Logo

पाथीभरा याङ्वरक गाउँपालिकाको बजेट ४२ करोड २९ लाख


जिल्लाको पाथीभरा याङवरक गाउँपालिकाको आव ०७८/७९ को बजेट ४२ करोड २९ लाख ६८ हजार २ सय ९० रुपैयाँ रहेको छ । पालिकाको बिहीबार सम्पन्न १०औ गाउँसभामा उपाध्यक्ष रनमाया गुरुङले आव ०७८/७९ को उक्त बजेट प्रस्तुत गरेकी हुन् । चालूतर्फ २७ करोड ४२ लाख १८ हजार १९० र पुँजीगततर्फ १४ करोड ८७ लाख ५० हजार १ सय रुपैयाँ उल्लेख छ । उपाध्यक्ष गुरुङले प्रस्ततु गरेको नीति तथा कार्यक्रम र बजेट आगामी गाउँसभा बैठकबाट पारित गर्ने भएको छ । गाउँपालिका अध्यक्ष केशरकुमार मेन्याङ्बोका अनुसार असार २१ गतेदेखि बस्ने गाउँसभाको बैठकले अन्तिम निर्णय गरेर पारित गरिनेछ ।


आगामी ७ महिनाभित्र प्रमुख प्रशासकीय भवन निर्माण सम्पन्न गर्ने उल्लेख छ । गाउँपालिकामा ५ वर्षभित्र एक प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । सदरमुकामदेखि गाउँपालिकाको केन्द्र हुँदै चाक्सिबोटे–थुम्बेदिन तथा मेची राजमार्गको खहरे–गाउँपालिका सडक स्तरोन्नति गर्ने उल्लेख छ । गाउँपालिकाको केन्द्रमा १० शैप्याको अस्पताल निर्माणलाई प्राथमिकता दिएको छ । अस्पतालको डीपीआर सम्पन्न भएकाले बजेट विनियोजन गरेर आवमै निर्माण चरणमा लगिने भएको छ । वडा नं. ४ डुम्रिसे र वडा नं. २ थेचम्बुको ओलकमा पक्की पुल निर्माण योजना छ । बैदेशिक रोजगारीबाट फर्किएकालाई बाख्रा तथा बंगुरपालन फर्मका लागि बजेट विनियोजन गरेको छ । गाईपालनमार्फत डेरी उद्योगलाई प्रवद्र्धनसहित गाई पकेट क्षेत्र कार्यक्रमलाई निरन्तरता दिएको छ ।


गाउँपालिकामा ‘एक वडा, एक हेलिप्याड’ अवधारणा ल्याएको छ । सडक र पूर्वाधारजन्य संरचनाको नियमित मर्मत तथा स्तरोन्नतीका लागि आयोजनको तीन प्रतिशत कन्टीजेन्सी रकम कोषमा जम्मा गरी खर्च गरिने भएको छ । यसैगरी हरेक आयोजनाको दुई प्रतिशत कन्टिजेन्सी रकम कट्टागरी आयोजना व्यवस्थापनका लागि कार्यविधि बनाएर खर्च गर्ने उल्लेख छ । १५ लाखभन्दा बढी रकमलागतका आयोजनाको प्रतिस्पर्धाका लागि विद्युतीय प्रणाली अर्थात ईबिड लागू गर्ने भएको छ । टेन्डर आह्वान असोज महिनाभित्रमै गर्ने नीति तथा कार्यक्रममा समावेश गरेको छ । १५ लाखभन्दा कम आयोजनाका सामान खरिदमा समेत टेन्डर आह्वान अनिवार्य गरेको छ ।


‘हाम्रो गाउँपालिका, उज्यालो गाउँपालिका’ अन्तर्गत केन्द्रीय विद्युत् प्रसारणलाइन जडानका लागि वडामार्फत कालो तार र मिटर बक्स अनुदान कार्यक्रमलाई निरन्तरता दिएको छ । गाउँपालिकास्तरीय यातायात गुरुयोजना आगामी आर्थिक वर्षमामा समावेश गरेको छ । भूकम्प प्रतिरोधी भवन निर्माणका लागि चालू आवमा ४० जना स्थानीयलाई तालिम प्रदान गर्ने भएको छ ।

विद्यालयलाई प्रविधिमैत्री बनाउनका लागि इन्टरनेट तथा विद्युतीय सामग्री जडान गर्ने भएको छ । विद्यालयको अनुगमन गरी उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने भएको छ । गुणस्तरीय शिक्षाका लागि शैक्षिक पाश्र्वचित्र तथा १० वर्षे शैक्षिक गुरुयोजना निर्माण गर्ने भएको छ । सामुदायिक विद्यालयमा कार्यरत बाल शिक्षिका र विद्यालय सहयोगीलाई मासिक १५ हजार उपलब्ध गराउने भएको छ । यसैगरी ‘एक वडा, एक खेल’ मैदान कार्यक्रम लागू गरेको छ । गाउँपालिका केन्द्रमा कभर्डहल निर्माणका लागि पहल गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्