श्रमिकको नयाँ तलब दिन सकिँदैन : हान «

श्रमिकको नयाँ तलब दिन सकिँदैन : हान

होटल संघ नेपालले सरकारले लागू गरेअनुरुप राजपत्रमा प्रकाशित गरेको श्रमिकहरुको नयाँ तलब कार्यान्वयन गर्न नसक्ने स्पष्ट पारेको छ ।
संघका अध्यक्ष सृजना राणा नेतृत्वको टोलीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विमलप्रसाद श्रीवास्तवलाई भेटेर कोरोना महामारी जारी रहेको अवस्थामा लामो समयदेखि होटल व्यवसाय सञ्चालनमा नरहेकाले सरकारले एकलौटी ढंगबाट श्रमिकहरुको तलब वृद्धि गरेको भन्दै कार्यान्वयन गर्न नसक्ने जनाएको हो ।
कोरोनाका कारण थला परेको पर्यटन व्यवसाय मध्येको होटल उद्योग यो अवस्थामा निर्धारण गरेको कानुन तथा नीति नियमअनुसार सञ्चालन गर्न नसकिने भन्दै संघले संक्रमणकालीन व्यवस्थामा होटल उद्योगलाई बचाइराख्न श्रमिकको तलब बढाउने निर्णय फिर्ता लिन आग्रह गरेको हो ।
“तोकिएको तलबमान समेत भुक्तान गर्न नसकिएको यो समयमा होटल संघ नेपाल र आधिकारिक ट्रेड युनियनबीच समझदारी भएअनुसार हस्ताक्षरकर्ता ट्रेड युनियनहरुबीच समेत छलफल भई मान्य भइसकेको अवस्था रहेको छ,” संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “होटलको स्तरअनुसार विभिन्न परिमाणको तलबमान तोकिएकाले न्यूनतम तलबमान भुक्तान गर्न नसकिएको हुँदा सामाजिक सुरक्षा कोषमा सम्झौतामा तोकिएको रकमको आधारमा रकम जम्मा गर्न पाउने व्यवस्था गर्नुपर्छ ।”
आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक बजेटमा जेठ र असार महिनाको योगदान सरकारको तर्फबाट व्यहोर्ने घोषणा भए पनि वर्तमान अवस्थालाई ध्यानमा राखी अति प्रभावित होटल उद्योगलाई मन्त्रालयको पहलमा थप सहयोग र अन्य सुविधा उपलब्ध गराई सामाजिक सुरक्षा कोषप्रति आकर्षण अभिवृद्धि गर्न फरक नीति अवलम्बन गर्न पनि संघले आग्रह गरेको छ ।
संघले सामाजिक सुरक्षा कोषमा आवद्ध होटल उद्योगका श्रमिकहरुको निरन्तर योगदान हुन नसकेको अवस्थामा स्वास्थ्य सहायता तथा अन्य सुविधाहरुबाट वञ्चित नहुने गरी यस उद्योगलाई अतिप्रभावित क्षेत्र मानी संक्रमणकालिन अवस्था र विषम परिस्थितिलाई आधार मानी आवश्यक संशोधनमार्फत नीतिगत सहयोग र सहजिकरणको माग पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्