वैकल्पिक श्रम गन्तव्यको पहल

कोरिया जानका लागि भाषा परीक्षा उत्तीर्ण गर्नुपर्छ भने जापान र इजरायलमा सीमित कोटाका भरमा छानिएका सरकारी एजेन्सीमार्फत मात्र जान पाउने व्यवस्था छ ।
नेपालले आफ्ना नागरिकलाई वैदेशिक रोजगारीका लागि खुला गरेको लामो समय बितिसक्दा पनि सीमित श्रम गन्तव्यहरूमा संकुचित हुनुपर्दा यसबाट जति लाभ प्राप्त गर्नुपर्ने थियो, त्यसबाट वञ्चित हुँदै गएको छ । चालू आर्थिक वर्षको पहिलो चार महिनामा वैदेशिक रोजगारीमा जानेहरूको संख्या गत वर्षको समान अवधिको तुलनामा ४१ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको समान अवधिमा १ लाख २४ हजार ५ सयले नयाँ श्रम स्वीकृति लिएको र ८२ हजार ६ सयले पुनः श्रम स्वीकृति लिई कुल २ लाख ७ हजार जना वैदेशिक रोजगारीमा गएकोमा यो वर्ष जम्मा ७३ हजार १ सय ५५ ले मात्र नयाँ श्रम स्वीकृति लिएका छन् भने ७४ हजार १ सय ४२ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । मुख्य रोजगारी गन्तव्य मलेसियामा नेपाली कामदार पठाउने विषयमा सरकारले लगाएको तत्कालीन रोक र कतार समस्याका कारण वैदेशिक रोजगारीमा जाने नेपाली घटेका हुन् । उपलब्ध विवरणलाई हेर्ने हो भने अहिले पनि गल्फ कोअपरेसन काउन्सिल (जीसीसी)का सदस्य राष्ट्रहरू नै मुख्य रोजगार गन्तव्यका रूपमा रहेका छन् । चालू आवको पहिलो चार महिनालाई समीक्षा गर्दा मुख्य रोजगार गन्तव्यमा कतार पहिलो (३६.८ प्रतिशत हिस्सा), संयुक्त अरब इमिरेट्स दोस्रो (२६.८ प्रतिशत), साउदी अरब तेस्रो (१३.३ प्रतिशत), कुबेत चौथो (७.१ प्रतिशत), मलेसिया पाँचौ (३.३ प्रतिशत) स्थानमा देखिन्छन्, गत वर्ष समान अवधिमा मलेसियाको हिस्सा ३२.६ प्रतिशतसहित पहिलो स्थानमा थियो । बहराइन, ओमानजस्ता अन्य गल्फ मुलुकहरू पनि बढी नेपाली जाने गन्तव्यमा पर्छन् भने विगतमा प्रतिबन्धित अफगानिस्तानमा समेत जाने नेपालीको संख्या उल्लेख्य छ ।
कतारले प्रदान गरेको निःशुल्क टिकट, निःशुल्क भिसा सुविधाकै कारण त्यहाँ जाने नेपालीहरूको संख्या उल्लेख्य दरमा बढेको हो देखिन्छ, यद्यपि क्षेत्रीय नाकाबन्दीका कारण धेरै कतारी कम्पनीहरू धमाधम बन्द हुने क्रम बढेकाले आउँदा दिनमा त्यहाँ जाने नेपालीको संख्या घट्न सक्छ । सन् २०२२ को विश्वकप आयोजक मुलुकका नाताले कतारले धमाधम विकास गरिरहेका पूर्वाधारका लागि चाहिने कामदार आपूर्ति गर्न उसले निःशुल्क भिसा, निःशुल्क टिकटको व्यवस्था प्रबद्र्धन गरेको हो, तर एमनेष्टी इन्टरनेसनलले पटक–पटक कतारमा काम गर्ने कामदारको न्यूनतम मानव अधिकार सुनिश्चित नभएको भन्ने खालका प्रतिवेदनहरू जारी गरेर कतारी श्रम गन्तव्यमाथि प्रश्न उब्जाइरहेको छ । त्यसैले उक्त गन्तव्यमाथि अब लामो समयसम्म नेपाली कामदार भर परिरहनुपर्ने अवस्था कम हुँदै गएको छ ।
यी मुख्य पाँच श्रम गन्तव्यहरूमा नेपाली श्रमिकले पाउने पारिश्रमिक थोरै हुँदै आएकाले लामो समयदेखि बढी पारिश्रमिक प्राप्त हुने वैकल्पिक गन्तव्यको खोजी गर्नुपर्ने माग उठ्दै आएको छ । हाल खुला गरिएका १ सय ११ मुलुकमध्ये अहिले दक्षिण कोरिया, जापान, इजरायल र लेबनान बढी आकर्षक गन्तव्यका रूपमा चिनिएका छन्, जहाँ अन्य गन्तव्यका तुलनामा पारिश्रमिक पनि बढी पाइन्छ । तर, यी गन्तव्यहरूमा जान सहज भने छैन, कोरिया जानका लागि भाषा परीक्षा उत्तीर्ण गर्नुपर्छ भने जापान र इजरायलमा सीमित कोटाका भरमा छानिएका सरकारी एजेन्सीमार्फत मात्र जान पाउने व्यवस्था छ । यस्तो अवस्थामा जापानले नेपाली कामदारहरूको माग बढाउने संकेत गर्नु सकारात्मक पक्ष हो । विगतमा जस्तो विकृति नआओस् भनेर बेलैमा जापान जाने कामदारहरूको सीप विकास तथा भाषा शिक्षाका अनिवार्य व्यवस्था गरिनु पर्छ भने श्रमिक नै लाने लैजाने अवधारणा अघि बढिसकेकाले श्रम सम्झौताको प्रक्रिया पनि सँगसँगै अगाडि बढाइनु जरुरी छ ।