सामाजिक सुरक्षा कोषको विवाद «

सामाजिक सुरक्षा कोषको विवाद

सरकारले बहुसंख्यक कर्मचारी तथा मजदुरको हित रहने भन्दै २०७५ देखि सामाजिक सुरक्षा कोषको कार्यक्रम औपचारिक रूपमै सुरुवात ग-यो । कर्मचारी तथा मजदुरको हकहितको संरक्षण गर्ने, औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गर्ने सम्पूर्ण रोजगार तथा तिनीहरूका आश्रित सदस्यहरूलाई समान रूपमा सामाजिक सुरक्षा प्रदान गर्ने सरकारको गौरवान्वित लक्ष्यका रूपमा कार्यक्रमको सुरुवात गरियो । तर, बहुसंख्यक मजदुरवर्गको हितमा काम गर्न खोजेको संस्थाले सुरु गरेको सुरक्षा योजनाप्रति बहुसंख्यक मजदुरले नै अरुचि राख्नुपर्ने कारण के होलान् ?

योगदानको उपयोग
सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ बमोजिम कर्मचारी तथा मजदुरका नाममा विभिन्न प्रकारका चारवटा सुरक्षा योजना अघि सारेको छ । ती योजनाहरू हुन् : १. औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षासम्बन्धी योजना, २. दुर्घटना तथा असक्तता सुरक्षा योजना, ३. आश्रित परिवार सुरक्षा योजना र ४. वृद्ध अवस्था सुरक्षा योजना ।
माथि उल्लिखित योजना सञ्चालनका लागि हरेक महिना कर्मचारी तथा योगदानकर्ताबाट रोजगारदातामार्फत कर्मचारी तथा मजदुरको आधारभूत तलबमानको जम्मा ३१ प्रतिशत रकम सुरक्षा कोषमा मासिक रूपमा रकमान्तर हुने गर्छ । रोजगारदातामार्फत जम्मा हुने ३१ प्रतिशत रकममध्ये कर्मचारी तथा योगदानकर्ताको आधारभूत मासिक तलबबाट ११ प्रतिशत कट्टा गरी सो रकममा रोजगारदाताका तर्फबाट २० प्रतिशत रकम थप गरी सामाजिक सुरक्षा कोषमा जम्मा हुन्छ । यसरी कोषमा जम्मा हुने ३१ प्रतिशत रकमलाई कोषले बाँडफाँड गरी सामाजिक सुरक्षा योजना नं. १. औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षासम्बन्धी योजनाका लागि १ प्रतिशत, सामाजिक सुरक्षा योजना नं. २. दुर्घटना तथा अशक्तता सुरक्षा योजनाका लागि १.४ प्रतिशत, सामाजिक सुरक्षा योजना नं. ३. आश्रित परिवार सुरक्षा योजनाका लागि ०.२७ प्रतिशत र सामाजिक सुरक्षा योजना नं. ४. वृद्ध अवस्था सुरक्षा योजनाका लागि बाँकी २८.३३ प्रतिशत रकम प्रयोग गर्ने गर्छ भनिएको छ । कार्यविधिका अनुसार वृद्धअवस्था सुरक्षा योजनामा कोषले निवृृत्तिभरण योजना र अवकाश योजना अघि सारेको छ, जसअनुसार वृद्ध अवस्था सुरक्षा योजनामा कोषले प्रयोग गर्ने २८.३३ प्रतिशत रकममध्ये २० प्रतिशत रकम निवृत्तिभरण कोषमा र ८.३३ प्रतिशत रकम अवकाश कोषका लागि प्रयोग गर्नेछ भनिएको छ । यही बाँडफाँडका आधारमा कर्मचारीको सामाजिक सुरक्षाका लागि कोषले अन्य विभिन्न निकायसँग सहकार्य गरेर योगदानकर्तालाई वा योगदानकर्ताको मृत्यु भएको अवस्थामा आश्रित परिवारका सदस्यलाई सामाजिक सुरक्षाका लागि कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको हो ।

कोषबाट प्राप्त हुने लाभ
मासिक रूपमा सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्ने हरेक योगदानकर्ताले गरेको आफ्नो योगदानको रकमअनुसार समान रूपमा लाभ प्राप्त गर्न सक्छन् । कोषले तोकेबमोजिमको रकम जम्मा गर्ने योगदानकर्ता माथि उल्लेख गरिएका चारवटै सुविधा उपभोग गर्न योग्य हुन्छन् ।
कोषले सञ्चालन गरेको सामाजिक सुरक्षा योजना नं. १. औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षासम्बन्धी योजना र सामाजिक सुरक्षा योजना नं. २. दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबाट योगदानकर्ता बिरामी भई औषधोपचारमा खर्च हुने रकम तथा आंशिक वा पूर्र्ण रूपमा अशक्त भई रोजगारीको अन्त्य भएमा मासिक रूपमा निवृत्तिभरण पाई यी योजनाबापतको लाभ प्राप्त गर्न सक्छन्, जसअनुसार योगदानकर्ता बिरामी भई औषधोपचार गर्नुपर्ने भएमा वा अस्पतालमा भर्ना भई स्वास्थ्योपचार गराउनुपर्ने अवस्था भएमा कोषका तर्फबाट सामाजिक सुरक्षा योजना नं. १. औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षासम्बन्धी योजनामार्फत वित्तीय सहयोग प्राप्त गर्न सक्नेछन् भने कामको सिलसिलामा वा अन्य कुनै दुर्घटनाको कारणले अंगभंग भई आंशिक वा पूर्ण रूपमा अशक्त भएको अवस्थामा सामाजिक सुरक्षा योजना नं. २. दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत अशक्तताको मापनअनुसार आजीवन रूपमा कोषले तोकेबमोजिमको निवृत्तिभरण रकम भुक्तानी पाउन सक्नेछन् ।
यी दुवै योजनाको लाभ योगदानकर्ताले मात्र प्राप्त गर्न पाउँछन् अर्थात् यी दुवै योजनामा योगदानकर्ताबाहेक अन्य कुनै आश्रित परिवार सदस्यले लाभ प्राप्त गर्न पाउनेछैनन् । यसरी हेर्दा यी योजनाले अघि सारेका सामाजिक सुरक्षा कार्यक्रम हाल विभिन्न जीवन बिमा कम्पनीहरूले प्रवाह गर्ने बिमा लाभभन्दा खासै फरक छैनन् ।
सामाजिक सुरक्षा योजना नं. ३. आश्रित परिवार सुरक्षा योजनाले योगदानकर्ताको मृत्यु भएमा योगदानकर्ताको आश्रित परिवारका एक सदस्य, पति÷पत्नी वा आमा÷बाबु वा छोरा÷छोरी (एकभन्दा धेरै आश्रित सदस्य भएमा दामासाहीका हिसाबले) लाई योगदानकर्ताले भुक्तानी पाउँदै आएको अन्तिम आधारभूत तलबमानको ६० प्रतिशतसम्म रकम मासिक रूपमा योगदानकर्ताको आश्रित सदस्यलाई उपलब्ध गराउनेछ । साथै आश्रित छोराछोरीलाई २१ वर्ष उमेर पूरा नभएसम्म योगदानकर्ताको अन्तिम महिनाको आधारभूत तलबमानको ४० प्रतिशत शैक्षिक वृत्ति रकमसमेत उपलब्ध गराउनेछ ।
त्यस्तै सामाजिक सुरक्षा योजना नं. ४. वृद्ध अवस्था सुरक्षा योजनाबमोजिम योगदानकर्ता अवकाश उमेर अर्थात् ६० वर्ष पूरा भएपश्चात् योगदानकर्ताको निवृत्तिभरण कोषमा मासिक रूपमा जम्मा भएको २० प्रतिशत रकमको कुल रकमलाई १६० अंकले भाग गरी आउने प्रतिफल रकम योगदानकर्तालाई मासिक रूपमा आजीवन भुक्तानी गर्ने उल्लेख छ । त्यसैगरी अवकाश सुविधाबापत कोषमा योगदान गर्दा हरेक महिना जम्मा हुने ८.३३ प्रतिशत रकमको कुल रकमलाई निज योगदानकर्ता अवकाश भएपश्चात् वा रोजगारीको अन्त्य भएपश्चात् एकमुस्ट रूपमा भुक्तानी गरिनेछ भनिएको छ ।

असहमतिको मूल विषय
कोषमा आबद्ध हुने योगदानकर्ताले हरेक महिना ३१ प्रतिशतका दरले कोषमा रकमान्तरको व्यवस्था गर्नुपर्नेछ । योगदानकर्ताको कुनै कारणले ६० वर्ष उमेर नपुग्दै रोजगारीको अन्त्य भएमा पनि सामाजिक सुरक्षा योजनाको लाभ लिनका लागि व्यक्तिगत रूपमै आफ्नो योगदान रकम कोषमा जम्मा गर्नुपर्नेछ । अन्यथा आंशिक रूपमा योगदान गरेका योगदानकर्ता सामाजिक सुरक्षा कोषले लक्षित गरेका योजनाका लाभ प्राप्त गर्न योग्य हुनेछैनन् र योगदानकर्ताको सुरक्षा योजना स्वतः निष्क्रिय हुन्छ ।
हाल कर्मचारी तथा मजदुरको प्रतिनिधित्व गर्ने संघसंस्थाहरूको माथि उल्लिखित योजना नं. १, २ र ३ मा सम्भवतः कुनै मुख्य विमति वा असहमति छैन । तर, सामाजिक सुरक्षा कोषले सञ्चालन गरेको योजना नं. ४. वृद्ध अवस्था सुरक्षा योजनाप्रति विशेष गरी बैंक तथा वित्तीय संस्थामा काम गर्ने अधिकांश कर्मचारी वा सम्भावित योगदानकर्ता तथा तिनीहरूको प्रतिनिधित्व गर्ने संघसंस्थाहरूको चित्त बुझ्न सकेको छैन ।
सामाजिक सुरक्षा कोषले कर्मचारी तथा योगदानकर्ताले जम्मा गर्नेे ३१ प्रतिशत रकममध्येको २८.३३ प्रतिशत रकम, अर्थात् मासिक योगदान रकमको झन्डै ९२ प्रतिशत रकम सामाजिक सुरक्षा कोषको सामाजिक सुरक्षा योजना नं. ४. वृद्ध अवस्था सुरक्षा योजनाका लागि प्रयोग गर्ने गर्छ । यो योजनाबमोजिम कोषमा योगदानकर्ताले जम्मा गर्ने २८.३३ प्रतिशत रकममध्ये २० प्रतिशत रकम निवृत्तिभरण कोषमा र ८.३३ प्रतिशत रकम अवकाश कोषमा जम्मा गरिदिन्छ । सोमध्ये मासिक रूपमा तलबमानको २० प्रतिशत जम्मा गरिने निवृत्तिभरण कोषको रकम कर्मचारीले तुरुन्तै प्रयोग गर्न पाउँदैनन् । निवृत्तिभरण कोषमा जम्मा भएको रकम योगदानकर्ताले अवधि पूरा नहुँदै उपभोग गर्न आवश्यक परेमा निजले योगदान गर्न सुरु गरेको तीन वर्ष पूरा भएपछि मात्र निजको निवृत्तिभरण कोषमा जम्मा भएको रकमको ८० प्रतिशत रकम सापटीका रूपमा उपभोग गर्न पाउनेछन् भनिएको छ । निवृत्तिभरण कोषको रकम योगदानकर्ता अवकाश उमेर अर्थात् ६० बर्ष पूरा भएपश्चात् मात्र योगदानकर्ताको खातामा जम्मा भएको कुल रकमलाई १६० अंकले भाग गरी मासिक रूपमा भुक्तानी गर्ने उल्लेख छ । यसको अर्थ ६० वर्ष उमेर पूरा भएपश्चात् योगदानकर्ताले आफ्नो निवृत्तिभरण कोषमा जम्मा भएको रकमको औसतमवा वार्षिक ७.५० प्रतिशतका दरले निवृत्तिभरण रकम प्राप्त गर्ने गर्छन्, जुन रकम खुला बजारमा ‘क’ वर्गका वाणिज्य बैंकहरूले मुद्दती खातामा प्रदान गर्ने औसत ब्याज रकम मात्र भन्दा पनि कम हो । (वार्षिक ७.५० प्रतिशत भनेको, १-१६० गुणा १०० गुणा १२)
अर्कातर्फ कोषले अवकाश कोषबापत जम्मा गर्ने ८.३३ प्रतिशत रकमको कुल रकम योगदानकर्ता अवकाश भएपश्चात् एकमुस्ट प्रदान गर्नेछ भनिएको छ । यसको अर्थ, अवकाश कोषमा मासिक रूपमा जम्मा हुने आभारभूत तलबको ८.३३ प्रतिशत रकम भनेको वित्तीय हिसाबले हेर्दा औसतमा एक वर्ष बराबर एक महिनाको तलबमान कोषमा जम्मा हुने हो ।
हाल धेरैजसो बैंक तथा वित्तीय संस्थाहरूले विद्यमान व्यवस्थाबमोजिम कर्मचारीले हरेक महिना खाइपाइ आएको कुल तलबमानको २० प्रतिशत रकमसम्म निवृत्तिभरण वा सञ्चय कोषमा जम्मा गरी कर्मचारी रोजगारीबाट अवकाश हुँदा वा रोजगारीको अन्त्य हुँदा एकमुस्ट रूपमा भुक्तानी गर्दै आएका छन् । त्यस्तै, कर्मचारी सेवानिवृत्त हुँदा उपदान वा अवकाश कोषबापत कर्मचारीले काम गरेको कुल सेवा अवधि वर्ष अंकको तीन गुणासम्मलाई (बैंकअनुसार नियम फरक छ) अन्तिम महिनामा खाइपाइ आएकोे कुल तलबमानले हिसाब गरी सोबराबरको रकम उपलब्ध गराउँदै आएका छन् ।
यसरी हेर्दा, सामाजिक सुुरक्षा कोषले अवकाश वा उपदानबापत भुक्तानी गर्ने रकम आधारभूत तलबमानको मासिक ८.३३ प्रतिशत रकम अर्थात् हरेक महिनामा प्राप्त गरेको आधारभूत तलबमानको हिसाबले मात्र निवृत्तिभरणको रकम गणना हुन्छ, जुन रकम विद्यमान व्यवस्थाभन्दा निकै कम हुन्छ ।

विद्यमान सञ्चय कोष तथा उपदान कोष र सामाजिक सुरक्षा कोषले प्रदान गर्ने अवकाश तथा उपदान कोषको अन्तर तालिका
लाभ योजना विद्यमान व्यवस्था सामाजिक सुरक्षा योजना व्यवस्था
सञ्चय कोष वा निवृत्तिभरण कोषमा जम्मा रकममा वृद्धि हुने प्रक्रिया दैनिक सञ्चित रकममा वार्षिक ८.५० प्रतिशतसम्म त्रैमासिक ब्याज भुक्तानी व्याजको प्रावधान छैन, कोषले गरेको लगानीबाट प्राप्त प्रतिफललाई दामासाही हिसाबले योगदानकर्ताले प्राप्त गर्ने ।
सञ्चय कोष वा निवृत्तिभरण कोषमा जम्मा रकम आंशिक रूपमा उपभोग गर्ने प्रक्रिया जुनसुकै समयमा सञ्चय कोषमा जम्मा रकमको ९० प्रतिशत सम्म रकम प्राप्त ब्याजमा थप ०.५० प्रतिशत ब्याजमा प्रयोग गर्न पाइने । योगदानकर्ताले योगदान गर्न सुरु गरेको तीन वर्षपछि मात्र ८० प्रतिशत सम्म रकम प्रयोग गर्न पाइने । ब्याजका बारेमा अस्पष्ट ।
सञ्चय कोष वा निवृत्तिभरण कोषमा जम्मा रकम भुक्तानी प्रक्रिया अवकाश भएपश्चात वा रोजगारीको अन्त्य भएपश्चात् ब्याजसमेतको सञ्चित कुल रकम एकमुस्ट भुक्तानी हुने । योगदानकर्ताको उमेर ६० वर्ष पूरा भएपश्चात् जम्मा भएको रकमलाई १६० अंकले भाग गर्दा आउने प्रतिफल मासिक रूपमा आजीवन भुक्तानी हुने ।

बीच अवधिमै रोजगारीको अन्त्य भएमा सञ्चय कोष वा निवृत्तिभरण कोषको रकम भुक्तानी प्रक्रिया रोजगारीको अन्त्य भएसँगै कोषमा जम्मा रकम एकमुस्ट भुक्तानी भई कर्मचारीको कोष खाता खारेज हुने । योगदानकर्ताले यदि ६० वर्ष उमेर नहुँदै रोजगारीको अन्त्य गर्न चाहेमा वा रोजगारदाताले व्यवसाय बन्द गरेमा वा कुनै पनि कारणले रोजगारीको अन्त्य भएमा योगदानकर्ताको आफ्नो उमेर ६० वर्ष पुगुन्जेलसम्म मासिक रूपमा व्यक्तिगत रूपमा योगदान गरिरहनुपर्ने ।

निवृत्तिभरणबापतको रकम जम्मा प्रक्रिया कर्मचारीको अन्तिम महिनाको कुल तलबमानलाई काम गरेको कुल अवधि वर्ष अंकको तीन गुणासम्म (बैंक अनुसार नियम फरक छ) । आधारभूत तलबमानको मासिक रूपमा ८.३३ प्रतिशत रकमको कुल योग रकम ।
निवृत्तिभरणबापतको जम्मा रकममा थप प्रतिफल पाउने प्रक्रिया छैन । कोषले गरेको लगानीबाट प्राप्त प्रतिफललाई दामासाही हिसाबले योगदानकर्ताले प्राप्त गर्ने ।

कानुनी प्रावधान
श्रम ऐन, २०७५ को दफा ३४ को उपदफा ३ मा कर्मचारीले हाल खाइपाइ आएको सेवा सुविधा घटाउन पाइनेछैन भनी कानुनी व्यवस्था गरिएको छ, तर यसबारेमा सामाजिक सुरक्षा कोषको ऐन तथा कार्यविधिमा कुनै पनि कुरा उल्लेख गरिएको छैन । यसरी हेर्दा सामाजिक सुरक्षा कोषले तोकेको भन्दा अधिक सेवा सुविधा प्राप्त भइरहेको हालको अवस्थामा सामाजिक सुरक्षा कोषमा आबद्ध भएपछि अवकाश कोषको रकम तथा निवृत्तिभरण कोषको रकमको गणना तथा लेखा हिसाबअनुसार सामाजिक सुरक्षा कोषमा हाल खाइपाइ आएको रकमभन्दा कम रकम जम्मा हुन्छ । सामाजिक सुरक्षा कोषका अनुसार बाँकी फरफारक परेको रकम सम्बन्धित संस्थामै जम्मा गर्ने व्यवस्था हुनेछ भन्ने तर्क छ । तर, उक्त रकमको लेखाजोखा, हिसाब, कर प्रणाली कस्तो हुने भन्ने कुरामा कोष मौन रहेको छ, जसका कारण हाल खाइपाइ आएको सेवा सुविधाको निरन्तरता हुन्छ भन्ने भनाइप्रति कर्मचारी तथा तिनीहरूका प्रतिनिधित्व संघ तथा संस्था विश्वस्त हुन सकेका छैनन् ।

सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिले प्रस्ट पार्न नसकेका केही विषय
सामाजिक सुरक्षा योजना कार्यविधि, २०७५ तथा योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली, २०७५ मा तल उल्लिखित विषयहरू प्रस्ट छैनन् ।
१. कार्यविधिबमोजिम योगदानकर्ताले समय अवधि पूरा नहुँदै वा अवकाश उमेर अर्थात् ६० वर्ष उमेर नपुग्दै रोजगारीको अन्त्य गरेमा वा रोजगारदाताले व्यवसाय बन्द गरेका कारणले रोजगारी नरहेमा पनि योगदानकर्ताले मासिक रूपमा योगदान रकम जम्मा गर्नुपर्नेछ । तर, योगदानकर्ताले अर्को रोजगारी नपाएमा वा कोषको कार्यविधिबमोजिम मासिक रूपमा जम्मा गर्नुपर्ने रकम जम्मा गर्न असमर्थ हुने अवस्था भएमा के हुन्छ ? साबिकमा योगदानकर्ताले कोषमा जम्मा गरेको निवृत्तभरण तथा अवकाश कोषको रकम के हुन्छ ? यस्तो अवस्थामा कोषले त्यस्ता योगदानकर्तालाई के सुविधा उपलब्ध गराउँछ ?
२. योगदानकर्ता पूर्ण रूपमा अशक्त भई सामाजिक सुरक्षा योजना नं. ३ बमोजिम दुर्घटना तथा अशक्तता सुरक्षा योजनाको लाभ उपभोग गरिरहेको योगदानकर्ताको निवृत्तिभरण रकम उपभोग गर्दा गर्दै मृत्यु भएमा आश्रित परिवारले कुन लाभ प्राप्त गर्छन् ?
३. कोषबाट सुविधा प्राप्त गर्न योग्य भई कुनै योगदानकर्ताको मृत्यु भएमा सो आश्रित परिवार सुरक्षा योजना बमोजिमको सुविधा रकम तत्काल आश्रित परिवार वा इच्छाइएको हकवाला व्यक्तिलाई उपलब्ध गराउने प्रावधान छ । तर, त्यस्तो आश्रित व्यक्ति कुनै रोजगारीमा रही आय आर्जन गरिरहेको भएमा उक्त सुविधाबाट वञ्चित हुनेछ र योगदानकर्ताले जम्मा गरेको निवृत्तिभरणको रकम फ्रिज हुनेछ । कोषको यस्तो कार्यविधिले कुनै योगदानकर्ताले भविष्यमा आफू वा आफ्नो सन्ततिको भविष्य सोचेर कोषमा जम्मा गरेको रकम योगदानकर्ताको आश्रित परिवारमा जीवन निर्वाह आर्जन भएकै कारणले योगदानकर्ताले मासिक रूपमा गरेको योगदान रकम कोषले फ्रिज गरिदिनु कुनै व्यक्तिको सम्पत्तिमाथिको मौलिक हक हननको विषय हँुदैन र ?
४. अवकाश कोषको रकम तथा निवृत्तभरण कोषको रकम योगदानकर्ताले एकमस्ट भुक्तानी लिन चाहेमा सो रकम भुक्तानी गर्ने कोषको कार्यविधि के हुन्छ ?
५. कोषले गरेको लगानीबाट प्राप्त मुनाफाको प्रतिफल योगदानकर्ताले पनि थप प्रतिफलका रूपमा दामासाही दरमा पाउने भनिएको छ, तर कोष घाटामा गई वा कोषको सञ्चालन खर्च र आम्दानी स्थिर बिन्दु भई मुनाफा वितरण गर्न योग्य नभएमा योगदानकर्ताले थप न्यूनतम प्रतिफल के पाउँछन् ?
६. सामाजिक सुरक्षा कोषको औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षासम्बन्धी योजनामार्फत योगदानकर्ताको मात्र वार्षिक अधिकतम १ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचारको रकम भुक्तानी हुन्छ । सामाजिक सुरक्षा कोषमार्फत योगदानकर्ताको पारिवारिक सदस्यको उपचार खर्च भुक्तानी हुने कुनै प्रावधान छैन । तर, अधिकांश योगदानकर्ताहरू सामाजिक सुरक्षा कोषले उपलब्ध गराउने स्वास्थ्योपचार सुविधाभन्दा थप सुविधाका साथ कुनै न कुनै रूपमा जीवन बिमा वा स्वास्थ्य बिमा योजनामा आबद्ध भएको सन्दर्भमा यदि कुनै योगदानकर्ताले कोषमार्फत औषधोपचार तथा स्वास्थ्य योजना उपभोग गर्न नचाहेमा निज आफूले व्यक्तिगत रूपमा गरेको बिमाको प्रिमियम शुल्कको निश्चित रकमसम्म शोधभर्ना गर्ने व्यवस्था हुन सम्भव हुन्छ कि हुँदैन ?
७. आश्रित परिवार सदस्य आमा र बाबु भई, आमा र बाबुले दामासाहीले सुविधा उपभोग गरिआएकोमा निश्चित समयपश्चात् बाबु वा आमामध्ये एकको मृत्यु भएमा जीवित एक बावु वा आमाले खाइपाइ आएको दामासाही सुविधा के हुन्छ, साथै सुरक्षा सुविधा उपभोग गर्दागर्दै निश्चित समयपछि आमाले दोस्रो विवाह गरेमा सुविधा पाउन योग्य हन्छ कि हुँदैन ?

८. योगदानकर्ताको मृत्युपश्चात् सामाजिक लाभ प्राप्त गर्न योग्य तत्काल आश्रित परिवार सदस्य र योगदानकर्ताले इच्छाइएको हकवाला व्यक्ति फरक–फरक हुन आएमा के हुन्छ ?
९. कार्यविधिको परिच्छेद ४ को आश्रित परिवार सुरक्षा योजनाबमोजिम कोषमा योगदान गर्दागर्दै कुनै योगदानकर्ताको मृत्यु भएमा आश्रित परिवार सदस्यले आजीवन भुक्तानी पाउनेछन् भनिएको छ । तर, कार्यविधिकै दफा २१ को उपदफा ‘ख’ बमोजिम कुनै योगदानकर्ताको सुविधा प्राप्त गर्ने उमेर नपुग्दै मृत्यु भएमा निजको हकवालालाई निजको सामाजिक सुरक्षा कोषमा जम्मा भएको कुल योगदान रकम एकमुस्ट रूपमा प्रदान गरिनेछ भनिएको छ । सुरक्षा योजनाबमोजिम योगदानकर्ताको मृत्यु भएमा एकमुस्ट रकम पाइने हो वा आश्रित परिवारले आजीवन निवृत्तिभरण रकम पाउँछन् ?
सामाजिक सुरक्षा कोषले यी विषयहरूलाई स्पष्ट पारिदिएमा कोषले लक्षित गरेका वर्गहरूको सहभागितामा वृद्धि हुन सक्ने अपेक्षा राख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्