सेयर बजारमा ४५ अंकको गिरावट «

सेयर बजारमा ४५ अंकको गिरावट


आइतबार उच्च अंकले बढेको सेयर बजारमा सोमबार भने गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४५.०६ अंकले घटेर २८५४.७६ अंकमा झरेको हो ।
सोमबार कारोबार सुरु भएसँगै बजार बढ्न थाले पनि सर्वोच्च अदालतको फैसलाले भने बजारमा नकारात्मक प्रभाव देखिएको हो । सोमबार नेप्से सूचक घटे पनि कारोबार रकममा भने वृद्धि भएको छ । २२९ कम्पनीका २ करोड ६० लाख कित्ता सेयर किनबेचबाट ९ अर्ब ९८ करोड बराबरको कारोबार भएको छ । आइतबार ८ अर्ब बराबरको कारोबार भएको थियो । साताको दोस्रो कारोबार दिन नेप्सेसँगै समूहगत परिसूचकहरु पनि घटेका छन् । बैंकिङ २२.५, व्यापार ६०.६६, होटल तथा टुरिजम १०६.८८, विकास बैंक ९७.९७, जलविद्युत् ६०.१३ अंकले घटेका छन् ।
यसैगरी फाइनान्स २१.७७, निर्जीवन बिमा २४०.७१ उत्पादन ११८.५४, अन्य ३१.५२, लघुवित्त ७२.५२, जीवन बिमा २५४.६७ र लगानी समूह २.८२ अंकले घटेका छन् । म्युचुअल फण्ड भने ०.०२ अंकले बढेको छ । घटेको बजारमा १७० कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको बढेको छ ।
नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त कम्पनीको सूची सार्वजनिक गरेसँगै एक महिनायता बजार लगातार ओरालो लाग्दै आएको छ । यस अवधिमा तीन हजार भन्दा माथि पुगेको नेप्से सूचक एक महिनामै करिब २ सय अंकले घटेको थियो । यसैगरी दैनिक २० अर्ब कारोबार हुन थालेको बजारमा घटेर ४ अर्बमा झरेको थियो ।

प्रतिक्रिया दिनुहोस्