सेयर बजारमा ४७ अंकको गिरावट «

सेयर बजारमा ४७ अंकको गिरावट


सेयर बजारमा मंगलबार उच्च गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार ४७.४९ अंकले घटेर २ हजार ८२८ अंकमा झरेको छ ।
नेप्सेमा आएको गिरावटसँगै कारोबार रकम पनि घटेको छ । यसदिन २२३ कम्पनीका १ करोड ४० लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार नेप्सेसँगै समूहगत परिसूचकहरु पनि ओरालो लागेका छन् । यसदिन लघुवित्त बाहेक सबै समूह घटेका छन् । लघुवित्त २६.४ अंकले बढ्दा बैंकिङ २६.४४, व्यापार ४७.५३, होटल तथा टुरिजम १.३२, विकास बैंक १६७.१३, जलविद्युत ७६.०३, फाइनान्स ८७.६१ अंकले घटेका छन् ।
यसैगरी निजीवन बिमा २५१.५३, उत्पादन ३४.९८, अन्य ५१.३३, जीवन बिमा १६५.९८, म्युचुअल फण्ड ०.०७ र लगानी समूह ३.८४ अंकले घटेको छ ।
घटेको बजारमा पनि यसदिन ३५ कम्पनीका लगानीकर्ताले कमाएका छन् । ओरियन्टल होटल, गुराँस लघुवित्त, सामुदायिक लघुवित्त, तारागाउँ रिजेन्सी, सिभिल लघुवित्त लगायत कम्पनीको मूल्य वृद्धि भएको छ ।
यसैगरी १४६ कम्पनीको सेयर मूल्य घटेको छ । प्रोग्रेसिभ फाइनान्स, हाइड्रोइलेक्ट्रीसीटी डेभलपमेन्ट कम्पनी, वेस्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्सलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
नेप्से सूचक तीन हजार भन्दा माथि पुगेसँगै बजारमा दैनिक २० अर्ब हाराहारीमा कारोबार हुन थालेको थियो । तर, नेपाल धितोपत्र बोर्डले बढेको बजारमा जोखिम बढी हुने भन्दै जोखिमयुक्त कम्पनीको सूची नै सार्वजनिक गरेसँगै बजारमा प्रभाव देखिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्