कोरोना संकटमा वीरगन्जका होटल व्यवसायीको ५० करोड नोक्सान «

कोरोना संकटमा वीरगन्जका होटल व्यवसायीको ५० करोड नोक्सान



कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा दुई महिनामा पनि नहटेपछि वीरगन्जका होटल व्यवसाय संकटमा परेको छ ।

पहिलो चरणको कोरोना संक्रमणदेखि नै थला परेको होटल व्यवसाय दोश्रो चरणको कोरोना संक्रमण फैलिनु अघि लयमा फर्किने आशामा रहेका वीरगन्जका होटल व्यवसायीहरु दोश्रो लहरको कोरोना संक्रमणको चपेटमा पुनः पर्दा झण्डै ५० करोडको नोक्सानी भएको होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्ज पर्साका अध्यक्ष हरि पन्तले बताए । ठूला स्तरीय र साना गरी ७० देखि ७५ को हाराहारीमा होटलहरु रहेका छन् । ती सबै होटलको ग्राहकहरु भनेको भारतीय पर्यटकहरु नै अधिक छन् ।


तर, पहिलो लहरको कोरोना संक्रमणकै समयमा नाकाबन्दी भएर नखुलेपछि संकटमा परेको होटल व्यवसायको पुनरूत्थानका लागि कार्यक्रमहरु तय गर्दै नाका खोल्नका लागि तत्कालिन केन्द्रीय कोभिड संकट व्यावस्थापन केन्द्रका संयोजक ईश्वर पोखरेललाई समेत ज्ञापनपत्र बुझाएको थियो । तर, दोश्रो लहरको कोरोना संक्रमणले छोपेपछि पुनः नाका बन्द मात्रै नभई आन्तरिक निषेधाज्ञाले थप मारमा पारेको पन्तले बताए । कोरोना संक्रमणले सबैभन्दा धेरै प्रभावित बनेको पर्यटन क्षेत्रलाई सरकारले समेत आगामी बजेटमा खासै सन्तोषजनक बजेट नल्याएको उनको भनाइ छ ।

आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ल्याएको बजेटमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सरकारी कर्मचारीलाई पारिश्रमिकसहित १० दिनको भ्रमण काजको व्यवस्था र बाह्य पर्यटकहरुका लागि एक वर्षसम्म भिषा शुल्क निःशुल्क गर्ने व्यवस्था खासगरी प्रदेश–२ को लागि औचित्यहीन भएको उनको भनाइ छ ।


आन्तरिक पर्यटकहरु वीरगन्ज र प्रदेश–२ मा घुम्न आउने आकर्षक स्थलहरु खासै नभएको र विदेशी पर्यटकहरुमा पनि भारतीयबाहेक अन्यको प्रदेश–२ मा गन्तव्य खासै नरहेकाले यसले प्रदेशको पर्यटन प्रवद्र्धनमा उपलब्धि नहुने पन्तले बताए ।

कर छुट गर्न महानरपालिकासँग माग
होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जले कोरोना संक्रमणको महामारीमा लामो समयसम्म लगाएको निषेधाज्ञाले होटल तथा पर्यटन क्षेत्र धरासायी बनेको भन्दै यो निषेधाज्ञा अवधिभर स्थानीय तहले लिने सबै प्रकारको कर छुट गर्नुपर्ने माग गरेका छन् । संघले आइतबार वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीलाई ज्ञापपत्र बुझाउँदै वीरगन्ज महानगरक्षेत्र भित्र रहेका सम्पूर्ण आवासीय होटल तथा पार्टी प्यालेसले अर्जेको घरको घर, घर बहाल कर र होटल व्यवसायको वार्षिक व्यावसायिक कर तथा सरसफाई शुल्क एक आर्थिक वर्षका लागि छुट दिनुपर्ने माग गरेको छ ।


वीरगन्ज क्षेत्रमा सञ्चलन गरेका होटल तथा पर्यटन व्यवसायका सञ्चालक तथा होटल तथा पर्यटन क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई कोरोना संक्रमण विरुद्धको खोप चाँडो उपलब्ध गराउन पनि माग गरेको छ । ज्ञापनपत्र बुझेपछि महानगर प्रमुख सरावगीले व्यवसायीहरुको मागलाई सम्बोधन गर्ने आफ्नो प्रयास रहने आश्वासन दिए । उनले व्यवसाय कर छुट दिन खासै समस्या नभएपनि सरसफाई कर र घर बहाल करमा भने कानूनी जटिलता रहेकाले यस विषयमा कार्यपालिकामा प्रस्ताव पेश गर्ने तथा नगरसभाबाट समस्या समाधानको खोजी गरिने आश्वासन दिए ।
व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई विस्थापित गर्ने मनसाय महानगरको नरहेको बताउँदै उनले व्यवासय संरक्षणका लागि स्थानीय तहको हैसियतले गर्न सक्ने सहयोगको प्रयास रहने बताए ।

प्रतिक्रिया दिनुहोस्