आयातकर्ताको लागत घट्ने «

आयातकर्ताको लागत घट्ने

नेपाली तथा भारतीय दुवै देशका कार्गो रेलले भारतीय रेलको सञ्जाल प्रयोग गर्न पाउने भएका छन् । नेपाल र भारतबीच सन् २००४ मा भएको रेल सम्झौताको आशय पत्र अर्थात लेटर अफ एक्सचेन्ज (एलओई) को दुवै देशका अधिकारीबीच शुक्रबार हस्ताक्षर भएपछि यसबाट नेपाली आयातकर्ताको लागत घट्न गई उपभोक्तालाई पनि फाइदा हुने अधिकारीहरुले बताएका छन् ।
वाणिज्य सचिव दिनेशकुमार भट्टराई र भारतका रेलवेज मन्त्रालयको समकक्षीबीच औपचारिक रुपमा भर्चुअल माध्ययबाट शुक्रबार रेलवे सर्भिस सम्झौताको एलओईमा हस्ताक्षर हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयले यसअघि नै विद्युतीय माध्यमबाट नेपाल–भारत रेल सम्झौता संशोधनका लागि प्रकृया अघि बढाएको थियो । सम्झौताको संंशोधन गर्ने विषयमा भारतले सहमति जनाइसकेपछि हस्ताक्षर गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ ।
सम्झौता संशोधन भएसँगै भारतीय रेलको एकाधिकार पनि तोडिने छ । यसअघि भारतीय कन्टेनर निगमले मात्रै नेपालको लागि कार्गो ढुवानी सेवा दिन पाउने नियम थियो । तर नयाँ सम्झौता भएपछि भारतीय तथा नेपाल दुवै देशका निजी क्षेत्रको रेलले पनि सामान ढुवानी सेवा दिन सक्ने मन्त्रालयले जानकारी दिएको छ । नेपालले भारतका जुनसुकै कार्गो रेलमार्फत सामान ल्याउन पाउनेछ । अहिलेसम्म भारतको सरकारी कम्पनी कन्टेनर कर्पोरेसन इन्डिया लिमिटेडबाट मात्रै सामान ल्याउन पाउने व्यवस्था छ । एउटामात्रै कम्पनीबाट सामान ल्याउँदा नेपालका उद्योगी व्यवसायीले लामो समय कुर्नुपर्ने र लागत समेत महँगो तिर्नुपर्ने अवस्था भएकाले व्यवसायीहरुले यसको अन्त्यको माग गर्दै आएका थिए । संशोधनपछि जुनसुकै रेलमार्फत सामान ल्याउन पाइने हुनाले अगाडि जुन छ, त्यहीबाट अर्थात् जुन सस्तो छ त्यसैबाट प्रतिस्पर्धात्मक ढंगले सामान ल्याउन पाउने व्यवसायीहरुले बताएका छन् ।
साथै नेपालमा हुने आयात–निर्यातका लागि रेल सेवामा लाग्ने सेवा शुल्क हाल अग्रिम रुपमा कोलकातामा तिर्नुपर्ने व्यवस्था रहेकोमा नेपाली वाणिज्य बैंक मार्फत् सोझै भुक्तानी दिन सकिने व्यवस्था पनि प्रस्ताव समेत गरिएको छ ।
मन्त्रालका अनुसार, नेपाल भारत रेल सम्झौतामा नेपालको तेस्रो मुलुकसँग हुने व्यापारका लागि पनि भारतीय रेल सेवा उपयोग गर्ने तथा भारतसँगको द्विपक्षीय व्यापारमा रेलबाट हुन ढुवानीलाई व्यवस्थित गर्ने सम्बन्धमा विभिन्न व्यवस्थाहरू गरिएका छन् । विभिन्न चरणमा द्विपक्षीय वार्ता भएपछि भारतसँग एलओई गर्नका लागि असार १४ गते नेपालका तर्फबाट प्रस्ताव गरिएको थियो । सन् २०१९ जुन ६–७ मा भारतको नयाँ दिल्लीमा भएको पुनरावलोकन बैठकबाट विद्यमान नेपाल–भारत रेल सेवा सम्झौता संशोधनको लागि सहमति भएको थियो ।
सोही सहमतिका आधारमा नेपाल र भारतबीचमा विभिन्न चरणमा एलओईको मस्यौदा आदानप्रदान भएको थियो । सम्झौतामा नेपालको तेस्रो मुलुकसँग हुने व्यापारका लागि भारतीय रेल सेवा उपयोग गर्ने तथा भारतसँगको द्विपक्षीय व्यापारमा रेलबाट हुने ढुवानीलाई व्यवस्थित गर्ने सम्बन्धमा विभिन्न व्यवस्थाहरू गरिएका छन् ।
प्रस्तावित एलओईको हस्ताक्षर तथा आदानप्रदान भएपछि भारतमा रेल सेवा उपलब्ध गराइरहेका सबै अनुमति प्राप्त कार्गो ट्रेन अपरेटरहरूले नेपालको पारवहनका लागि हुने ढुवानीका लागि सेवा दिन सक्नेछन् । भारतीय रेल सेवामा सञ्चालनमा ल्याउनका लागि अनुमति प्राप्त गरेका सबै किसिमका कन्टेनर-वागनहरू नेपाल लक्षित ढुवानीका लागि उपयोगमा ल्याउन सकिनेछ ।
नेपाल लक्षित पारवहन कार्गो ढुवानीका लागि नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहने रेल तथा वागनले वीरगन्ज र विराटनगरदेखि कोलकाता÷ हल्दियासम्म रेल सेवा दिन सक्ने गरी प्रस्ताव गरिएको छ ।
हाल नेपालको वीरगन्जसम्म रेल सेवा उपलब्ध भएको छ । विराटनगर, भैरहवा र इनरुवामा रेलसम्बद्ध पूर्वाधार तयार तयार हुने क्रममा छ । भारत पारवहन सन्धिमा व्यवस्था भएअनुरुप अन्य पारवहन विन्दुमा तथा द्विपक्षीय व्यापार नाकाहरूमा सहमतिका आधारमा रेल सेवा विस्तार हुँदै जाने गरी प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्