Logo

हवाई इन्धनको मूल्य समायोजन

अन्तर्राष्ट्रिय उडानको भाडा १५ प्रतिशतसम्म घट्यो


नेपाल आयल निगमले आइतबार रातिदेखि लागू हुने गरी अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्यमा २० प्रतिशत कटौती गरेसँगै अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूलाई लाभ पुग्ने भएको छ ।
यसअघि प्रतिकिलोलिटर ८९३ अमेरिकी डलर रहेकोमा १७८ ले घटाई नयाँ बिक्री मूल्य ७१५ प्रतिकिलोलिटर कायम गरिएको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनमा निगमलाई ४० प्रतिशतसम्म नाफा छ । आइतबार निगम सञ्चालक समितिको बैठकले कोरोना महामारीका कारण सिर्जना भएको वर्तमान अवस्था रहुन्जेल अन्तर्राष्ट्रिय हवाई इन्धनमा बढीमा १५ प्रतिशतसम्म नाफा राखी मूल्य निर्धारण गर्ने नीति पारित गरेको छ ।
निगमको पछिल्लो निर्णयले नेपाल वायुसेवा निगमलाई बढी लाभ हुने देखिएको छ । निगमले काठमाडौंलाई आधार बनाएर बाह्य देशमा उडान भर्ने भएकाले गर्दा निगमलाई बढी लाभ हुनेछ । निगमको पछिल्लो निर्णयसँगै वायुसेवा निगमले सोमबार विज्ञप्ति जारी गर्दै कार्गो र चार्टर्ड विमानको भाडा कटौती गरेको छ । निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य २० प्रतिशतले कटौती गरेसँगै सोमबारबाट नै लागु हुने गरी भाडा कटौती गरेको हो । वायुसेवाले वाइड बडीको भाडा १३ प्रतिशत र न्यारो बडी विमानको भाडा १५ प्रतिशतले घटाएको छ ।
जसअनुसार न्यारो बडीको भाडा प्रतिघण्टा ७ हजार ७ सय १० डलरबाट १ हजार १ सय ३० डलर कम गरी नयाँ भाडा प्रतिघण्टा ६ हजार ५सय ८० डलर कायम गरेको छ । वाइड बडी विमानको भाडा यसअघि कायम रहेको प्रतिघण्टा १५ हजार ५ सय २० डलरबाट २ हजार ६० डलर कम गरी नयाँ भाडा प्रतिघण्टा १३ हजार ४सय ६० डलर कायम गरेको छ ।
नेपालमा भरिने अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य महँगो भई नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय विमान कम्पनीहरुको तर्फबाट वायुुुसेवा निगमले सम्वन्धित निकायमा पटक पटक आवाज उठाउँदै आएको निगमले जनाएको छ । त्यसैलाई सम्बोधन गर्दै इन्धनको मूल्य घटाइएको निगमको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्