Logo

ललितपुरमा ज्येष्ठ नागरिकलाई कोभिसिल्डको दोस्रो खोप

ललितपुर महानगरपालिकाले ७७ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाएको छ ।
ललितपुर महानगरपालिकाले यसअघि कोभिसिल्ड खोपको पहिलो मात्रा लगाइसकेका ७७ वर्षमाथिका महानगरका स्थायी बासिन्दा ज्येष्ठ नागरिकलाई बुधबार कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाएको हो ।

खोप कार्यक्रम बुधबार एक दिनमात्रै सञ्चालन भएको महानगरले जनाएको छ । महानगरपालिकाभित्र विभिन्न आठवटा खोप केन्द्र सञ्चालन गरेर खोप लगाइएको थियो ।
खोप लगाउन आउने वृद्धवृद्धाले भने महानगरपालिकाको व्यवस्थापन प्रति असन्तुष्टि जनाएका छन् । सरकारले हुलमुलमा बस्नु नहुने बताएको भए पनि खोप केन्द्रमा भीडभाड बढी भएको र व्यवस्थित नभएको भन्दै पाटन हाइस्कुल खोप केन्द्रमा आएका जोगरत्न बज्राचार्यले असन्तुष्टि जनाए ।


देवेन्द्र राज शर्माले खोप केन्द्रमा वृद्धवृद्धालाई व्यवस्थित रूपले नराखिएको बताए । उनले प्रत्येक वडाले आ–आफ्नो वडामा अथवा वडाले व्यवस्था गरको स्थानमा खोप लगाएको भए दुःख कम हुने बताए । व्यवस्थित तरिकाले खोप केन्द्र सञ्चालन नभएको उनको टिप्पणी छ ।
कोभिसिल्ड खोपको दोस्रो मात्रा महानगरभित्रका करिब २४ सय ज्येष्ठ नागरिकलाई लगाइने महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्