Logo

खाने तेलको मूल्य घट्न थाल्यो


बजारमा खाने तेलको मूल्य लिटरमा १५ देखि २० रुपैयाँ घटेको छ ।
लामो समयदेखि बढ्दै गएको तेलको मूल्य अहिले आएर घट्न थालेको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको व्यवसायीको भनाइ छ ।
तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य घटेपछि बजारमा उद्योगीले समेत घटाउन थालेको उनीहरूले बताएका छन् ।
नेपाल वनस्पति घिउ उत्पादक संघका महासचिव अमित मोरले भटमास र सनफ्लावरको तेलको फ्याक्ट्री मूल्य लिटरमा १५ देखि २० रुपैयाँमा घटेको जानकारी दिए । “एक सातादेखि अन्तर्राष्ट्रिय बजारमा भटमासको १५ र सनफ्लावरको कच्चा पदार्थमा २० प्रतिशत मूल्य घटेको छ,” उनले भने, “उद्योगीले तेलमा अधिकतम खुद्रा मूल्य (एमआरपी) घटाएर पठाइसकेका छन् ।”
संघका अनुसार यसअघि प्रतिलिटर २ सय २५ रुपैयाँ रहेको भटमासको तेलको फ्याक्ट्री मूल्य घटेर २ सय १५ रुपैयाँमा झरेको छ । यस्तै यसअघि प्रतिलिटर २ सय ४५ रुपैयाँ रहेको सनफ्लावरको तेलको मूल्य २ सय २५ देखि २ सय ३० रुपैयाँमा झरेको छ ।”
उद्योगीले मूल्य घटाए पनि बजारमा अझै खुद्रा मूल्य घट्न नसकेको उपभोक्ताको गुनासो छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेर आएकाले सूर्यमुखी र भटमासको तेलमा उद्योगीले प्रतिकार्टु्न ५० रुपैयाँ घटाएका छन् ।
निषेधाज्ञाको अवधिमा बजारमा सबैभन्दा बढी मूल्यवृद्धि खाने तेलमा भएको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यवृद्धिको कारण देखाउँदै सातामै दुई पटकसम्म तेलको मूल्य बढाएकोमा हाल मूल्य केही घट्दा उपभोक्तालाई थोरै भए पनि राहत मिलेको छ ।
पहिले सूर्यमुखी र भटमासको तेल कार्टुनमा १ सय ५० रुपैयाँसम्म बढाएकोमा हाल प्रतिकार्टुन ५० रुपैयाँ घटेको उद्योगीको भनाइ छ । प्रतिकार्टुन २५ सय रहेको सूर्यमुखी तेल अहिले २४ सय ५० रुपैयाँ भएको छ । प्रतिकार्टुन २४ सय रहेको भटमासको तेल हाल प्रतिकार्टुन २३ सय ५० रुपैयाँ रहेको छ ।
उद्योगीले तेलमा मूल्य घटाए पनि खुद्रा व्यापारीसमक्ष घटेको मूल्य आइनसकेको खुद्रा व्यापारीले बताए । नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्रमान बज्राचार्यले उद्योगीले मूल्य घटाए पनि आफूकहाँ तेलको मूल्य घटेर नआएको बताए । “अहिलेसम्म पुरानै सामान आएको छ,” उनले भने, “मूल्य घटेको भए केही दिनमा बजारमा आउला ।”
वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका प्रवक्ता शिवराज सेढाईले निरन्तर रूपमा बजार अनुगमन गरेर मूल्य घट्न सफल भएको बताए । “हामीले तेल उद्योगको फ्याक्ट्रीमा गएर गहन रूपमा अध्ययन गरेर तेलको मूल्य घटिसकेको पाइएका छन्,” उनले भने, “उद्योगीले तेलको मूल्य घटाइसकेकाले खुद्रा व्यवसायीले सोहीअनुसार मूल्य नघटाए कारबाही गर्छौं ।”
अन्तर्राष्ट्रिय बजारमा कच्चा सोया तेल र कच्चा सूर्यमुखीको तेलमा एक हप्तामा प्रतिटन ३ सय डलर हाराहारीमा मूल्यमा ह्रास आएपछि नेपालका तेल उद्योगले मूल्य घटाएका हुन् । मुलुकमा सबैभन्दा धेरै भटमास र सनफ्लावर तेलको खपत धेरै हुने गर्छ ।
मुलुकमा आयात नहुँदा शतप्रतिशत बाहिरी मुलुकबाट आयात हुने गर्छ । संघका अनुसार मुलुकमा वार्षिक ३ लाख टन भटमास र सूर्यमुखी तेल खपत हुने गर्छ ।
तोरीको मूल्य नघटेका कारण हाल बजारमा तोरीको तेल प्रतिलिटर २ सय १५ रुपैयाँमा बिक्री भइरहेको छ । तोरीको उत्पादन पर्याप्त नहुँदा ९० प्रतिशत आयात हुने गर्छ ।

अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाइने
केन्द्रीय बजार अनुगमन समितिको बैठकले बजारमा अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउने निर्णय गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वको बसेको केन्द्रीय बजार अनुगमन समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले वर्षायामसँगै बाढीपहिरोलगायतका विपद्का कारण आपूर्ति व्यवस्थामा सिर्जना हुन सक्ने अवरोधलाई मध्यनजर गर्दै अत्यावश्यक वस्तुहरूको आपूर्ति व्यवस्थापन गर्ने निर्णय गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जानकारी दिएको छ ।
७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले निजी क्षेत्रसँग मौज्दात रहेको अत्यावश्यक खाद्य पदार्थ, औषधिलगायतका सामग्रीहरूको विवरण अद्यावधिक गर्ने तथा कुनै सामग्री अभाव हुन सक्ने देखिएमा समयमै आपूर्तिका लागि आवश्यक समन्वय गर्ने निर्णय गरेको विभागले जानकारी दिएको छ ।
यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट निषेधाज्ञा अवधिमा २० प्रतिशत छुटमा खाद्यान्न बिक्री–वितरण गर्दा दुर्गम जिल्लाहरूमा मौज्दात कम भएकोमा त्यस्ता ठाउँमा आवश्यक खाद्यान्न ढुवानी गर्ने तथा नेपाल आयल निगम, साल्ट ट्रेडिङ कर्पोरेसनलगायतका सम्बद्ध सबै सार्वजनिक संस्थानहरूले आ–आफ्नो तहबाट मातहतका डिपोहरूमा ढुवानी र भण्डारणको यथोचित व्यवस्था मिलाउने निर्णय भएको छ ।
सातै प्रदेश र ७ सय ५३ स्थानीय तहले आपूर्ति व्यवस्थाको जोखिम आकलन गरी आ–आफ्नो क्षेत्रका नागरिकहरूका लागि आवश्यक पर्ने उपभोग्य वस्तुहरूको ढुवानी र भण्डारणको यथोचित व्यवस्थापन, समन्वय र सहजीकरण गर्नेसमेत निर्णय भएको विभागले जानकारी गराएको छ ।
यस्तै निजी क्षेत्रका उत्पादक, वितरक, विक्रेता तथा सम्बद्ध छाता संगठनहरू (नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ समेत) र मातहतका स्थानीय संस्थाहरूले आपूर्ति व्यवस्थापनमा सम्बद्ध सरकारी नियकाहरूसँग समन्वय गरी आपूर्ति व्यवस्थालाई सूचारु गर्नेसमेत निर्णय भएको छ ।
यस्तै अत्यावश्यक वस्तुको उत्पादन, वितरण र ढुवानीमा प्रत्यक्ष संलग्न जनशक्तिलाई प्राथमिकतामा राखी कोभिडविरुद्वको खोप उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको छ ।
बाढीपहिरोका कारण सडक अवरोध भई आपूर्ति प्रणालीमा समस्या आउन नदिन तत्काल अवरोध हटाउने व्यवस्थाका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई अनुरोध गर्नेसमेत निर्णय भएको विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्