डोजर प्रयोग गरी वडाध्यक्षको हत्या «

डोजर प्रयोग गरी वडाध्यक्षको हत्या


सर्लाहीको ईश्वरपुर नगरपालिकामा डोजरको प्रयोग गरी वडाध्यक्षको हत्या भएको छ । शुक्रबार राति ईश्वरपुर नगरपालिका वडा नं. ३ भक्तिपुरका वडाध्यक्ष ५५ वर्षिय सूर्यकुमार श्रेष्ठलाई डोजर चालकले बकेटले ठक्कर दिएर हत्या गरेको प्रहरीले जनाएको छ ।
विगत करिब १८–१९ दिनदेखि वडा नं. ३ स्थित मुखलाल बाँधको सिमाङ्कनको लागि भाडामा प्रयोग भएको डोजरले मर्मत भैरहेको थियो । शुक्रबार राति अबेरसम्म उक्त बाँध पोखरी खन्ने क्रममा वडाध्यक्ष सहित चार जना व्यक्तिहरु नजिकैको होटलमा गई सँगै खाजा खाई पिई गरी फर्किने क्रममा उनीहरुबीच सामान्य विवाद भएको थियो ।


बिवादकै क्रममा मुखलाल बाँध नजिक पुगेपछि चालकले एक्कासी आवेगमा आएर जेसिबी चलाएर वडाध्यक्ष श्रेष्ठलाई जेसिबीको बकेटले हानी खाल्टो खनी पुरेको थियो । घटनाबारे प्रहरीलाई जानकारी हुने बित्तिकै प्रहरीको एक टोली खटि गई निजलाई उद्धार गरी एम्बुलेन्समा राखेर उपचारका लागि मलंगवा अस्पतालमा पठाइएको थियो । राति २ बजे जिल्ला अस्पताल मलंगवामा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा जेसिबीका ठेकेदार ईश्वरपुर नगरपालिका–३ का ३५ वर्षीय प्रेमराज दाहाल र जेसिबीका चालक हरिपुर नगरपालिका वडा नं. १ हजारबिघा बस्ने ३८ वर्षिय रविन भन्ने हर्क बहादुर तामाङलाई नियन्त्रणमा लिएको छ ।
दाहाललाई घटना लगत्तै नियन्त्रणमा लिइएको र फरार रहेका जेसिबी चालक तामाङलाई शनिबार बिहान लालबन्दीबाट पक्राउ गरिएको प्रहरीले बताए । उनीहरु दुवैलाई अहिले जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखिएको छ ।

मृतक वडाध्यक्ष श्रेष्ठको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ । फरार पोखरी ठेकेदार ईन्दल सहनीको खोजतलास कार्य र अन्य अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका सह प्रवक्ता तथा प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्