मेगा बैंकको किसान कार्ड तथा कृषि कर्जा सुविधा

मेगा बैंक नेपालले किसानहरुलाई हिमशिखर एग्रोसँगको सहकार्यमा बैंकको आधुनिक प्रविधिमैत्री किसान कार्डसहित कृषि कर्जा उपलब्ध गराउन सम्झौता गरेकोे छ ।
मेगा बैंकको तर्फबाट माइक्रो एण्ड एग्रो फाइनान्सिङ्ग विभागका प्रमुख पुण्यप्रसाद खनिया र हिमशिखर एग्रोका प्रमुख कार्यकारी अधिकृत प्रकाशचन्द्र घिमिरेले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । हिमशिखर एग्रोसँगको सम्झौतापश्चात मेगा बैंकले ग्रामीण भेगका किसानलाई कृषि उत्पादनमा आवश्यक कृषि सामग्रीहरु तथा बीउबिजन खरिद गर्न कृषि कर्जा तथा मेगा किसान कार्ड प्रदान गर्ने जनाएको छ ।
मेगा बैंकका माइक्रो एण्ड एग्रो फाइनान्सिङ्ग विभागका प्रमुख खनियाले पहिलो चरणमा प्रदेश–१ का किसानलाई किसान कार्डसहितको कृषि कर्जा स्थानीय शाखाहरुमार्फत छिटोछरितो ढंगले प्रदान गर्न लागिएको बताए । प्रदेश–१ पछि क्रमशः देशभरका किसानलाई सेवा प्रदान गरिने उनले बताए ।
किसान कार्डमार्फत कृषकहरुले आफूलाई आवश्यक कृषि सामग्री, बीऊ, मल, किटनाशक औषधीलगायतका सामानहरु तोकिएको स्थान तथा पसलहरुबाट खरिद गर्न सक्नेछन् । मेगा किसान कार्ड मेगा बैंकले कृषकहरुका लागि प्रदान गरेको बैंकिङ बजारको पहिलो आधुनिक प्रविधिमैत्री सेवा हो, जसले किसानहरुलाई डिजिटल बैंकिङ्ग कारोवार गर्न सहज र सरल हुने विश्वास लिएको बैंकले जनाएको छ ।
हिमशिखर एग्रोका प्रमुख कार्यकारी अधिकृत घिमिरेले मेगा बैंकले कृषि कर्जालाई प्राथमिकताका साथ सर्वशुलभ रुपमा प्रदान गर्दै आएकाले मेगासँग सहकार्य गरिएको बताए ।
मेगा बैंकले अहिले आर एण्ड डी इनोभेटिभ सोलुशन र कर्मा ग्रुपसँग सहकार्य गरी कृषकहरुलाई मेगा किसान कार्डसहितको कृषि कर्जा प्रदान गर्दै आएको छ । भविष्यमा कृषि क्षेत्रसँग सम्बन्धित अन्य संघसंस्थाहरुसँग सहकार्य गर्दै आधुनिक प्रबिधिमैत्री मेगा किसान कार्ड सेवा देशभर नै उपलब्ध गराउने योजना रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।