सेयर बजारमा ९७.२१ अंकको वृद्धि «

सेयर बजारमा ९७.२१ अंकको वृद्धि


नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिनमै सेयर बजार करिब एक सय अंकले बढेको छ । नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त कम्पनीको सूची सार्वजनिक गर्दै सचेत भएर कारोबार गर्न सुझाव दिएसँगै घट्न थालेको बजारमा लामो समयपछि उच्च अंकले वृृद्धि भएको हो ।
आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९७.२१ अंकले बढेर २९८०.६१ अंकमा पुगेको छ । नेप्सेको वृद्धिसँगै कारोबार रकम पनि बढेको छ । २२१ कम्पनीका २ करोड ८८ लाख कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसअघि बजारमा दैनिक २० अर्ब रुपैयाँसम्म कारोबार हुन थालेकोमा घटेर ४ अर्बमा झरेको थियो । नेप्सेको वृद्धिसँगै कारोबार रकममा पनि सुधार आउन थालेको हो ।
नयाँ आर्थिक वर्ष सुरु भएसँगै राजनीतिक परिवर्तन र आर्थिक सूचकहरुले लगानीकर्ताहरु उत्साहित भएको बताउँछन् नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार । “एकातिर नयाँ सरकार गठनको उत्साह, अर्कातिर बैंक तथा वित्तीय संस्था लगायत सूचीकृत कम्पनीहरुको अवस्था पनि राम्रो देखिएको छ,” उनले भने, “यसै कारण नयाँ आवको पहिलो दिन बजारमा उत्साह देखिएको हो ।”
बैंक तथा वित्तीय संस्थाको व्याजदर सस्तो भएकाले पनि बजार बढ्न सघाएको हो । आर्थिक वर्षको समापनसँगै नाफा बुक गरेर थप लगानी गरेसँगै बजार बढ्न सघाएको लगानीकर्ताहरुको बुझाइ छ । आइतबार नै प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसदमा विश्वासको मत लिने समाचारले पनि बजारमा सकारात्मक प्रभाव परेको उनीहरुको भनाइ छ ।
आइतबार नेप्सेसँगै समूहगत परिसूचकहरु पनि सकारात्मक भएका छन् । बैंकिङ ९२.८, व्यापार ३३.२९, होटल तथा टुरिजम ५८.५८, विकास बैंक २३३.०९, जलविद्युत् ४५.५, फाइनान्स ३५.२४, जीवन बिमा ४४१.२२, उत्पादन १६५.३१, अन्य १९.८१, माइक्रोफाइनान्स १९०.९८, जीवन बिमा ६४८.४६, म्युचुअल फण्ड ०.५३ र लगानी समूह १.७१ अंकले बढेका छन् ।

परिवर्तित लाभकर लागू
यसैगरी आइतबारबाटै सेयर लगानीकर्ताहरुले तिर्नुपर्ने पुँजीगत लाभकर परिवर्तन भएको छ । चालु आर्थिक वर्षको बजेटमा भएको घोषणाअनुसार अब एक वर्षभन्दा कम अवधिमा सेयर बिक्री गर्दा लाभ रकममा ७.५ प्रतिशत र एक वर्षभन्दा बढी समय अवधिको सेयर बिक्री गर्दा ५ प्रतिशत लाभकर लाग्ने भएको हो ।
यसैगरी पुँजीगत लाभकर गणना प्रयोजनकै लागि सिडिएस एण्ड क्लियरिङले मेरो सेयर एप्लिकेशनमा सेयरको स्वामित्व अवधि गणना गर्ने सुविधा थप गरेको छ । आइतबार बेलुकीबाट यो सेवा उपलब्ध हुने भएकाले एप्लिकेशन अपडेट गर्नसमेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्