कार्यकक्षबाटै नगदसहित सहायक वन अधिकृत पक्राउ

नीलकण्ठ सवडिभिजन वन कार्यालय धादिङका प्रमुख कृष्णप्रसाद पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नगद ४० हजारसहित आइतबार कार्यकक्षबाटै सहायक वन अधिकृत पौडेललाई पक्राउ गरेको हो ।
आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद रिसालका अनुसार उजुरी निवेदनको आधारमा स्ट्रिल अपरेसनमा कार्यालय प्रमुख पौडेल रङ्गेहात पक्राउ गरिएको हो । ‘दुई साता अघि फर्निचर उद्योगमा चिरानका लागि ल्याएको काठ अनुसन्धान गर्न कागजात माग गरिएको रहेछ,’ प्रवक्ता रिसालले भने, ‘त्यही मुद्दा मिलाउन भन्दै लिएको ४० हजार नगदसहित पक्राउ गरिएको हो ।’
पक्राउ परेका कार्यालय प्रमुख पौडेललाई थप अनुसन्धान गरी भ्रष्टाचार निवारण ऐनबमोजिम कारबाही हुने आयोगका प्रवक्ता रिसालले जानकारी दिए । पक्राउ परेका पौडेलले गत कात्तिकदेखि नीलकण्ठ सवडिभिजन वन कार्यालय धादिङका प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका हुन् ।