विश्व व्यापार संगठनबाट हुने सम्झौता कार्यान्वयन हुन वर्षौं लाग्ने मात्र नभई विश्व व्यापार संगठनले निश्चित क्षेत्रविशेषको आवश्यकता सम्बोधन गर्न सक्दैन ।
स्वतन्त्र व्यापार सम्झौताको चरण र उठाउन सकिने लाभ

जहाँसम्म स्वतन्त्र व्यापार एवं ट्रेड ब्लक के हो भन्ने सवाल छ, वस्तु सेवा र उत्पादनका साधनहरू स्वतन्त्रपूर्वक आवागमन उद्देश्यका साथ निश्चित भौगोलिक क्षेत्रमा रहेका सदस्य मुलुकहरूबीचको सम्झौता नै स्वतन्त्र व्यापार हो । स्वतन्त्र व्यापार क्षेत्रका सदस्य मुलुकहरूको भन्सार तथा गैरभन्सार अवरोधहरू अन्त्य गर्छन् । सम्झौताको सुरुवाती चरणमा भन्सार दर शून्य पार्न नसक्ने अवस्था रहेमा न्यून गर्छन् । एउटा सदस्य मुलुकले अर्को सदस्य मुुलुकबाट गर्ने आयातमा भन्सार लगाउँदैन । यसका अतिरिक्त कोटालगायत सबै खाले गैरभन्सार अवरोध अन्त्य गर्ने प्रयत्न गरिन्छ । यी प्रावधानहरू स्वीकार गर्ने राज्यहरूको समूहलाई नै ट्रेड ब्लकको संज्ञा दिइन्छ ।
जहाँसम्म स्वतन्त्र व्यापारको इतिहास छ, आजभन्दा २ सय वर्षपूर्व बेलायतबाट स्वतन्त्र व्यापार सुरुवात भएको पाइन्छ । सन् १९४८ ताका स्वतन्त्र व्यापारलाई विशेष बल मिल्ने गरी विश्वका २३ मुलुकहरूले भन्सार तथा व्यापारसम्बन्धी सामान्य सम्झौता (ग्याट) गरे । त्यस्तै १९५० को दशकमा क्षेत्रगत रूपमा स्वतन्त्र व्यापार प्रवद्र्धन हुने गरी क्षेत्रीय सम्झौताहरूको थालनी हुन पुग्यो । त्यसैको परिणमस्वरूप ईयू, आसियान, सार्क, नाफ्टा अस्तित्वमा आए । अर्कातर्फ ग्याटमा आफ्नै सीमाहरू थिए । त्यसैले स्वतन्त्र व्यापारलाई अझ फराकिलो र प्रभावकारी तुल्याउन ग्याटको उत्तराधिकारी संस्थाका रूपमा सन् १९९५ मा विश्व व्यापार संगठन (डब्लूटीओ) अस्तित्वमा आयो ।
जहाँसम्म क्षेत्रीय स्वतन्त्र व्यापार सम्झौताको आवश्यकताको सवाल छ, विश्व व्यापार संगठनबाट हुने सम्झौता कार्यान्वयन हुन वर्षौं लाग्ने मात्र नभई विश्व व्यापार संगठनले निश्चित क्षेत्रविशेषको आवश्यकता सम्बोधन गर्न सक्दैन । यसै कारण क्षेत्रीय स्वतन्त्र व्यापार सम्झौता आवश्यक महसुस गरिएको हो । त्यस्तै क्षेत्रीय एकत्व निर्माण गर्नु, आर्थिक परनिर्भरता प्रवद्र्धन गर्नु, सामाजिक तथा सांस्कृतिक विकास गर्नु, उत्पादनका साधनहरूको क्षेत्रगत अधिकतम उपयोग गर्नु, क्षेत्रगत व्यापार अवरोध अन्त्य गरी व्यापार उदार बनाउनु आदि क्षेत्रीय आर्थिक संगठन स्थापना गर्नुका प्रमुख उद्देश्यहरू हुन् ।
स्वतन्त्र व्यापारका चरणहरू
१. सौबिध्य व्यापार सम्झौता : सौबिध्य व्यापार सम्झौता स्वतन्त्र व्यापारको प्रथम चरण हो । यसलाई ट्रेडिङ ब्लकको संज्ञा पनि दिइन्छ । सौबिध्य व्यापार सम्झौताअन्तर्गत सदस्य मुलुकहरूले वस्तु तथा सेवा आयात–निर्यात खुला गरिन्छ । सदस्य मुलुकले सक्दो धेरै वस्तुहरूको भन्सार महसुल दर कटौती गर्छन् । तथापि सबै वस्तुको भन्सार शून्य भने पारिँदैन । सदस्य मुलुकबीचको व्यापारमा रहेका अवरोध कम गरिन्छ, तर अन्त्य गरिँदैन । सार्क, युरोपीय युनियन, आसियान, नाफ्टा यसैका उदाहरणहरू हुन् ।
२. स्वतन्त्र व्यापार क्षेत्र : स्वतन्त्र व्यापार क्षेत्र स्वतन्त्र व्यापारको दोस्रो चरण हो । स्वतन्त्र व्यापार क्षेत्रभित्र भन्सार महसुल पूर्णतया शून्य गरिन्छ । ग्रेस अवधिका भने भन्सार महसुल दर शून्यमा झार्न नसकिएका सामानहरू नकारात्मक सूचीअन्तर्गत राख्न भने सकिन्छ । स्वतन्त्र व्यापार क्षेत्रभित्र व्यापारमा रहेका सबै खाले अवरोध अन्त्य गरिन्छ । उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा), युरोपीय स्वतन्त्र व्यापार संगठन (युरोपीयन फ्री ट्रेड एसोसिएसन-इफ्टा-नर्वे, आइसल्यान्ड, स्वीजरल्यान्ड, लेचिस्टाइन) स्वतन्त्र व्यापारका उदाहरणहरू हुन् ।
तथापि सदस्य मुलुकले अर्को कुनै मुलुकसँग स्वतन्त्र व्यापार सम्झौता भने गर्न सक्छ । उदाहरणार्थ भारत साफ्टा सदस्य मुलुक भईकन पनि १० वटा मुलुकहरूसँग स्वतन्त्र व्यापार सम्झौता (एफटीए) र १७ वटा मुलुकसँग सौबिध्य व्यापार सम्झौता (पीटीए) गरेको छ । स्वतन्त्र व्यापार सम्झौता गरेका मुलुकहरूले गैरसदस्य मुलुकउपर भने फरक भन्सार दर लगाउन कुनै बाधा पर्दैन । सार्क, युरोपीय युनियन, नाफ्टामा स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमा ल्याएका छन् ।
३. भन्सार संघ : भन्सार संघ स्वतन्त्र व्यापारको तेस्रो चरण हो । भन्सार संघअन्तर्गत वस्तु तथा सेवा वस्तु तथा सेवा व्यापारका साझा भन्सार नियम, साझा व्यापार कानुन, साझा मार्गनिर्देशिका बनाइन्छ । भन्सार संघअन्तर्गत गैरसदस्य मुलुकसँगको व्यापारमा फरक–फरक भन्सार दर तय गर्न पाइँदैन; अर्थात् गैरसदस्य मुलुकसँग साझा व्यापार नीति अवलम्बन गरिन्छ, जुन व्यापार सम्झौता (ट्रेड ब्याक्ट) मार्फत तय गरिन्छ । सबै सदस्य मुलुकहरूले भन्सार संघका सदस्यबाहेकका मुलुकहरूसँगको व्यापारमा उही वस्तुका लागि समान दरमा भन्सार महसुल लगाउनुपर्छ । अहिलेसम्म युरोपीय युनियनमा मात्र भन्सार संघ कार्यान्वयनमा ल्याइएको छ । नाफ्टा, सार्क, आसियानलगायतका क्षेत्रीय संगठनहरूले भन्सार संघ लागू गर्ने बताए तापनि कार्यान्वयन गर्न सकेका छैनन् ।
४. साझा बजार : साझा बजार स्वतन्त्र व्यापारको चौथो चरण हो । साझा बजारमा भन्सार संघमा उपलब्ध सबै खाले व्यापार स्वतन्त्रता रहन्छ । यस चरणमा सदस्य मुलुकहरूबीच श्रम, पुँजी, प्रविधि आवागमनलाई पूर्णतया खुला गरिन्छ; अर्थात् सदस्य मुलुकबीच व्यापार अवरोधको कुनै गुन्जाइस रहँदैन । साझा बजार वास्तवमै एकीकृत चरित्रको हुन्छ ।
सदस्य मुलुकहरूले गैरसदस्य मुलुकउपर साझा आर्थिक नीति अवलम्ब गर्छन् । गैरसदस्य मुलुकहरूलाई समान भन्सार दर तय गरिन्छ । युरोपीय युनियनले युरोपीय युनियन कमन मार्केट कार्यान्वयनमा ल्याइएको छ । आसियानले सन् २०१५ सम्ममा साझा बजार कार्यान्वयनमा ल्याउने कुरा गरेको भए तापनि अझै कार्यान्वयमा आएको ल्याउन सकेको छैन । नाफ्टा र सार्कजस्ता क्षेत्रीय संगठनहरूले साझा बजारको सन्दर्भमा कुनै ठोस सोच तय गरेका छैनन् । युरोपीय युनियनले यो चरण पार गरिसकेको हो ।
५. आर्थिक संघ : आर्थिक संघ स्वतन्त्र व्यापारको पाँचौं चरण हो । आर्थिक संघमा साझा बजारमा उपलब्ध कुनै पनि व्यापार स्वतन्त्रता हनन गरिँदैन । सदस्य मुलुकहरूले नीतिगत एकत्व कायम गर्छन् । खासगरी साझा वित्तीय नीति, साझा मौद्रिक नीति, साझा मुद्रा, साझा कर प्रणाली, साझा बजेट नीति, साझा संसद्, साझा न्यायालय, साझा भिसा अगाडि सारिन्छ । युरोपेली युनियनले आर्थिक संघको अवधारण कार्यान्वयनमा ल्याइसकेको छ । आसियान साझा बजार अवधारणा कार्यान्वयनमा ल्याउन नसकेकाले आर्थिक संघ उसका लागि पनि टाढाकै विषय बनेको छ । नाफ्टा र सार्कले कुनै सोच बनाएका छैनन् ।
६. राजनीतिका युनियन : राजनीतिक युनियन स्वतन्त्र व्यापारको छैटौं चरण हो । सदस्य मुलुकहरूले राजनीतिक रूपमा समेत एकत्व कायम गर्ने प्रयास गर्छन्, जहाँ विश्वमा मान्यता प्राप्त हुने गरी एक संयुक्त सरकार बनाइन्छ । अझ भन्नुपर्दा एक, दुई वा दुईभन्दा बढी मुलुकहरूले एकआपसको अस्तित्व अन्त्य गरी साझा सरकार निर्माण गर्छन् । भलै विश्वमा अहिलेसम्म कुनै पनि क्षेत्रीय संगठन यस चरणमा पुग्न सकेका भने छैनन् । यसपूर्वका सबै चरणहरू पार गरेको युरोपीय युनियनले भने चाहेमा राजनीतिक युनियन निर्माण गर्न सक्छ । तथापि युरोपीय युनियन पनि राजनीतिक युनियन निर्माण गर्न त्यति आतुर देखिएको छैन ।
उठाउन सकिने लाभ
जहाँसम्म स्वतन्त्र व्यापार सम्झौतावाट केकस्ता लाभहरू प्राप्त हुन सक्छ भन्ने सवाल छ, कुनै वस्तुको तुलनात्मक लाभ कुनै निश्चित क्षेत्र वा मुलुकमा अधिक हुन सक्छ । स्वतन्त्र व्यापारको सिद्धान्त अवलम्बन गर्ने मुलुकले तुलनात्मक लाभ अधिक रहेको वस्तु उत्पादनमा जोड दिन सक्छ । स्वदेशमा उत्पादन गर्दा महँगो पर्ने वस्तु तथा सेवा आयात गर्न सक्छ । यसरी स्वतन्त्र व्यापारअन्तर्गत वस्तु तथा सेवाको विशिष्टीकरणमा मद्दत बल पुग्छ । वस्तु विशिष्टीकरण हुँदा स्रोतसाधनको स्वाभाविकै रूपमा उच्चतम उपयोग हुन्छ । अर्को शब्दमा भन्नुपर्दा स्वतन्त्र व्यापार प्रवद्र्र्धनको माध्यमबाट सदस्य राष्ट्रहरूबीच स्वच्छ प्रतिस्पर्धाको वातावरण पैदा हुन जान्छ । गैर तथा गैर भन्सार अवरोधहरू निराकरण हुँदा निर्यात हुने वस्तुको लागत प्रतिस्पर्धी हुन जान्छ । तुलनात्मक लाभको वस्तु उत्पादन तथा बजारीकरण गरिने हुँदा वस्तु विशिष्टीकरण हुन जान्छ । क्षेत्रीय यातायात सञ्जालमा सहकार्य हुँदा क्षेत्रीय व्यापार सहज हुन जान्छ । पुँजी, प्रविधि, जनशक्ति आवागमन रोकटोक नहुँदा अन्तरक्षेत्रीय लगानी र प्रविधि हस्तान्तरणमा बल मिल्छ । लगानीमा विभेद नगरिने हुँदा बाह्य लगानी बढावा हुन जान्छ । पुँजी, प्रविधि र औद्योगीकरणले बढावा पाउँदा व्यापार व्यवसायको दायरा फराकिलो हुनुका साथै रोजगारीका अवसरहरू पैदा हुन्छ । प्रतिस्र्धाका कारण गुणस्तरीय वस्तु उपयुक्त मूल्यमा उपभोक्ताले प्राप्त गर्छन् । स्रोतसाधनको उच्चतम उपयोग हुने अवसर जुट्छ । बहुर्राष्ट्रिय कम्पनीको लगानी सम्भावना वृद्धि हुन्छ । सदस्य मुलुकहरूले व्यापार व्यवसायका लागि विशाल थलो प्राप्त गर्छन् । अन्ततोगत्वा आर्थिक वृद्धिमा मद्दत मिल्छ । उदाहरणार्थ साफ्टाअन्तर्गत ८ मुलुकहरूबीच, आसियानअन्तर्गत ११ मुलुकहरूबीच, ईयूअन्तर्गत २७ मुलुकहरूबीच र विश्व व्यापार संगठनअन्तर्गत १ सय ६४ मुलुकबीच व्यापार, व्यवसाय र लगानी स्वतन्त्रता प्राप्त भएको छ ।
स्वतन्त्र व्यापारको पछिल्लो विश्व अवस्था
ईयूले अन्तरक्षेत्रीय स्वतन्त्र व्यापार प्रवद्र्धनका लागि सबै औजारहरू उपयोग गरेको छ । सन् १९९९ पर्यन्त १९ मुलुकका करिब ३४ करोड युरोपीयन साझा मुद्रा ‘युरो’ मा रमाइरहेका छन् । ईयूका २६ मुलुकहरूमा साझा भिसा प्रणाली छ । यसैले ईयू विश्वकै ठूलो एकल बजार बनेको हो । एपेक (एसिया प्यासेफिक इकोनोमिक कर्पोरेसन) स्वतन्त्र व्यापारअन्तर्गत व्यापार, प्रविधि र आर्थिक प्रणालीमा इन्टिग्रेसन भएको छ । नाफ्टाअन्तर्गत अमेरिका, क्यानडा, मेक्सिकोले कृषि तथा उत्पादनमूलक वस्तुहरूमा रहेको व्यापार तथा भन्सारसम्बन्धी अवरोधहरू हटाइसकेका छन् । आसियान स्वतन्त्र व्यापार क्षेत्रमा भन्सार महसुल हटाउनासाथ गैरभन्सार अवरोधहरू स्वतः हट्ने प्रावधान छ । व्यापार, लगानी, प्रविधि, यातायात, सञ्चार, ऊर्जा, पर्यटन, मत्स्य आदि क्षेत्रमा अन्तरक्षेत्रीय व्यापार खुला छ । पूर्वी एसिया अर्थात् आसियानका सदस्य मुलुक थाइल्यान्ड, चीन, भियतनाम, कम्बोडिया, लाओसले स्वतन्त्र व्यापारबाट मनग्य लाभ लिइरहेका छन् । स्वतन्त्र व्यापारका माध्यमबाट चीनले प्रत्यक्ष वैदेशिक लगानी मनग्य भित्र्यासकेको छ । यस दौडमा दक्षिण एसिया निकै पछाडि छ ।
तर साफ्टाका प्रमुख अर्थतन्त्र भारत र पाकिस्तानबीच मित्रवत्भन्दा द्वन्द्वात्मक सम्बन्ध चुलिएको छ । काश्मीरलाई लिएर भारत र पाकिस्तान वर्र्षौैंदेखि लडिरहेका छन् । जबकि काश्मीरको समस्या समाधान नभएसम्म क्षेत्रीय शान्ति असम्भव छ भन्ने कुरा इतिहासले पुष्टि गरिसकेको छ । दक्षिण एसियाली मुलुकहरूउपर भारतले हैकमवादी प्रवृत्ति लाद्दो छ । सबैभन्दा शक्तिशाली अर्थतन्त्र भारत सँग बंगलादेश, नेपाल, श्रीलंकालगायतका मुलुकहरूको सीमा, जल, पारवहन क्षेत्रमा चिसोपन छ । त्यसैले व्यापार उदारीकरणको दुई दशक व्यतीत भइसक्दा पनि क्षेत्रीय अर्थतन्त्रले काँचुली फेर्न नसकेको हो ।
यसर्थ स्वतन्त्र व्यापार प्रवद्र्धनका लागि सदस्य मुलुकहरूले भन्सार महसुल चरणबद्ध रूपमा कटौती गर्नुपर्छ । भन्सार, गैरभन्सार वा यस्तै कुनै पनि अवरोध अन्त्य गर्ने नीति अख्तियारी गर्नुपर्छ । नकारात्मक वा संवेदनशील वस्तुको सूची अत्यन्त छोटो तुल्याउनुपर्छ । सदस्य राष्ट्रहरूबीच वस्तु, सेवा, श्रम, पुँजी, प्रविधि कुनै रोकटोक रहनु हुँदैन । सदस्य मुलुकको वस्तुलाई घरेलु वस्तुसरह व्यवहार गरिएको हुनुपर्छ । सदस्य मुलुकहरूबीच आयात–निर्यातमा परिमाणात्मक बन्देज अन्त्य गरिएको हुनुपर्छ । उत्पत्तिको नियम अस्पष्ट होइन, सरल र पारदर्शी हुनुपर्छ । क्षेत्रीय रूपमा वायु, जल, सडक यातायात सञ्जाल निर्माण गर्नुपर्छ । मल्टिमोडल ट्रान्सपोर्ट सञ्चालन गरिनुपर्छ । क्षेत्रभर समान होलिडे अवलम्बन गरिनुपर्छ । एन्टिडम्पिङ र कट्राभेलिङ मिजर पारदर्शी बनाइनुपर्छ । अन्तरक्षेत्रीय खुला आकाश नीति अवलम्बन गरिनुपर्छ ।