Logo

भ्याक्सिन कूटनीतिमा ध्यान दिनु पर्छ

शम्भुराम सिम्खडा, पूर्वराजदूत, परराष्ट्रविद्


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । यो सरकारले लामो समयदेखिको कोलाहलपूर्ण राजनीतिलाई केही शान्त बनाउला कि भन्ने आशा आममानिसले गरेका छन् । योसँगै छिमेकी र मित्रराष्ट्रहरूसँगको सम्बन्ध सुधार हुने आशा पनि गरिएको छ । तर, अब प्रधानमन्त्री देउवाले मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई कसरी सुधार्लान् भन्ने सर्वत्र चासो छ । प्रधानमन्त्री देउवामा मित्रराष्ट्र र छिमेकी राष्ट्रहरूसँगको छवि सुधार्ने चुनौती र अवसर छ । यसै विषयमा केन्द्रित रहेर पूर्वराजदूत एवम् परराष्ट्रविद् शम्भुराम सिम्खडासँग गरेको कुराकानीको सार :

नयाँ सरकार गठन भएको छ, वैदेशिक चासोको विषय त्यत्तिकै छ, अब यो सरकारको वैदेशिक सम्बन्ध र त्यसका प्राथमिकताहरू केके हुन सक्छन् ?
यसमा दुईवटा पक्ष धेरै नै महत्वपूर्ण छन् । एउटा, वैदेशिक सम्बन्ध वा कूटनीतिलाई आन्तरिक राजनीतिको प्रतिविम्ब भनिन्छ । आन्तरिक राजनीतिको सम्बन्ध कूटनीतिमा अत्यन्त महत्वपूर्ण हुन्छ । दोस्रो, नेपालको परराष्ट्र नीतिका केही मूलभूत आधारहरू छन् । परराष्ट्र नीति भनेको कन्टिन्युटीमा चल्ने विधा हो । अर्को सरकार आयो भनेर नीति परिवर्तन हुँदैन । परम्परागत परराष्ट्र नीतिका मूलभूत आधारमा टेकेर अहिलेको सरकारले सबैभन्दा पहिला कूटनीति दुईवटा एरियामा कन्स्टेट गर्नुपर्छ । एउटा भ्याक्सिन कूटनीति नै भनौँ । अहिलेको सबै जनताको चाहना, आवश्यकता र खाँचो भनेकै जनताले यथाशीघ्र खोप लगाउनुप-यो र आफूलाई सुरक्षित फिल गर्नुप-यो । यो पहिलो प्राथमिकता हो । दोस्रोमा विकास कूटनीति भनौँ वा आर्थिक कूटनीति । कोभिड महामारीले अत्यन्त पीडित जनता र थलिएको अर्थव्यवस्था, जनतालाई पनि राहत चाहिएको छ । राहत दिनका लागि आर्थिक पक्षलाई सबल र चलायमान बनाउन आवश्यक छ । यो दुवैका लागि एकदमै सक्रिय र प्रभावकारी कूटनीति अत्यावश्यक छ । व्यापार, रेमिट्यान्समा निर्भर हाम्रो कूटनीतिले वैदेशिक रोजगारीमा प्रभावलगायतलाई प्रभावकारी बनाउनेबित्तिकै यथाशीघ्र भ्याक्सिनको उपलब्धता गराउनुपर्छ । अर्थव्यवस्थालाई चलायमान गर्नका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय सहयोग जुटाउन पनि त्यत्तिकै आवश्यक छ । सरकारले कोरोनाविरुद्धको भ्याक्सिन आफ्नो पहिलो प्राथमिकता भनेर घोषणा पनि गरिसकेको छ ।
यो तत्कालको कुरा मात्रै हो । योभन्दा पहिलाको हाम्रो स्थिति आन्तरिक राजनीतिको अनिश्चितता थियो । हामीले भोगिरहेको राजनीतिक संक्रमणको व्यवस्थापन उत्तेजित, इमोसनल, पोलोराइज र राजनीतिक शक्तिहरूको बीचमा टकराव भएर सम्भव हुँदैन । त्यसका लागि एउटा यस्तो व्यक्तिको आवश्यकता छ, जसले कोलेसन बिड गर्न सक्छ । जो माइल्ड किसिमको व्यवहार गर्न सक्छ । आज एउटा कुरा र भोलि अर्को कुरा, एक ठाउँमा गयो एउटा र अर्को ठाउँमा गयो अर्को कुरा गरेर अहिलेको संसारमा प्रभावकारी कूटनीति हुँदैन । परम्परागत रूपमा पहिला राजदूतलाई आफ्नो देशको राष्ट्रिय हित र राष्ट्रिय स्वार्थका निम्ति ढाँट्नलाई बाहिर पठाएको भन्ने चलन थियो । तर, अब त्यसरी कूटनीति चल्दैन, अहिलेको कूटनीति भनेको विश्वास, विश्वसनीयताको आधारमा चल्छ । त्यो हिसाबले हेर्ने हो भने वर्तमान प्रधानमन्त्री अरू कमी–कमजोरीका कुरालाई छोडेर एकदमै उत्कृष्ट हुनुहुन्छ । प्रधानमन्त्री नियुक्त भएपछि सामाजिक सञ्जालमा देखिएका प्रतिक्रियाहरू हेर्दा विगतको अनुभवका कारण हामीमा धेरै चिन्ता, शंका रहेको छ, तर उहाँको स्वभाव परराष्ट्र नीतिमा अत्यन्त उपयोगी किसिमको छ । धेरै बोल्नुहुन्न, प्रोफेसनलहरूको भर पर्नुहुन्छ, त्यो हिसाबले तत्कालका यी दुई प्राथमिकता हुँदाहुँदै पनि अरू धेरै महत्वपूर्ण प्राथमिकताहरू छन्, ती प्राथमिकतालाई अघि बढाउन यो अनिश्चितताको परिवेशबाट एक किसिमको निश्चितताको नेतृत्व उहाँमा छ । त्यसैले पनि वर्तमान सरकारमा परराष्ट्र नीतिका सहजताको माहोल छ ।

झन्डै बाटो विराएको जस्तो अवस्थामा पुगिसकेको कूटनीतिलाई शान्त स्वभावको व्यक्तिले कसरी समन्वय गर्ने, यसमा केही सुझाव छन् कि ?
छन् । पहिलो कुरा त हाम्रो मूलभूत आधार भनेको सबैसँग मित्रता हो । यो आधारमा टेकेर केही प्राथमिकता निर्धारण गरेका छौँ । यीमध्ये पहिलो प्राथमिकता भनेको दुई विशाल र अत्यन्त शक्तिशाली छिमेकीहरूको बीचमा भएको हुनाले उनीहरूसँगको विश्वसनीयताको कूटनीति हो । विश्वसनीयताका आधारमा हाम्रा मूलभूत आवश्यकताहरू के के हुन्, हाम्रा चाहनाहरू के हुन्, उनीहरूका आवश्यकताहरू के हुन्, उनीहरूका चाहनाहरू के हुन्, यी दुईवटाकै बीचमा सामञ्जस्य कसरी ल्याउने ? ताकि हाम्रो राष्ट्रिय हित र राष्ट्रिय स्वार्थ उनीहरूसँगको सम्बन्धबाट उनीहरूको पनि पूर्ति हुन्छ र हाम्रो पनि पूर्ति हुन्छ । मूल कुरा छिमेकीसँगको सम्बन्धमा उच्चस्तरमा एक किसिमको विश्वसनीयताको वातावरण बनाउनुपर्छ । दोस्रो कुरा, त्यसपछि नेतृत्वले निर्धारण गरेको बृहत् मार्गदर्शन छ, त्यो मार्गदर्शनअन्तर्गत अत्यन्त प्रभावकारी किसिमबाट त्यसलाई सञ्चालन गर्न सक्ने उहाँको टिम बन्छ । परारष्ट्र मन्त्री, परराष्ट्र सल्लाहकार, परराष्ट्रको टिम अत्यन्त सक्रिय र पोख्त किसिमको छ । अहिलेको विश्व राजनीतिक र रणनीतिक बदलिँदो व्यवस्थामा यो क्षेत्रको महत्व , त्यसमा पनि हाम्रो हिमालको दक्षिण भाग, नेपालको परम्परागत भू–राजनीतिक संवेदनशीलता र त्यो संवेदनशीलताका आधारमा परिवर्तित कुराहरू के–के हुन् ? त्यस्तोलाई राम्रोसँग नेतृत्व गर्न सक्ने सहयोगी टिम चाहिन्छ । यो दोस्रो कुरा हो । तेस्रो कुरा, हाम्रा जति पनि देशहरूसँग मुल विषयहरू छन्, एउटा भ्याक्सिनकै कुरा छ, भारतबाट आउने भनेको आइसकेको छैन । कूटनीतिक तवरबाट प्रभावकारी रूपमा भारत सुरक्षित हुनलाई नेपाली पनि सुरक्षित हुनुपर्छ, नेपालीले पनि खोप पाउनुप-यो । भारतीयहरूले पनि पाउनुप-यो । नेपाललाई खोपको प्राथमिकतामा राख्नु भारतका लागि आफ्नै हितमा छ भन्ने कुरा एक नम्बर भयो । चीनले अहिले विश्वव्यापी रूपमा यति धेरै भ्याक्सिन उपलब्ध गराइसकेको छ कि हिजो नै हाम्रो प्रभावकारी कूटनीति भएको भए, हाम्रो जस्तो सानो आपूर्ति परिपूर्ति गर्नलाई चीनलाई त्यति ठूलो कुरा थिएन । पहिला त हामीले चीनसँग भ्याक्सिन नै लिने कि नलिने अलमलमा बस्यौँ । अहिले बाध्य भएर चीनसँग पनि सम्झौता भएको छ । भ्याक्सिन समयमा पाउनु आवश्यकता हो र त्यसबारेमा छलफल हुनुप-यो । त्योबाहेक अरू व्यापार घाटा लगायतका विषयहरू पनि छन्, सीमाका विषय छन्, अब अहिले बाढीको कुरा छ, बर्सातको समय छ, यता पानी पर्छ, बाढी आउँछ, उता पनि क्षति हुन्छ । यी यावत् विषयहरूमा प्रभावकारी रूपमा पहिला नेतृत्वले मार्गनिर्देशन गर्छ, सहयोगी टिमले राम्रो र प्रभावी गृहकार्य गर्छ र त्योबाट दुई देशसँग कूटनीति सञ्चालन हुन्छ । यसरी हाम्रो सम्बन्धलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सक्छौँ ।

शेरबहादुर देउवा आफैंमा नयाँ व्यक्ति होइन, पाँचौं पटक प्रधानमन्त्री बन्नुभएको छ, उहासँग व्यक्तिगत रूपमा पनि अन्तर्राष्ट्रिय सम्बन्धहरू छन्, यसलाई कसरी विश्लेषण गर्न सकिन्छ ?
उहाँको विश्वसनीयता छ । उहाँ जे कुरा भन्नुहुन्छ, त्यो गर्नुहुन्छ, नहुने कुरा भन्नुहुन्न । फल्स पनिसमेन्ट दिँदै जानुहुन्न भन्ने एउटा जुन छाप छ, त्यो कूटनीतिका लागि अत्यन्तै सकारात्मक छ । अब दोस्रो कुरा, अहिले संसारमा चर्चित इतिहासकार युवाल न्हो होरारी छन् । उनका तीनवटा पुस्तक संसारमै सबैभन्दा उत्कृष्ट छन् । छेपियन्ज, ट्वान्टी वान फर्मुला फर द ट्वान्टी वान सेञ्चुरी, २१ औँ शताब्दीको लागि २१ वटा मूल मन्त्रहरू भन्ने दोस्रो र तेस्रो होमो ड्यूज भन्ने छ । यो भनेको प्रविधिबाट कसरी मानिस भगवान् बन्न खोज्दै छ ? भन्ने पुस्तकमा उनले मानिसले किन इतिहास पढ्छ भने त्यसैको बन्दी हुन होइन, त्यसबाट मुक्ति पाउन पढ्छ भन्ने लेखिएको छ । यसको मतलब पुरानै कुराहरू दोहोरिने हुन् कि भनेर विगतमा भएका कमी–कमजोरीहरूले मानिसमा शंका छ, चिन्ता छ । यसको मतलब इतिहासले हामीलाई पाठ सिकाउँछ । सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा जीमा पहिलो त अनुभव छ, अनुभवको छोटकरी छँदै छैन । अनुभव भनेको स्वयंले भोगेपछि मात्रै थाहा हुन्छ । दोस्रो पक्ष उहाँले इतिहासमा के–के राम्रा पक्षहरू भए र के–के कमी–कमजोरी भए ? त्यो अनुभूत गर्ने बेला छ । राजनीति र कूटनीति भनेको एक व्यक्ति र विधा होइन, यो टिमको काम हो । नेतृत्वले भिजन दिन्छ, त्यसलाई रूपान्तरण गर्ने र कार्यरूप दिने टिम नै हो । अब टिम कस्तो आउँछ । कूटनीतिको हिसाबले एकदमै सहज व्यक्तित्वलाई हामीले नेतृत्वमा पाएका छौँ । तर, सफलताको कसी भनेको उहाँले कस्तो टिम बनाउनुहुन्छ, त्यसमा निर्भर रहन्छ । अहिलेको विश्व राजनीति बुझेको र त्यसकै आधारमा यसलाई प्रभावकारी रूपमा व्याख्या गर्न सक्ने, सञ्चालन गर्न सक्ने, आफ्ना कुरा राख्न सक्ने, उहाँको भिजनलाई राम्रोसँग लागू गर्न सक्ने यस्तो टिम भयो भने उहाँको कार्यकाल सफल बन्नेछ । उहाँ अहिले छोटो र कठिन स्थितिमा प्रधानमन्त्री बन्नुभएको छ । तर त्यति हुँदाहुँदै पनि प्रत्येक बादलमा चाँदीको घेरा हुन्छ भनेझैँ चुनौतीसँगै अवसर पनि छ । कोरोनालाई निस्तेज बनाउँदै निश्चित दिशामा देशलाई लैजाने र अन्तर्राष्ट्रिय कूटनीतिमा पनि प्रभावकारी रूपमा नयाँ दिशा र थालनी हुन सक्छ भन्ने विश्वास राख्छु ।

प्रधानमन्त्रीको सल्लाहकारको टिममा पर्नुभयो भने तपाईंका कार्यसूची केके हुन सक्छन् ?
एक नम्बरमा तत्काल भ्याक्सिन । दोस्रोमा विकास कूटनीति, हाम्रो सम्पूर्ण ध्यान देश र जनताको विकासमा केन्द्रित हुनेछ । त्यसका लागि सरकारलाई खोप लगाउने सहयोगको भूमिका छ । तेस्रोमा हाम्रो सानो देश दुई ठूला छिमेकीको बीचमा भएकाले विश्वासको कूटनीति रहेको छ । कहिलेकाहीँ छिमेकीलाई प्राथमिकता दिँदा अरू मित्र राष्ट्रहरूले हामीलाई हेंला गरेको हो कि भन्ने पार्नु हुँदैन । सबैभन्दा पहिला हामीले बेलायत, त्यसपछि अमेरिकालाई मित्रराष्ट्र बनाएका थियौँ । यी हाम्रा परम्परागत मित्रहरूलाई पनि तपाईंहरूको सहयोग र तपाईंहरूको मित्रतालाई हामीले अत्यन्त महत्वका साथ अघि बढाउन चाहन्छौँ भन्ने चौथो पाटो हो । यसमा संयुक्त राष्ट्रसंघ छ, यसको बडापत्र र संलग्नता । जुन हाम्रो कूटनीतिको आधारशिला हो । यी सिद्धान्तहरू भएकाले राष्ट्रसंघमा हाम्रो प्रभावशाली भूमिका भयो भने धेरै हदसम्म कूटनीति सफल हुन्छ । किनभने हाम्रो २०–३० वटा देशमा मात्रै दूतावास छ । त्यसैले राष्ट्रसंघबाट संसारभर सञ्चार प्रवाह हुन्छ । हाम्रो कूटनीति कस्तो छ ? हाम्रो व्यक्तित्व कस्तो छ ? हाम्रो सरकारको दृष्टिकोण कस्तो छ भन्ने हुन्छ । त्यसैले राष्ट्रसंघमा अत्यन्त प्रभावकारी भूमिका आवश्यक छ । त्यस्तै क्षेत्रीय सहयोग । अहिले हाम्रो छिमेकवरपर भएका सद्भावहरू प्रयोग गरेर हाम्रो राष्ट्रिय हित र राष्ट्रिय स्वार्थलाई अघि बढाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्