लामो दूरीको सवारी सञ्चालनमा रोक कायमै
सार्वजनिक यातायात खुला

उपत्यकामा आज (मंगलबार) बाट सार्वजनिक सवारी साधन सञ्चालन हुने भएको छ । करिब ६० दिनपछि उपत्यकामा २५ सिटभन्दा बढी क्षमता भएका सार्वजनिक सवारी साधन जोरबिजोर नम्बरका आधारमा बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्र सञ्चालन गर्ने दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी सूचनामा उल्लेख छ । ‘सार्वजनिक यात्रुवाहक सवारीसाधन संचालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गर्दै भौतिक दूरी कायम हुने गरी (कुल स्वीकृत सीट क्षमता भन्दा बढी संख्यामा यात्रु नराख्ने गरी) बस्ने व्यवस्था मिलाउने, चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने, सहचालकले पञ्जा लगाउनुपर्ने र अनिवार्य रुपमा सवारी साधन दैनिक निसंक्रमित गर्नुपर्नेछ,’ सूचनामा भनिएको छ ।
कोभिड–१९को दोश्रो संक्रमण लहर बढेसँगै गत वैशाख १६ देखि बन्द रहेको सार्वजनिक सवारी मंगलबारबाट सञ्चालनमा आउन लागेको हो । निजी सवारीसाधन तथा ट्याक्सी भने जोरबिजोर आधारमा यसअघि नै सञ्चालनमा आइसकेका थिए ।
सरकारी, सार्वजनिक संस्थान, कूटनीतिक नियोग, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, कृषि, मल, बिउबिजन, पशु चिकित्सक लगायत अत्यावश्यक सेवा प्रदायक सवारी साधनहरु निर्वाध रुपले संचालन गर्ने पाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तरकारी, फलफूल, खाद्यान्न, दूध तथा दूग्धजन्य पदार्थ र सोको प्याकिङ सामग्री, कुखुराको दाना, चल्ला र पशुपंछीजन्य पदार्थ, भेटनरी सम्बन्धी कार्य, इन्धन, खाना पकाउने ग्यास, सरसफाइमा प्रयोग गरिने मास्क÷साबुन÷स्यानिटाइजर, प्रिन्ट तथा सरकारी छापाखाना र कृषि कार्यमा प्रयोग हुने मल, बिउलगायतका सामग्री ढुवानीका साधनमा ब्यानर वा प्रिन्टमा विषय उल्लेख गरी न्यूनतम जनशक्ति प्रयोग गरी संचालन गर्न पाइनेछ । लामो दूरीको हकमा भने निजी तथा सार्वजनिक सवारीमा रहेको रोक भने कायमै रहेको काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताइन् । यसका लागि स्वास्थ्य मन्त्रालयसँग छलफल भइरहेको उनले जानकारी दिइन् ।