सेयर बजारमा ‘करेक्सन’

दिनहुँजसो रेकर्ड कायम गरिरहेको सेयर बजारमा करेक्सन आएको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ७२.४१ अंकले घटेर २९६९.६९ अंकमा झरेको छ ।
नेपाल धितोपत्र बोर्डले मंगलबार जोखिमपूर्ण ५१ कम्पनीहरुको सूची सार्वजनिक गर्दै सचेत भएर लगानी गर्दा सचेत हुन आग्रह गरेको थियो । जसको प्रभावस्वरुप बजारमा गिरावट देखिएको हो ।
बोर्डले गत आइतबार पनि विज्ञप्ती जारी गरी बजारमा कारोबार वृद्धिसँगै सेयर कर्नरिङ र सर्कुलर ट्रेडिङ भएको विषयमा अध्ययन सुरु गरिएको भन्दै लहैलहैमा लगानी नगर्न समेत सुझाव दिएको थियो । बोर्डले लगानीकर्तालाई देशको आर्थिक परिदृश्य, सूचीकृत कम्पनीका प्रति सेयर आम्दानी, नेटवर्थ, मूल्य आम्दानी अनुपात, किताबी मूल्यमा बजार मूल्यको अनुपात, कम्पनीको संस्थागत सुशासन आदीलाई विश्लेषण गरेर मात्र सेयर किन्न आग्रह गरेको छ ।
बोर्डले एक वर्ष अवधिमा तीन सय प्रतिशत भन्दा बढी मूल्य वृद्धि भएका, मूल्य आम्दानी अनुपात १०० र त्यसभन्दा बढी भएका, प्रति सेयर आम्दानी ऋणात्मक भएका, प्रति सेयर अंकित मूल्यभन्दा प्रति शेयर नेटवर्थ कम भएका र कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्यांकनका आधारमा जोखिमयुक्त संस्था छनोट गरी त्यसको कारोबारबारे विस्तृत अध्ययन सुरु गरिएको जनाएको छ ।
यता लगानीकर्ताहरुले भने बोर्डले जोखिमयुक्त कम्पनी भनेर नाम सार्वजनिक गरेको भन्दै आलोचना गरेका छन् । बोर्डले जोखियुक्त सूचीमा राखेका कम्पनीमध्ये अधिकाशंको मूल्य बुधबार घटेको छ । यसदिन लघुवित्त कम्पनीहरुको सेयर बाहेक अन्य सम्पूर्ण समूहगत परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सवैभन्दा बढी फाइनान्स समूहको ६.८, होटल र पर्यटन समूहको ५.१४, जलविद्युत कम्पनी समूह ४.७५ विकास बैंक समूह ४.०४ प्रतिशतले ओरालो लागेको छ । त्यस्तै लगानी समूह २.५४, म्युचुअल फन्ड ०.१८, जीवन बीमा २.१८, अन्य २.९८, उत्पादनमुलक क्षेत्रमा ३.१७, निजिवन जीवन बिमा २.६, कारोबार समूह २.५४ र बैकिङ ०.४७ प्रतिशतले ओरालो लागेको छ ।
घटेको बजारमा पनि सिइडिवी हाइड्रोपावर कम्पनीको भने झन्डै १० प्रतिशतले उकालो लागेको छ । यसदिन १७ कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा माथिले घटेको छ । बुधबार नेपाल रिइन्स्योरेन्स कम्पनीको ६० करोड रुपैयाँ बराबरको कारोबार गरेको छ । घटेको बजारमा पनि कारोबार भने १५ अर्ब ४८ करोड रुपैयाँ बराबरको भएको छ ।