अस्थायी आवासका लागि तत्काल रकम पठाउँछौं : अर्याल «

अस्थायी आवासका लागि तत्काल रकम पठाउँछौं : अर्याल

वर्षको बाढी, पहिरोबाट घरमा क्षति पुगेकालाई अस्थाई आवास निर्माणका लागि तत्कालै रकम पठाउने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले यस वर्ष मनसुनबाट प्रभावित भएकाहरुका लागि अस्थाई आवास बनाउनको लागि तत्कालै रकम पठाउने व्यवस्था मिलाइएको बताए ।


प्राधिकरणले बाढी पहिरो प्रभावित भएका स्थानको लगत संकलन गरेर विवरण पेश गर्न सबै जिल्ला प्रशासनलाई परिपत्र गरेको जनाएको छ । जिल्ला प्रशासनले क्षतिको विवरण पेश गरेपछि केन्द्रले अस्थायी आवास निर्माणका लागि रकम विनियोजन गर्ने जनाएको छ । “सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट लगत संकलनको विवरण आएलगत्तै अस्थायी आवास निर्माणका लागि तत्कालै रकम पठाउने व्यवस्था गरेका छौं” उनले भने ।


गत वर्षको मनसुनबाट क्षति भएका २० जिल्लाका ३ हजार ३ सय ४९ वटा घरहरु पुनर्निमाणका लागि १९ करोड ९७ लाख ७३ हजार ७५० रुपैयाँ प्रथम किस्ता वापतको रकम सम्बन्धित जिल्ला विपद व्यवस्थापनको कोषमा पठाएको पनि प्रवक्ता अर्यालले जानकारी दिए ।
यस वर्ष जेठ २८ गतेसम्म सुरू भएको मनसुनका कारण देशभरका ३२ जिल्लामा प्रत्यक्ष प्रभाव परेको उनले बताए । मनसुनबाट आएको विपत्तिबाट ३३ जनाको मृत्यु भएको, ३० जना बेपत्ता भएको र ३२ जना घाइते भएको प्रवक्ता अर्याललले बताए ।

बाढी पहिरोबाट ४८३ निजी घरहरु पूर्णरुपमा क्षति भएको, ११२ घरमा आशिंक क्षति भएको, ३६ सरकारी कार्यालयमा क्षति भएको तथा ६ वटा सामुदायिक विद्यालयको भवनमा क्षति पुगको उनले बताए । त्यस्तै २२ वटा झोलुङ्गे पुल, १३ वटा पक्की पुल, २ वटा वित्तीय संस्थाको भवनमा क्षति भएको पनि प्राधिकरणले जनाएको छ ।


विपदबाट प्रभावितहरुका लागि खोज, उद्दार, राहत तथा पुर्नस्थापनाको काम गरिएको प्रवक्ता अर्यालले बताए । मौसम पूर्वानुमान महाशाखासँग समन्वय गरी विपद आउनसक्ने ठाउँमा प्राधिकरणले पूर्व सूचना प्रणालीलाई चुस्त दुरुस्त राखिएको उनले बताए । ९ जिल्लाका ३६ पालिकाहरुमा प्रभावमा आधारित पूर्व सूचना प्रणाली जडान गरिएको पनि उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्