कामविहीन बने चिया मजदुर «

कामविहीन बने चिया मजदुर


कोरोना कहरले बगान सञ्चालनमा नआउँदा चिया मजदुर कामविहीन बनेका छन् । यतिबेला झापाको टोकला, मित्तल र गुप्ता चिया बगानका ११५० बढी मजदुर कामविहीन बनेका हुन् ।


कोरोनाले धेरैको मजदुरी मात्र नगुमेरे, काममा भएकाहरु पनि जीवन जोखिममा राखेर त्रासकाबीच काम गरिरहेको नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङले बताए । सरकार चिया मजदृुरको पक्षमा उभिन नसकेको उनको गुनासो छ । चिया बगान र उद्योगमा न्यूनतम् स्वास्थ्य सुरक्षा मापदण्डको पालना हुन नसकेकाले त्यसका लागि व्यवस्थान पक्षको ध्यान पुग्नुपर्ने तामाङको माग छ । चिया बगान तथा उद्योगको तत्काल अनुगमनका लागि उनीले राजनीतिक दल तथा जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेका छन् ।


अखिल नेपाल चिया मजदुर संघकी अध्यक्ष सीता सापकोटा नेताहरुले अहिले कामविहीन भएका मजदुरहरुलाई तत्काल राहतको व्यवस्था गर्न र जोखिमपूर्ण अवस्थामा काम गरिरहेका मजदुरलाई तत्काल कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् । कोरोना संक्रमित मजदुरको निःशुल्क उपचार तथा संक्रमित भई मृत्यु भएका मजदुर परिवारलाई उचित राहतको व्यवस्था गर्न पनि उनको आग्रह छ ।
प्रदेश–१ चिया क्षेत्रमा ५० हजार श्रमिक आवद्ध रहेको उनले बताइन् । “चिया श्रमिक कोरोना महामारीमा पनि काम गर्न सक्छन्” उनले भनिन्, “सरकारले खोपको व्यवस्थापन गर्नु पर्छ ।” पहिलो लहरमा सरकार र स्थानीय सरकारलेसमेत कोरोनाको चपेटामा परेका मजदुरलाई राहत उपलब्ध गराए पनि यस वर्ष कुनैपनि क्षेत्रबाट श्रमिकले राहत पाएका छैनन्” उनले भनिन् ।


आइतबार झापामा भएको छलफल कार्यक्रममा मजदुर नेताहरुले चिया क्षेत्रमा सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा जोड दिएका छन् । योगदानमा आधारित सामाजिक सुरक्षामा सबै चिया श्रमिकलाई सुचिकृत गरिए मजदुरका अधिकांश समस्या समाधान हुने उनीहरुको भनाइ छ । श्रम ऐन २०७४ कार्यान्वयनको समेत समस्या देखिएको उनीहरुको भनाइ छ ।


सरोकारवालाबीच सहमति भए बमोजिम श्रमिकको वृद्धि भएको ज्याला तत्काल कार्यान्वयन गर्न मजदुर नेताहरुले आग्रह गरेका छन् ।
नेपाल चिया उत्पादक संघ सम्वद्ध उद्योगहरुले सहमति कार्यान्वयन गरे पनि अन्य उद्योगले आनाकानी गरेकाले सबै उद्योगलाई उक्त सहमति कार्यान्वयन गर्न आग्रह गरिएको छ । श्रमिक र उत्पादकहरुबीच सहमति भएका विषयहरुलाई राजपत्रमा प्रकाशित गरी ऐन बनाउन मजदुर नेताहरुले सुझाव दिएका छन् । आफ्ना अल्पकालीन र दीर्घकालीन मागहरु समाधान नभए संघर्षमा उत्रने अखिल नेपाल टे«ड युनियन महासंघ प्रदेश–१ का अध्यक्ष भूपाल सापकोटाले बताए ।


छलफलमा नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) का प्रदेश–१ उपाध्यक्ष सन्त राई, नेपाल टे«ड युनियन कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला ढकाल पोखरेल, टे«ड युनियन महासंघ नेपाल (टुकोन) का प्रदेश–१ अध्यक्ष हर्क थुङ्गिमले सरकारले मजदुरको हितमा काम गर्न नसकेको भन्दै तत्काल आफ्ना समस्या सम्बोधनका लागि आग्रह गरेका छन् । इलाम, झापा, पाँचथर, धनकुटा, तेह्रथुमलगायत १४ जिल्लामा आठ हजार आठ सय ३८ हेक्टरमा चिया खेती हुँदै आएको चिया तथा कफी विकास बोर्डको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्