको दक्षिणपूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट पैmलन सुरु भएको नोभेल कोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई नै त्राहिमाम–त्राहिमाम बनाएको हुँदा केवल नेपालका लागि मात्रै नभएर विश्वका धेरै विकसित देशहरूका लागि पनि ‘सुनको फुल पार्ने कुखुरी’ अर्थात् चिनियाँ पर्यटकहरू जत्ति नै महँगो सरसमान होस्, आपूmलाई मन परेपछि त्यस्तो सरसामान अथवा चिजबिजहरू किन्न कन्जुस्याइँ गर्दैनन् । तर, अझैं पनि कोरोना महामारीले विश्वलाई त्राहिमाम–त्राहिमाम बनाइरहेको र दोस्रो, तेस्रो, चौथो लहरसमेत आउने अनुमान विज्ञहरूले गरिरहेकाले कोही पनि मानिस ढुक्कसँगले बाहिरफेर (विदेश) घुम्न निक्लने अवस्था तयार भइसकेको छैन ।
त्यसो त फेरि पनि भन्नुपर्दा लामो समयदेखि नेपाल आउने विदेशी पर्यटक सबैभन्दा धेरै भारतबाट आइरहेका छन् भने भारतीय नागरिकहरूलाई भिसा शुल्क लाग्दैन । चिनियाँ पर्यटकका लागि भने १५ दिने, ३० दिने र ९० दिने प्रवेशाज्ञा जारी गर्ने गरेको छ । त्यसो भए तापनि अबको केही वर्षपछि नै नेपाल आउने विदेशी पर्यटकको धेरै संख्या उत्तरको छिमेकी देश चीन हुने देखिन्छ । त्यसो त हाल कोरोना महामारीका कारण सरकारले जुनसुकै देशका पर्यटकहरूलाई पनि नेपाल प्रवेशका लागि केही दिनका लागि निःशुल्क भिसा दिने नीति लागू गरेको छ ।
विगत केही वर्षदेखि विश्वकै पहिलो नम्बर (धेरै संख्यामा पर्यटक भएर विदेश घुम्ने र प्रतिव्यक्ति दैनिक धेरै खर्च गर्ने) का रूपमा विदेशी पर्यटक भएर विदेश घुमिरहेका र सबैभन्दा धेरै दैनिक खर्च गरिरहेका तिनै चिनियाँ पर्यटकहरू नेपाल भ्रमणमा किन कम संख्यामा आउँछन् र उनीहरूले नेपाल भ्रमणमा आउँदा किन कम खर्च गर्छन् ? यस विषयमा पनि हामीले बेलैमा सोच्नुपर्ने देखिन्छ । त्यसमाथि नेपाल आउने चिनियाँ पर्यटक भनेका छोटो यात्रामा निक्लने र कम खर्च गर्ने खालका छन् । जस्तै चिनियाँ पर्यटकहरू नेपालमा चार-पाँच दिनदेखि नौ-दस दिनसम्म बिताउनेहरू बढी देखिन्छ । हुन त चिनियाँ पर्यटकहरू ट्रेकिङ, -याफ्टिङ, जंगल सफारी, बञ्जी जम्पिङ, प्याराग्लाइडिङ, साइक्लिङ, क्यानोइङ आदि पनि गर्ने भएकाले चिनियाँ पर्यटकबाट टुर अपरेटरहरूलाई आर्थिक रूपमा भने भारतीय पर्यटकहरूभन्दा चिनियाँ पर्यटकहरूबाट फाइदै फाइदा देखिन्छ । तापनि हामीले डिलक्स, लक्जरियस र सक्दो खर्च गर्न सक्ने र कम्तीमा आठ-दस दिनदेखि चौध÷पन्ध्र दिनसम्म नेपालमा बिताउने खालका चिनियाँ पर्यटक र भारतीय पर्यटकहरू धेरैभन्दा धेरै भित्र्याउने प्रयासमा लाग्नुपर्ने देखिन्छ ।
त्यसो त नेपाल आउने विदेशी पर्यटकहरू सकेसम्म कम खर्च गर्नेहरू छन् । तर, चिनियाँ पर्यटकहरू ‘मक्खिचुस’ नै भने होइनन् । किनभने, गत केही वर्षअघिदेखि संयक्त राष्ट्र संघ सम्बद्ध संस्था यूएन–डब्लूटीओलगायत विश्व पर्यटनसँग सम्बन्धित संघ–संस्थाहरूले विभिन्न अनुसन्धान गरेर निकालेको तथ्यांकहरूमा चिनियाँ पर्यटकहरू लगातार रूपमा विश्वकै धेरै खर्च गर्ने पर्यटकमा गनिएका-दरिएका छन् । त्यतिमात्रै होइन, चिनियाँहरू संख्याकै आधारमा पनि विश्वका धेरै संख्यामा विश्व भ्रमणमा निक्लने पर्यटकका रूपमा दरिएका छन् । सायद अब पृथ्वीको अस्तित्व रहेसम्म चिनियाँ पर्यटकहरूको संख्या र खर्चगराइ दुवैलाई अन्य देशका पर्यटकहरूले उछिन्न सक्नेछैनन् ।
जे होस्, हालै आएको ताजा तथ्यांकमा जनाएअनुसार नेपाल आउने विदेशी पर्यटकको संख्या गत दुई वर्ष (सन् २०१९ र २०२०) को भन्दा धेरै कम रहेको छ । तापनि कोरोनाको कहर हटेसँगै वा कम भएसँगै अथवा कोरोनासँगसँगै पौंठजोरी खेल्दै घुमफिर गर्न सक्ने अवस्था आएपछि हामीले धेरैभन्दा धेरै छिमेकी देश भारत र चीनको पर्यटक भिœयाउने र त्यसमा पनि खर्चालु भारतीय र चिनियाँ पर्यटकहरू भित्र्याउनेतर्फ लाग्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्