लक्ष्य पछ्याउँदै तमानखोला पालिका «

लक्ष्य पछ्याउँदै तमानखोला पालिका


जिल्लाकै विकट पालिकाको रूपमा परिचित तमानखोला गाउँपालिकाले मध्य असारसम्म ९० प्रतिशत प्रगति गरेको छ । कोरोना संक्रमणको त्रासका बीच पालिकाले ९० प्रतिशत योजना तथा कार्यक्रम सम्पन्न गरेको हो ।


तमानखोलामा चालू आर्थिक वर्षमा साना तथा ठूला गरी ७३ आयोजना सञ्चालनमा थिए । आयोजनामध्ये ६ ठूला र ६७ वटा साना योजना रहेको प्रमुख प्रशासकीय अधिकृत विकास लम्सालले बताए । लम्सालका अनुसार ठूला ६ आयोजनामध्ये चारवटा पूर्णरूपमा सम्पन्न भएका छन, साना आयोजनामध्ये अधिकांश सकिसकेका छन् भने केही निर्माणको अन्तिम चरणमा छन् । “चालू आर्थिक वर्षमा तमानखोला गाउँपालिकामा साना ठूला ७३ योजना थिए, अहिलेसम्म ९० प्रतिशत बढी योजना सम्पन्न भएका छन्,” लम्सालले भने, “अब केही योजना बाँकी छन्, तिनीहरू मसान्तसम्म सकिनेछ ।” पालिकाको चालू तथा पुँजीगत खर्च ८० प्रतिशत भएको गाउँपालिकाले जनाएको छ ।

असारे विकासको परिपाटिलाई अन्त्य गर्दै पालिकाले वैशाख मसान्तभित्र योजना सम्पन्न गनुपर्ने नीति बनाएको थियो । कोरोना संक्रमणको महामारिका कारण चालू आवमा नीति कार्यान्वयन गर्न नसकेको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए । गाउँपालिकाले यस वर्ष ९५ प्रतिशत काम सक्ने योजना राखेको थियो । “वैशाख महिनामै सबै योजना सक्नेगरी तयारी गरेको थियो, महामारीले योजना अनुरुप काम गर्न सकेनौ,” अध्यक्ष बुढाले भने, “असार अन्तिम सातासम्म नै भए पनि सन्तोषजनक काम भएको महसुस गरेका छांै ।” पालिकाले चालू आर्थिक वर्षमा विशेषगरी पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा काम भएको बुढाको भनाइ छ ।


भाडाको घरमा बसेर दैनिक कार्य सम्पादन गर्दै आइरहेको पालिकाले यस वर्ष प्रशासकीय भवन निर्माण सम्पन्न गरेको छ । यस्तै, वडा नम्बर ५ को वडा कार्यालय, बोङ्गादोभान, बोङ्खानी–ढोरपाटन सडकको स्तरोन्नति, विष्णु आधार विद्यालय भवन, जनज्योति आधारभूत विद्यालय भयरभुङ्गा, जनजागृति मावि, धनगौ ज्योति मावि तमानको विद्यालय भवन निर्माण कार्य सम्पन्न भएका छन् । यसवर्ष नागरिकको पहिलो आवश्यकता र मागलाई सम्बोधन गरी विकास निर्माणका काम भएको अध्यक्ष जोकलाल बुढा बताए । पालिकाले पूर्वाधार विकाससँगै यसवर्ष जनचेतना विकासतर्फ पनि काम गरेको छ ।


भौगोलिक हिसाबले विकट पालिकाको रूपमा परिचित तमानखोलाले विस्तारै विकासको खाका तयार पारेको बुढाले बताए । बुढाका अनुसार भौतिक विकाससँंगै मानवीय चेतना वृद्धिको काम पनि पालिकाले गरिहेको छ । “मानवीय विकाससँगै चेतनाको विकास जरुरी छ, त्यसले गर्दा यसवर्ष जनचेतामूलक काम पनि भएका छन्,” अध्यक्ष बुढाले भने, “गाउँपालिकाले धेरै काम गर्न त बाँकी छ तर पनि यसवर्ष हामीले बनाएका योजना अन्तिम अवस्थामा छन्, हामीले राखेको लक्ष्यअनुसार पूरा हुने अपेक्षा छ ।”


यसवर्ष शिक्षा, स्वास्थ्य सडकलगायतमा बढी जोड दिएको सुनाउँदै सोही अनुसार काम भएको बताउँछन् बुढा । अध्यक्ष बुढाले कोरोना महामारीका कारण पनि यस वर्ष योजना कम भएको र महामारी नियन्त्रणमा आफूहरूले काम गरेको बताए । “यसवर्ष कोरोनाको कारण परिस्थिति अलिक कठिन थियो, तर पनि हामीले बनाएका योजनाअनुसार काम ग¥यांै, केही हुँदैछन्, सम्भवतः असार मसान्तसम्म हामीले लक्ष्य पूरा गर्छौं,” बुढाले भने, “कोरोनाबाट हाम्रो पालिका पनि अछुतो रहन सकेन, विकास निर्माणसँगै यसको नियन्त्रण गर्नु पर्ने थप चुनौती थपियो, यद्यपि सबै योजना सकिनेमा विश्वस्त छौँ ।” चालू आर्थिक वर्षमा तमानखोला गाउँपालिकामा २८ करोड, १२ लाख २२ हजार ३५५ रुपैयाँको बजेट विनियोजन भएको थियो ।

त्रिलोचन रिजाल

प्रतिक्रिया दिनुहोस्