मेरिङ्देन गाउँपालिकाको बजेट ४१ करोड १६ लाख

जिल्लाको मेरिङ्देन गाउँपालिकाले आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले ४१ करोड १६ लाख ४९ हजार रुपैयाँको बजेट बुधबार पारित गरेको हो । गाउँपालिका उपाध्यक्ष कल्पना तुम्बाहाम्फेले नवौ गाउँसभामा चालूतर्फ २७ करोड ५८ लाख ३३ हजार र पुँजीगततर्फ १३ करोड ५८ लाख १६ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिन् ।
‘मेरिङ्देनको पहिचानः समृद्धिको अभियान’ नारा तय गरेको गाउँपालिकाले सडक तथा पूर्वाधार विकास, स्वास्थ्य, आयुर्वेद, शिक्षा, युवा तथा खेलकुद, कृषि, सहकारी, पशु र पर्यटनसम्बन्धी विषय समावेश गरेको छ । १० लाख वा सोभन्दा माथिका सम्पूर्ण पूर्वाधार निर्माणका योजना ईबिड बोलपत्र र ५ लाखमाथिका योजना दरभाउ पत्रमार्फत् मात्रै सञ्चालन गर्ने नीति लिएको छ ।
गाउँपालिकाको केन्द्रसम्म पक्की सडक पहुँचका लागि पहल गर्ने, वडा नं.१, ४, ५, ६ मा आगामी वर्षभित्रै केन्द्रीय प्रसारणलाइन पु¥याउने उल्लेख छ । गाउँपालिकास्तरीय सडकको नापी कार्यालयसँगको सहकार्यमा लगत कट्टाको व्यवस्था मिलाउने भएको छ । कोरोना महामारीबाट बच्न तथा बचाउनका लागि २५ लाख रुपैयाँको कोष खडा गर्ने भएको छ । कोरोना प्रभावित स्वास्थ्यकर्मीका लागि १० लाखको जीवन बिमा, पटक–पटक कोरोना प्रभावित भए २० हजार उपचार खर्च प्रदान गर्ने र अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई शतप्रतिशत र अन्यलाई ५० प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने उल्लेख छ ।
गर्भवती तथा हजार दिने महिलालाई न्यूनतम पोषण भत्ता प्रदान गर्ने लगायतका कार्यक्रम सञ्चालन गरी घरमा शून्य सुत्केरी अभियानलाई व्यापक बनाउने नीति तथा कार्यक्रममा समावेश गरेको छ । कुपोषणबाट अतिप्रभावित बालबालिकाको स्वास्थ्यमा ध्यान केन्द्रित भएर आधारभूत विद्यालयमा स्वास्थ्य तथा पोषण कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ । त्यस्तै पाठेघर खसेका तथा भिया रिएक्टिभ महिलाहरूको निःशुल्क उपचार तथा शल्यक्रिया गर्ने योजना ल्याएको छ ।
विद्यालय भर्नादर शतप्रतिशत पु¥याउन विशेष शैक्षिक प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने, परीक्षालाई मर्यादित बनाउन फरक विद्यालयको शिक्षकलाई केन्द्राध्यक्ष तोकेर गाउँपालिकास्तरीय परीक्षा सञ्चालन गर्ने र निजी शिक्षक नियुक्ति बन्द गर्ने योजना छ । स्थानीय मातृभाषाको पठनपाठनलाई निरन्तरता, फुङलिङस्थित बाल सुवोधनी संस्कृत माध्यमिक विद्यालयमा हाइड्रो इन्जिनियरिङ अध्ययनका लागि एक छात्र र एक छात्रालाई छात्रवृत्तिको व्यवस्थासमेत गरेको छ । अलैंची र बङ्गुर पकेट, निःशुल्क बीउबीजन वितरण कार्यक्रम, कृषि संकलन केन्द्र निर्माण, पशुहरूको नश्लसुधार र गोठ सुधारजस्ता कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
मैवाखोला गाउँपालिकासँग समन्वय गरी मेरिङ्देन झरनाको सिमाना यकिन गर्ने, सुर्मा–देवलडाँडा–कागोने मयुर संरक्षण क्षेत्रको निरन्तरता दिई जैविक पर्यटन प्रवद्र्धन गर्ने, खाम्लुङ स्वास्थ्य चौकीमा ५ शैय्याको अस्पताल निर्माण सुरु गर्ने, उपाध्यक्ष जस्तापाता कार्यक्रम सञ्चालन गर्ने र जातीय भेदभाव तथा छुवाछुतमुक्त गाउँपालिका घोषणा गर्ने योजना रहेको छ ।
जनप्रतिनिधिका ५ वर्ष नामक स्मारिका प्रकाशन, गत फागुन १८ गते भएको आगलागीबाट क्षति पुगेको वडा नं ३ स्थित दोभान बजारलाई नयाँ नमुना दोभान बजार क्षेत्र घोषणा गर्ने कार्यक्रम तय गरेको छ । गाउँसभाका सदस्यहरूले नीति तथा कार्यक्रममा उठाएका प्रश्नको गाउँपालिका प्रमुख गणेशबहादुर चोङवाङले जवाफ दिए । अध्यक्ष चोङवाङले भने, “नीति तथा कार्यक्रमसँगै बजेट व्यवस्थापन गरेका छौं । अब सफलतापूर्वक कार्यान्वयन गर्न सक्नुपर्छ ।”