बजेट भाषणमा पर्यटन «

बजेट भाषणमा पर्यटन

तत्कालीन अर्थमन्त्री (हाल उपप्रधानमन्त्रीसमेत) विष्णु पौडेलले आर्थिक वर्ष २०७८-७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको वार्षिक बजेट प्रस्ततु गर्नुभएको थियो । सो बजेटमा १० खर्ब ४ अर्ब चालू खर्च मात्रै रहेको छ भने पुँजीगत खर्च ४ खर्ब ३४ अर्ब रहेको छ । पुँजीगत खर्चभन्दा चालू खर्च दोब्बरभन्दा पनि बढी (१० खर्ब ४ अर्ब चालू खर्च र ४ खर्ब ३४ अर्ब पुँजीगत खर्च) कसरी भयो ? सोबारेमा अर्थशास्त्री वा अर्थशास्त्रका ज्ञाता, विज्ञ अथवा अर्थविद्हरूले नै यथार्थ रूपमा बताउलान् !
स्मरणीय छ, गत आर्थिक वर्षमा पनि नेपाल सरकारका तत्कालीन अर्थ, सूचना, प्रविधि तथा सञ्चार प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता डा. युवराज खतिवडाले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७७-७८ को वार्षिक बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड विनियोजन गरिएको थियो । १४ खर्ब ७४ अर्ब ६४ करोड रकममध्ये ‘३ खर्ब ५२ अर्ब ९१ करोड मात्रै पुंजीगत खर्च हुनेछ’ भनी बजेटमा उल्लेख भएको थियो । त्यसमा ८ खर्ब ८९ अर्ब ६२ करोड आन्तरिक राजस्वबाट पूर्ति गर्ने लक्ष्य लिइएको थियो । त्यस्तै २ खर्ब ९९ अर्ब ५० करोड वैदेशिक ऋण सहायताबाट पूर्ति गर्ने र २ खर्ब २५ अर्ब आन्तरिक रूपमा ऋण लिने लक्ष्य लिइएको थियो भने ६० अर्ब ५२ करोड रुपैयाँ वैदेशिक सहायता (सम्भवतः अनुदान) बाट जुटाउने उल्लेख गरिएको थियो ।
तर, बजेटमा उल्लेख गरेअनुसार कुनै पनि लक्ष्यअनुसार बजेटले परिपूर्ति गरेन । फलतः अर्धवार्षिक समीक्षा अवधिमा लगभग ९ प्रतिशत (८.९१) ले घटाएर १३ खर्ब ४४ अर्ब ६८ करोडमा झारेको वा भनौं संशोधन गरेको थियो-छ । (स्रोत : नयाँ पत्रिका दैनिक, १५ जेठ ।)
गत वर्ष व्यवहारमा नआए तापनि बजेट भाषणमा प्रस्तुत गरिएको १४ खर्ब ७४ अर्ब ६४ करोड बजेटबाट ‘नेपालको समग्र पर्यटन उद्योगलाई तत्काल उद्धार गर्न र दीर्घकालीन रूपमा राहत दिनका लागि ५० अर्बको विशेष प्याकेज ल्याइने कार्यक्रम’ पनि परेको थियो, जुन कुरोलाई तत्कालीन सरकारले पर्यटन र पर्यटन व्यवसायीहरूका लागि गरेको धेरै राम्रो काम मानिएको थियो । त्यसैले गत वर्ष सरकारले गरेको ‘५० अर्बको विशेष प्याकेज’लाई पर्यटन उद्योग–व्यवसायमा लागेका महानुभावहरूले हाई–हाई गरेका थिए ।
अर्थमन्त्री विष्णु पौडेलज्यूले पेस गर्नुभएको आर्थिक वर्ष २०७८-७९ को वार्षिक बजेटले नेपालको पर्यटन उद्योगको पुनःउत्थान गर्ला त ? यो लेखमा छोटो चर्चा गरिनेछ । स्मरणीय के छ भने यो वर्ष (आगामी वर्ष आर्थिक वर्ष २०७८-७९) को वार्षिक बजेटमा पनि नेपाल सरकाले पर्यटन उद्योग वा भनौं पर्यटन क्षेत्रको तालुकवाला पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयलाई अन्य मन्त्रालयहरूको तुलनामा धेरै कम (२५ औं नम्बर) जम्मा ७ अर्ब, १३ करोड ५० लाख विनियोजन गर्नुभएको छ ।
विदेशी पर्यटकहरूले नेपालको गन्तव्यसम्म आउनका लागि महत्वपूर्ण मानिएको हवाई यातायातका लागि सरकारले विगत १०-१२ वर्षदेखि चर्चामा ल्याएको र लगभग ८÷९ वर्षदेखि कार्यान्वयनमा ल्याउनका लागि निर्माण सुरु गरेको स्तरोन्नतिका लागि सुरु गरेको भैरहवास्थित गौतम बुद्घ क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सक्न र दोस्रो टर्मिनल भवन बनाउनका लागि विनियोजन गरेको ३ अर्ब ५३ करोड, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सक्न ८ अर्ब ५० करोड, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) बुटिक विमानस्थल ६ अर्ब ९५ करोड बजेट छुट्ट्याउनुभएको छ । तर, माथिका सबै विमानस्थलहरू (भैरवहास्थित गौतम बुद्घ क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमनस्थल १ सय ८० देखि १ सय १० सिटे मध्यम खालका विमानहरू मात्रै अवतरण र उडान गर्न योग्य विमानस्थल हुन् भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) अब बुटिक हुने भनिएको विमानस्थल) मा पनि एकैपटक दोहोरो रूपमा ठूला वा साना विमानहरू उड्न र अवतरण गर्न सक्दैनन् । त्यसैले लामो समयदेखि बारा जिल्लाको सिमरामा बन्ने भनिएको साँच्चैको अन्तर्राष्ट्रिय स्तरको सेवा–सुविधा सम्पन्न विमानस्थल बन्ने भनेको २० औं वर्षमा बल्लतल्ल विगत केही वर्षअघिदेखि सरकारको प्राथमिकता पर्ने गरेको थियो । तर, यस वर्षको वार्षिक बजेटमा बारा जिल्लाको सिमरामा बन्ने भनिएको जो साँच्चैको अन्तर्राष्ट्रिय स्तरको सेवासुविधा सम्पन्न विमानस्थल बन्ने भनिएको हो, सो विमानस्थलका लागि खासै बजेट छुट्ट्याइएको छैन ।

प्रतिक्रिया दिनुहोस्