शान्तिसुरक्षा, सरसफाइ र श्रममा नगर प्रहरी

मेरो पालिका
प्रदेश – कर्णाली
जिल्ला – रुकुम पश्चिम
नगरपालिका – मुसीकोट
वडा संख्या – १४
प्रमुख – देवीलाल गौतम
उपप्रमुख – प्रेमकुमारी सुनार केसी
प्रमुख प्रशासकीय अधिकृत – नरहरि तिवारी
क्षेत्रफल – १३६.६ वर्गकिलोमिटर
जनसंख्या – ३५ हजार ३ सय ४८
चालू आवको बजेट – ६१ करोड २७ लाख
रुकुम पश्चिममा ६ वटा स्थानीय तह रहेका छन्, जसमा मुसीकोट नगरपालिका पनि एक हो । मुसीकोट नगरपालिका जिल्ला सदरमुकाम खलंगामा रहेको नगरपालिका हो । सदरमुकामकै नगरपालिका भएका कारण यस नगरपालिकाको विकास र समृद्धिको कार्य जिल्लाकै चासोको विषय बन्ने गरेको छ, जसले गर्दा राजनीतिक तथा स्थानीय सरकार नेतृत्वले यस क्षेत्रको विकास र समृद्धि सपना देख्दैमा मात्र अन्य स्थानीय तहको जसरी सहज तरिकाले विकास भने सम्भव छैन ।
तर, स्थानीय सरकार बनेपछि त्यस क्षेत्रको विकास अन्य स्थानीय तहहरूको भन्दा तीव्रता पाइएको छ, जसको पछाडि नेतृत्वको इच्छाशक्ति र निरन्तरता नै हुन सक्छ । भौतिक पूर्वाधार निर्माण, गाउँमै विभिन्न उद्योग सञ्चालन, कृषक अनुदान र प्रोत्साहन र स्वास्थ्यको क्षेत्रमा पनि केही उल्लेखनीय काम भएको नगर प्रमुख देवीलाल गौतम बताउँछन् ।
एउटा नमुना काम भनेको नगरप्रहरी भर्ना गरेर नगरको शान्तिसुरक्षा, सरसफाइ र श्रममा लगाएको हो । जस्तो कि नगर प्रहरी भर्नाका लागि नगर प्रहरी ऐन पारित गरेर नगर प्रहरी परिचालन गरिएको हो । पहिलो चरणमा १५ जना नगर प्रहरीमार्फत नगरको शान्ति सुरक्षासँगै सरसफाइ र श्रमका कार्यक्रमहरूमा जोडिएको हो । त्यसका साथै नगरकार्यपालिकाले खरिद नियामावली, पशु कार्यक्रम सञ्चालन कार्यविधि र मेलमिलाप कार्यविधिलगायतका विभिन्न नयाँ ऐन, कार्यविधि बनेका छन् ।
स्थानीय सरकार बनेपछि नगरको स्वास्थ्य क्षेत्रको पहुँच वृद्धिमा जोड दिइएको छ । नगरको स्वास्थ्य र शिक्षामा केही नमुना नै कामको सुरुवात गरिएको छ । स्वास्थ्यको कुरा गर्दा यस नगरमा रहेका स्वास्थ्य संस्था र अस्पतालहरूको निरन्तर अनुगमन गर्ने र कैफियत देखिएमा तत्काल सुधारको काम गरिएको छ, गर्न लगाइएको छ । नगरकै झुल्खेतमा डिजिटल ल्याब सेवासहितको स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । नगरपालिका सबै स्वास्थ्य संस्थामा बेडको व्यवस्था गरिएको छ ।
जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिमसमेत मुसीकोट नगरपालिकामा पर्ने भएका कारण अस्पतालमा पनि सहयोग हुँदै आएको छ । नगरपालिकाले शैक्षिक विकासमा जोड दिएको छ । विद्यार्थी नभएका र प्रभावकारी शिक्षण नभइरहेका तीन विद्यालयहरू अन्य विद्यालयमा गाभेर प्रभावकारी बनाइएको छ । नगरका विभिन्न विद्यालयमा शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको गुणासो आएपछि विभिन्न तहमा ६५ जना शिक्षक करार भर्ना गरी पठाएको छ । उक्त शिक्षकहरूको सेवा सुविधा नगरपालिकाले नै भुक्तानी गर्दै आएको छ । नगरपालिकाका सबै वडा कार्यालयहरूमा सडकको पहुँच पुगेको छ ।
आन्तरिक आय बनाउन पहल गरिएको छ । प्रत्येक वर्ष नगरपालिकाको केही प्रतिशत भए पनि आम्दानी बढाइरहेको छ । तर, हामीले अन्य नगरपालिकामा आलोचना भएको जस्तो चर्को कर लिएका छैनौं । करका दायराहरू फराकिलो पारेका छांै, तर कर शुल्क पुरानो भन्दा खासै फरक छैन ।
नगरवासीहरू उक्त शुल्कबाट मर्का परेको जस्तो हामीलाई लागेको छैन । एकदम सानोतिनो जनताबाट कर उठाएर नगरपालिका आत्मनिर्भर हुन गाह्रो छ । नगरपालिकाले यस विषयमा सोचेर केही दीर्घकालीन आम्दानी र योजनाका कार्यक्रमहरू पनि बनाएको छ । जस्तै मुसिकोट नगरपालिकालगायत रुकुम पश्चिमका ६ वटै स्थानीय तहहरू मिलेर स्यार्पु विद्युत् कम्पनी दर्ता गरेर थप विद्युत् उत्पादन गर्ने भनेर ३०-३० लाख रुपैयाँ सेयर मुसीकोट नगरपालिकाले पनि हालेको छ । उक्त विद्युत् निर्माण भएर सञ्चालन भए पनि नगरपालिकामा नियमित आउने नै छ ।
त्यसैगरी मुसिकोट नगरपालिका क्षेत्रमा रहेका पर्यटकीय तथा धार्मिक स्थलहरूलाई थप व्यवस्थित र प्रचारप्रसार गरेर केही आम्दानी पर्ने पनि गुरुयोजना बनाएका छौं । ठूलीदह, मुसिकोट डाँडा र डिग्रे शाइकुमारी मन्दिरलगायतका धार्मिक स्थलहरूलाई थप व्यवस्थित गरेर निकट भविष्यबाटै नगरपालिकाले आम्दानीको राम्रो स्रोत बनाउँछ ।