धानखेतीमा चितवनमा यान्त्रीकरण बढ्दो

चितवनमा धान खेतीमा यान्त्रीकरण बढेको छ । निजी लगानी तथा सरकारी अनुदानमा सहकारी, समूहले खेती गर्ने, थन्क्याउने कार्यमा यन्त्र, उपकरण ल्याउने क्रमले तीव्रता पाएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले अनुदान दिदै आएको छ । परियोजनाको अनुदानमा रत्ननगरको बछौली र खैरहनीको कुमरोजमा रहेका साना किसान तथा कृषि सहकारी संस्थामा कष्टम हायरिङ सेण्टर बनाइएको छ । सेण्टरबाट किसानहरुले सहुलियत भाडामा ती यन्त्र उपरकण उपभोग गर्न पाउने छन् ।
परियोजना कार्यान्वयन इकाई चितवन र कृषि ज्ञान केन्द्र चितवनका अनुसार जिल्लामा खेती बालीमा यन्त्र उपकरणको प्रयोग बढेको छ । जिल्लामा धान रोप्ने मेसिन ९ वटा छन् । वार्क विह्याण्ड १ र फ्रि हिव्लर राइडिङ मेसिन ४ चक्के र ३ चक्के चार चार वटा छन् । जसमध्ये ३ वटा ६ लाइनमा र ४ वटा ४ लाइनमा लाइनमा रोप्ने मेसिनहरु हुन् । धान काट्ने–चुट्ने–थन्काउने ( कम्बाइन हार्भेष्टर) ५ वटा, रिपर (धान काट्ने) ५० वटा मेसिन रहेका छन् । रत्ननगर नगरपालिकाले धान सुकाउने मेसिन ड्रायर मेसिन ल्याउने तयारी गरेको छ । माटो फर्काउने (एमबी प्लो), जमिन सतह मिलाउने (ल्याण्ड लेजर लेभलर), हिलोमा धान छर्ने मेसीन (ड्रम सिडर), झार गोड्ने, बेलर (पराल बेर्ने) औजारहरु प्रयोगमा छन् ।
साना किसान कृषि सहकारी बछौलीका अध्यक्ष नारायण महतोले मेसिनबाट ८ विघामा वर्षे धान लगाइएको बताए । यसअघि करिव ५ विघामा चैते धान मेसिनबाट लगाइएको थियो । “ट्रेमा बिउ थोरैले हुर्काएकाले यस वर्ष मेसिनबाट थोरै खेती भयो”, उनी भन्छन्, “आगामी वर्ष किसानलाई प्रेरित गर्नेछौं ।” ५० प्रतिशत अनुदानसहित २० लाख ९० हजार लागतमा धान रोप्ने मेसिन सहकारीले ल्याएको हो । “खेतीबालीका लागि थप यन्त्र, उपकरण चाहिएको छ”, उनी भन्छन्, “तीनै तहका सरकारसँग् समन्वय गर्नेछौं ।” यो सहकारीमा ३ हजार बढी सदस्य आवद्ध छन् ।
दक्ष अपरेटर नहुँदा ट्याक्टर चालकलाई नै सामान्य प्रशिक्षण दिएर चलाउन लगाइएको छ । “दक्ष अपरेटर, मिलेका साँध र फराकिलो गरा भएमा तेब्बर खर्च घटाउन सकिन्छ”, उनले भने, “मेसिनको प्रयोगले खेतीको खर्च कम बन्छ, सजिलो पनि हुन्छ ।” परियोजना कार्यान्वयन इकाई चितवनका कृषि अधिकृत माधव पौडेलले गत वर्ष मेसिनबाट २ विघामा गरिएको नर्सरी यस वर्ष ३० विघा पुगेको बताए । करिव ६० प्रतिशत धान रिपर मेसिनबाट काटिएको थियो ।
“यान्त्रीकरणमा सामूहिकतामा जाँदा धेरै किसान लाभान्वित हुनेछन्”, उनले भने, “ठाउँ ठाउँमा कष्टम हायरिङ सेण्टर बनाउन लाग्नुपर्छ ।” कृषिविज्ञ मित्रराज दवाडी मेसीनको प्रयोगले आधा कम खर्च हुने बताउँछन् । “बिउ उखेल्दा, रोप्दा, गरा मिलाउँदाका ज्याला जोड्दा मेसिनको खर्च झण्डै आधा कम हुन्छ”, उनले भने, “१ विघामा १५–१६ हजार लाग्थ्यो भने मेसिनबाट गर्दा ७–८ हजार पनि लाग्दैन ।” पश्चिम चितवनमा मात्रै थप ३ मेसीन ल्याउन सकिए सबै किसान लाभान्वित बन्ने बताए ।
कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले साना यन्त्रको लगानी दुई सिजनमै उठ्ने भएकाले किसानको आकर्षण बढेको बताए । “हल गोरु, राँगा पालेर खेत जोत्ने चलन हराउन थाल्यो, ट्याक्टर प्रयोग सामान्य बन्यो”, उनी भन्छन्, “लागत घटाउन यान्त्रीकरण अतिआवश्यक छ ।” उनले ठूला मेसिन किसान एक्लैले खरिद गर्न नसक्ने भएकाले राज्यस्तरबाट अनुदानका कार्यक्रम आउने गरेको बताए । परियोजना कार्यान्वयन इकाई प्रमुख मेघनाथ तिमल्सेनाले जग्गालाई यन्त्रमैत्री बनाउनुपर्ने बताए । “सबै जग्गामा मेसिन प्रयोग असम्भव छ, चक्लाबन्दीमा लागौं”, उनले भने, “उचित ठाउँमा यान्त्रीकरण गरौं, किसानलाई प्रोत्साहन गरौं ।”
रोपाई आधा बाँकी
कृषि ज्ञान केन्द्र चितवनले जिल्लामा करिब १० हजार हेक्टरमा धान रोपाई सकिएको जनाएको छ । यान्त्रीकरण बढेकाले रोपाई छिटो भएको हो । प्रमुख राजन ढकालले घोल क्षेत्र र सिँचाइ सुविधा पुगेका क्षेत्रमा रोपाई तीव्र बनेको बताए । उनका अनुसार करिब ५० प्रतिशत खेतीयोग्य जमिनमा रोपाइ सकिएको छ ।
गत वर्ष २७ हजार ४ सय ४५ हेक्टरमा वर्षे धान र चैते धान खेती भएकामा यसवर्ष बढ्ने अनुमान गरिएको छ । कालिका, नगरपालिका, इच्छाकामना गाउँपालिकाको केही भागमा मात्रै रोपाई सुरु भएको छ भने अन्य स्थानीय तहमा करिब ७० प्रतिशत रोपाई सकिएको छ । पश्चिम चितवनका धेरै भागमा मकै लगायतका बाली थन्काउन बाँकी रहेको छ । पूर्वी चितवनको धान जोन क्षेत्र राप्ती, खैरहनी, र रत्ननगरका अधिकांश भागमा रोपाईं सकिएको छ ।