विकट गाउँमा २६ बेडको कोभिड अस्पताल

मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा पनि कोभिड अस्पताल सञ्चालनमा आएको छ । जिल्ला समन्वय समिति मकवानपुर र गाउँपालिकाको संयुक्त लगानीमा २६ बेडको कोभिड अस्पताल स्थापना गरिको हो ।
जिल्ला समन्वय समिति मकवानपुरको ५० लाख रुपैयाँ र गाउँपालिकाको १५ लाख रुपैयाँ गरी ६५ लाख रुपैयाँ लागतमा प्रिफ्याबको भवन निर्माण गरी अस्पताल स्थापना गरिएको हो । राक्सिराङ गाउँपालिका–५ स्थित ठाडेचुरेमा कोभिड स्थापित अस्पतालको सोमबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल र गाउँपालिका अध्यक्ष राजकुमार मल्लले उद्घाटन गरेका हुन् । कोरोना भाइरसको महामारी बढ्दै जाँदा राक्सिराङमा पनि संक्रमितको संख्या वृद्धि हुँदै गएको छ । अस्पतालमा डाक्टरसहितको स्वास्थ्यकर्मी र अक्सिजनको प्रयाप्त व्यवस्था गरिएको छ ।
अस्पतालमा २६ वटा बेड, स्टोर कोठा र औषधि पसलको व्यवस्था गरिएको छ । अस्पतालमा हाल एक जना डाक्टरसहित ५ जना स्वास्थ्यकर्मी खटिनेछन् । आवश्यक परे गाउँपालिकाका विभिन्न स्वास्थ्य एकाइमा कार्यरत स्वास्थ्यकर्मीलाई समेत कोभिड अस्पतालमा खटाइने गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । गाउँपालिका मातहतमा हाल ४१ जना स्वास्थ्यकर्मी कार्यरत छन् ।
विपद व्यवस्थापन कोषबाट ५० लाख रुपैयाँ विनियोजन गरी गाउँपालिकाले यसअघि नै अक्सिजन, एन्टिजेन किट, पिपिई, मास्क, सेनिटाइजर, औषधिलगायतका सामग्री खरिद गरिसकेको छ । ‘कोरोना संक्रमणको महामारीबाट राक्सिराङ पनि प्रभावित हुँदै गएको छ । महामारीसँग जुध्नका लागि हामीले सबै तयारी गरेका छौं । अब संक्रमितहरू उपचारका लागि गाउँबाट अन्यत्र जानुपर्ने बाध्यता हटेको छ ।’ अध्यक्ष मल्लले भने । अब प्रत्येक संक्रमितलाई खानासहितको सुविधा दिएर कोभिड अस्पतालमा निःशुल्क उपचार गरिने उनले बताए ।
अस्पताल उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निर्मला हिम्डुङ, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, जिल्ला प्रशासन कार्यालयमा प्रशासकीय अधिकृत दिलिप श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य संघ मनहरी क्षेत्रका अध्यक्ष नारायण सुवेदी, स्वास्थ्य शाखा प्रमुख विजय कापरी, अस्पतालका डा. धनबहादुर खत्रीलगायतको सहभागिता रहेको थियो । हाल गाउँपालिकाले सञचालन गरेको आइसोलेसनमा ५ जना संक्रमित रहेका छन् । जटिल समस्या देखिएका केही बिरामीलाई हेटौंडा र भरतपुर रिफर गरिएको कोभिड अस्पतालका डाक्टर धनबहादुर खत्रीले बताए ।