इन्धनको मूल्य लगातार बढ्दा मारमा उपभोक्ता

पछिल्लो एक वर्षदेखि लगातार पेट्रोलियम पदार्थको मूल्य बढेपछि त्यसको मारमा उपभोक्ता परेका छन् । अन्तर्राष्ट्रिय बजारमा कच्चातेलको मूल्य बढेकाले नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घरेलु बजारमा बढेको बताए पनि त्यसको असर भने उपभोक्तमा पर्न गएको हो ।
गत वर्ष साउन महिनामा १०५ रुपैयाँ रहेको पेट्रोलको मूल्य बढेर १२९ पुगेको छ । सो अवधिमा ९१ रुपैयाँ रहेको डिजेलको अहिले ११२ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १३ सय ५० रुपैयाँ रहेको ग्यासको मूल्य बढेर १४ सय २५ रुपैयाँ कायम भएको छ । गत वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढ्दै गएको निगमको दावी छ । तर, निगमले स्वचालित मूल्य प्रणालीअनुसार मूल्य बढाउँदा त्यसको असर उपभोक्तामा पर्न गएको छ । पेट्रोलियम पदार्थको मूल्य बढ्दा अत्यावश्यक वस्तुको ढुवानी लागत महँगो भएको छ र त्यसको मूल्य उपभोक्ताले तिर्नु परेको छ । निगमले लगातार इन्धनको मूल्य बढाएको भन्दै त्यसको चौतर्फी विरोध भएको छ । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सेना कोभिडको मारमा परेका उपभोक्तालाई प्रत्यक्ष मार पर्ने गरी बढाइएको इन्धनको मूल्य फिर्ता गर्नुपर्ने बताउँछन् । उपभोक्ता अधिकारकर्मी पनि विरोध गरेझैं मात्र गर्छन् भन्ने आम उपभोक्ताको गुनासो छ ।
नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्रमान वज्राचार्य लगातार रूपमा इन्धनको मूल्य बढ्दा ढुवानी लागत बढी अत्यावश्यक वस्तुको मूल्य बढ्ने बताउँछन् । लगातार इन्धनको मूल्य बढेपछि सवारीसाधनको भाडासमेत बढ्ने देखिन्छ । लागत बढेपछि ढुवानी भाडा, ज्याला, बढेकाले सामानको मूल्य पनि स्वतः बढ्ने उनको भनाइ छ । बारम्बार पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले यातायात व्यवसायीले पनि पनि गाडी भाडा बढाउन माग गरिरहेका छन् ।
निगमले मंगलबार पेट्रोल, डिजल, मट्टितेल र हवाईइन्धन लिटरमा दुई रुपैयाँ बढाएको हो । यो पटक निगमले खाना पकाउने एलपीजी ग्यासको मूल्य पनि सिलिन्डरमा २५ रुपैयाँ बढाएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको उपभोक्ता मूल्य १२९ रुपैयाँ पुगेको छ । यस्तै डिजल ११२ रुपैयाँ पुगेको छ । हवाईइन्धन लिटरको ८४ रुपैयाँ कायम भएको छ । ग्यास एक सिलिन्डरको १४ सय २५ रुपैयाँ कायम भएको छ ।
निगम प्रवक्ता वीनितमणि उपाध्यायले लगातार इन्धनको मूल्य बढेकाले मूल्य समायोजन गरिएको बताए । मूल्य बढाउँदा पनि निगमलाई १५ दिनमा ९१ करोड ३५ लाख रुपैयाँ घाटा रहेको उनको भनाइ छ । मूल्य वृद्धि भए पनि निगमलाई प्रतिलिटर पेट्रोलमा ७ रुपैयाँ २५ पैसा, डिजेलमा प्रतिलिटर ४ रुपैयाँ ३५ पैसा नोक्सानी छ । यस्तै ग्यासमा ३१९ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा लगातार भइरहेको इन्धनको मूल्य वृद्धि कारणको भार उपभोक्ताले बोक्नुपर्दा सरकार मुक दर्शक बनेको छ । अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्य बढ्दै गएपछि निगम ६ वर्षपछि घाटामा जाने भएको छ । २०७१ असोज १३ बाट पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागू भएपछि निगम लगातार नाफामा थियो । ६ वर्ष लगातार नाफामा रहेको निगमले चालू आर्थिक वर्षमा भने करिब चार अर्ब नोक्सानमा पुग्न लागेको दावी गरेको छ ।
निगमका अनुसार, रक्सौलमा ६७.७७ रुपैयाँमा किनिएको पेट्रोलमा ५६.६१ रुपैयाँ कर थोपरिएको छ । डिजेलमा ३९ रुपैयाँ २८ पैसा कर लगाइएको छ । विभिन्न शीर्षकमा लगाइएको कर घटाए निगमको घाटा कम र उपभोक्तालाई समेत सस्तोमा इन्धन बिक्री गर्न सकिने निगमको भनाइ छ ।
कोभिडका कारणले गरिएको निषेधाज्ञाको बेला बजारमा इन्धनको खपत ३५ देखि ४० प्रतिशतले घटेको निगमको भनाइ छ । बिक्री परिणाम घटेका कारण चालू आर्थिक वर्षमा कुल घाटा करिब चार अर्बमात्रै हुने निगमको अनुमान छ ।