एनआईसी एशिया म्युचुअल फण्डको बिक्री खुला «

एनआईसी एशिया म्युचुअल फण्डको बिक्री खुला

एनआईसी एशिया क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको एनआईसी एशिया ग्रोथ फण्ड माघ २ गतेदेखि बिक्री खुला हुने कम्पनीले जनाएको छ । औसतमा बैंकहरुले दिने निक्षेपको वार्षिक प्रतिफलभन्दा म्यूचुअल फण्डले उच्च प्रतिफल दिने विश्वासले सर्वसाधारणको म्यूचुअल फण्डप्रति आकर्षण बढ्दै गइरहेको छ ।
उक्त म्यूचुअल फण्डले औषत वार्षिक रूपमा न्यूनतम १६ प्रतिशतसम्म नगद लाभांश दिने अपेक्षा एनआईसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेलले बताए । साथै, म्यूचुअल फण्डको वार्षिक प्रतिफल पहिलो वर्ष १५.५७ तथा सातौं वर्षमा १६.१३ प्रतिशत दिने लक्ष्य लिएको पनि कम्पनीले जनाएको छ । लगानीबाट प्राप्त आम्दानीको आधारमा प्रतिफल वितरण गरिने हुँदा यसबाट प्राप्त हुने प्रतिफल उच्च हुनेमा क्यापिटल विश्वस्त रहेको जनाएको छ । साथै यस फण्डले आम्दानीको आधारमा आफ्ना इकाईधनीहरुलाई प्रत्येक वर्ष नगद लाभाँश वितरण गर्ने बताएको छ । एनआईसी एशिया क्यापिटल लिमिटेडले यो योजनाका इकाईहरु यही माघ २ गते मंगलबारदेखि बिक्री खुला गर्दैछ । उक्त फण्डको आकार १ अर्ब रुपैयाँको रहेको छ । जसमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाई विभिन्न संघसंस्था तथा व्यक्तिका लागि बिक्री गरिने कम्पनीले जनाएको छ । यो योजना छिटोमा माघ ८ गते तथा ढिलोमा माघ २१ गतेसम्म निष्काशन तथा बिक्री खुला हुनेछ । यो म्यूचुअल फण्डमा सहभागी हुन चाहने संघसंस्था तथा व्यक्तिले न्यूनतम १०० इकाईदेखि अधिकतम २० लाख इकाईसम्म खरिद गर्नका लागि आवेदन गर्न सक्नेछन् । उक्त इकाईहरु नेपाल स्टक एकस्चेन्जमा सूचीकरण गराई धितोपत्रको दोश्रो बजारमा खरिद बिक्री गर्ने व्यवस्था मिलाईने प्रमुख कार्यकारी अधिकृत ढुङ्गेलले बताए ।

प्रतिक्रिया दिनुहोस्