सडकमा बजेट वृद्धि, लक्ष्य कम «

सडकमा बजेट वृद्धि, लक्ष्य कम


सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा सडक तथा पुल निर्माण गर्नका लागि बजेट वृद्धि गरेको छ ।
आगामी आर्थिक वर्षका लागि चालू आर्थिक वर्षभन्दा ९३ करोड ९६ लाख २५ हजार रुपैयाँ बढी विनियोजन गरिएको छ ।

चालू आर्थिक वर्षमा सडक तथा पुल निर्माणका लागि चार अर्ब १६ करोड ३५ लाख ५५ हजार विनियोजन गरिएकोमा आगामी वर्ष सोही कार्यका लागि पाँच अर्ब १० करोड ३१ लाख ८० हजार रुपैयाँ विनियोजन गरिएको छ । जुन भौतिक पूर्वाधार विकास मन्त्रालयको कुल बजेट ११ अर्ब ७५ करोड ८३ लाख ८१ हजारको झण्डै आधा हो । प्रदेशका ६ वटा पूर्वाधार विकास कार्यालयहरूले खर्च गर्ने गरी विनियोजित पाँच अर्ब १९ करोड आठ लाख ९१ हजारमध्ये पाँच अर्ब १३ करोड ३१ लाख ८० हजार रुपैयाँ पुँजीगत खर्चका लागि छुट्याइएको छ ।


यद्यपि, चालू आर्थिक वर्षभन्दा सडक कालोपत्रे गर्ने र ग्राभेल गर्ने लक्ष्य घटाइएको छ । माटेसडक बनाउने, सडकपुल, झोलुंगे पुल निर्माण गर्ने लक्ष्य भने बढाइएको छ । चालू आर्थिक वर्षको असार मसान्तसम्म प्रदेशका नौवटै जिल्लामा गरी दुई सय सात दशमलव छ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको छ भने आगामी आर्थिक वर्षमा एक सय ६० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको बजेटसंँगै पेस गरिएको प्रदेश सरकारको मन्त्रालयगत प्रगति विवरणमा उल्लेख गरिएको छ । आर्थिक वर्ष ०७४/७५ देखि ०७६/७७ सम्म एक सय २८ किलोमिटर सडक कालोपत्रे गरिएको प्रगति विवरणमा जनाइएको छ ।


चालू आर्थिक वर्षमा ५९ किलोमिटर ग्राभेल हुने, विगतका वर्षमा तीन सय २२ किलोमिटर सडक ग्राभेल भएको र आगामी वर्ष ४८ किलोमिटर ग्राभेल गर्ने लक्ष्य दिएको प्रगति विवरणमा उल्लेख छ । यस्तै, चालू वर्षमा १५ किलोमिटर माटेसडक निर्माण भइसक्ने, अघिल्ला वर्षमा सात सय आठ किलोमिटर माटेसडक बनाइएको र आगामी वर्ष २८ किलोमिटर माटेसडक बनाइसक्ने लक्ष्य लिएको जनाइएको छ ।
यस्तै, सुरुका दुई वर्षमा १० सडक पुल र १८ झोलुंगे पुल निर्माण भएको चालू आर्थिक वर्षमा ५ सडक पुल र ६ झोलुंगे पुल निर्माण गर्ने लक्ष्य रहेको तथा आगामी आर्थिक वर्षमा १४ सडक पुल र ८ झोलुंगे पुल निर्माण गर्ने लक्ष्य रहेको प्रगति विवरणमा उख्लेख छ ।

मन्त्रालयका सूचना अधिकारी छविराज जैशीले आगामी आर्थिक वर्षको लक्ष्य चालु आर्थिक वर्षको समिक्षापछि परिमार्जन हुने जनाए । उनले चालू आर्थिक वर्षको लक्ष्यअनुसार प्रगति भए नभएको आउँदो साउनमा मात्रै थाहा हुने बताउँदै ती प्रगति विवरण समीक्षा कार्यक्रम आयोजना गरी सार्वजनिक गरिने बताए ।


प्रदेश गौरवका सडक आयोजनाहरूमा यस वर्ष एक सय दुई किलोमिटर सडक कालोपत्रे भइरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ । प्रदेश गौरवको सडकमध्ये १५ किलोमिटर अपग्रेडिङ भइरहेको, २४ किलोमिटर ठेक्का लगाउने प्रक्रियामा रहेको, १८ किलोमिटर ट्रयाक खोल्ने काम भएको जनाएको छ ।
विगतका वर्षदेखि कार्यान्वयनमा रहेका प्रदेश गौरवका सडक आयोजना, क्रमागत आयोजना, रूपान्तरणकारी आयोजना र बहुवर्षीय आयोजनाका लागि पाँच अर्ब १२ करोड ७३ लाख रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश सरकारले प्रत्येक जिल्लामा एक÷एक वटा प्रदेश गौरवका सडक निर्माण गरिरहेको छ । प्रदेश गौरवका सडक आयोजनाअन्तर्गत चालू आर्थिक वर्षमा एक सय चार किलोमिटर सडक कालोपत्रे सम्पन्न गरेको छ ।
प्रदेश सरकारले स्थानीय तहको केन्द्र र जिल्लाहरू जोड्ने गरी सडक सञ्जाल विस्तार गर्न प्रदेश गौरवका सडक निर्माण गर्न थालेको हो । ती सडकले कम्तीमा तीन स्थानीय तहका मुकामहरू र दुई जिल्लालाई एक आपसमा सडक सञ्जालले जोडिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्