माथिल्लो तामाकोसीको बिजुलीले जगाएको आशा «

माथिल्लो तामाकोसीको बिजुलीले जगाएको आशा

पहिचान भएको ३६ वर्षपछि र निर्माण सुरु भएको ११ वर्षपछि माथिल्लो तामाकोसीबाट बिजुली बल्न सुरु भएको छ । यो सुरुवातमात्र हो, आयोजना सम्पन्न भइसकेको छैन । किनकि स्वदेशी लगानीमा निर्माण भएको नेपालकै ठूलो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको पहिचानदेखि अध्ययन र निर्माणसम्मको अवधि धेरै लामो र स्मरणीय रह्यो । सोमबार उद्घाटन गरी राष्ट्रिय प्रणालीमा जोड्दा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीको पहिलो युनिटबाट ७६ मेगावाट उत्पादन सुरु भएको छ । सोमबारबाट २ सय २० केभीको ४७ किलोमिटर प्रसारणलाइनमार्फत न्यू खिम्ती सब स्टेसनमा जोडिएको माथिल्लो तामाकोसीको बिजुलीले न्यू खिम्ती सब स्टेसनमार्फत खिम्ती–ढल्केबर प्रसारणलाइनमार्फत तराईका जिल्लामा र १ सय ३२ केभीबाट खिम्ती लामोसाँघु हुँदै काठमाडौंसम्म उज्यालो बनाउनेछ ।
हाल आयोजनाको ६ वटा युनिटमध्ये पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन सुरु भएकोमा आगामी भदौभित्र पूर्ण क्षमतामा उत्पादन हुन सक्ने बताइएको छ । १ सय ४४ मेगावाटको कालीगण्डकी ‘ए’ भन्दा पनि ठूलो तथा मुलुकको हालसम्मकै ठूलो जलविद्युत् आयोजना बने तापनि माथिल्लो तामाकोसीको लागत भने सुरुमा अनुमान गरेभन्दा दोब्बरभन्दा बढी लागेको छ । सुरुमा ब्याजबाहेक ३५ अर्बमा ५ वर्षमा निर्माण गरिने बताइएको भए पनि यसको निर्माण अवधि दोब्बरभन्दा बढी लागेका कारण लागत पनि बढेर दोब्बरभन्दा बढी भएको छ । नेपालकै सबैभन्दा सस्तो मानिएको माथिल्लो तामाकोसी सन् १९८५ मा जापान सरकारको सहयोगमा जाइकाद्वारा कोसी जलस्रोत विकास गुरुयोजनाको अध्ययनमा पहिचान भएको थियो । तत्कालीन अवस्थामा ११३ मेवामात्र क्षमता पहिचान गरिएकोमा सन् २००१ मा नेपाल विद्युत् प्राधिकरणको आफ्नै स्रोतमा अध्ययन गर्दा २५० मेगावाट क्षमता हुने देखियो भने त्यसपछिका विस्तृत अध्ययनमा ३ सय ९ मेगावाट क्षमता हुने भनियो । तर, फेरि २०६५ मा भएको विस्तृत अध्ययन गर्दा आयोजनामा दुईवटा युनिट थप गर्दा ४ सय ५६ मेवा क्षमता तथा २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुने देखियो । स्वदेशी पुँजी र स्वदेशी व्यवस्थापनमै ठूलो आयोजना बन्दा यसबाट अब सरकारले योभन्दा ठूलो आयोजना स्वदेशी व्यवस्थापन र स्रोत जुटाएर गर्न सीप तथा क्षमता विकास भएको छ ।
तर, नेपालको विकास प्रक्रियामा मेलम्ची एउटा केस स्टडी हो भने माथिल्लो तामाकोसी अर्को केस स्टडी हो । विकास आयोजनाको निर्माण तथा त्यसका प्रक्रियागत झन्झटबाहेक पनि नेपालमा विकासको मोडल तथा आयोजना निर्माणका सम्बन्धमा यी दुईलाई अध्ययन गर्नु आवश्यक छ । नेपालमा विकास गर्न किन गा¥हो भयो अथवा नेपाल किन विकास भएन भन्ने एउटा भाष्यको निर्माण गर्न सकिन्छ । त्यतिमात्र होइन, नेपालको आफ्नै स्रोत तथा स्थानीय नागरिकको सेयरबाट बनेको चिलिमे जलविद्युत् आयोजन सम्पन्न भएको लगभग एक दशकपछि फेरि चिलिमे मोडलमा जलविद्युत् आयोजना बन्न सुरु हुनु अर्को गम्भीर अध्ययनको विषय हो । किनकि नेपालको स्रोतबाट स्थानीय नागरिकको साझेदारीमा बनेको आयोजनाले स्थानीयको जीवनमा पारेका सकारात्मक प्रभाव तथा स्थानीय नागरिकको जीवनमा प्राकृतिक स्रोतले ल्याएको आर्थिक लाभलाई फेरि अर्को यस्र्तै आयोजनामार्फत प्रयोग गर्न ढिलाइ भए तापनि माथिल्लो तामाकोसीले फेरि एकपटक स्थानीय प्राकृतिक स्रोतको उपभोग तथा यसको लाभ बाँडफाँडमा उदाहरण प्रस्तुत गरेको छ ।
यसबाट अन्य आयोजना फेरि यस्तै मोडालिटीमा बन्न ढिलो भएका कारण त्यसको लाभ पाउने स्थानीय तथा राष्ट्रिय पुँजी निर्माणमा यसले पार्ने सकारात्मक प्रभाव तथा लाभ लिन मुलुक चुकिरहेको छ । बूढीगण्डकी आयोजना पनि नेपालीकै स्रोतमा बनाउने भनिए तापनि आजको मितिसम्म उक्त आयोजनाका बारेमा न त सरकार न त आयोजना नै स्पष्ट छ । तसर्थ राष्ट्रिय गौरवका तथा गेमचेन्जर मानिने यस्ता आयोजना यही मोडालिटिमा बनाउन ढिलाइ गर्नु हुन्न । यसले राष्ट्रिय गौरव बढाउनेमात्र नभएर प्राकृतिक स्रोतको लाभ स्थानीय नागरिकसहित सम्पूर्ण मुलुकलाई प्राप्त हुने चिलिमे तथा माथिल्लो तामाकोसी उदाहरण हुन् ।

प्रतिक्रिया दिनुहोस्