Logo

विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना संशोधन गर्न सुझाव


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत वर्ष तयार पारेको विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजनाको प्रभावकारी कार्यान्वयन नभएको भन्दै स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरुले तत्कालै परिमार्जन गरी लागू गर्न सुझाव दिएका छन् ।
शिक्षकहरुले आकस्मिक कार्ययोजना परिमार्जन गर्दामा त्यसमा कोरोनाविरुद्धको खोप उपलब्ध गराउने कार्यसूची पनि थप्न माग गरेका छन् । ‘शिक्षा चिन्तन’ श्रृंखला सञ्चालनका क्रममा शिक्षा साप्ताहिक र विद्यालय व्यवस्थापन समिति महासंघद्वारा आयोजित ‘विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना के कति कार्यान्वयन ?’ विषयक भर्चुअल छलफलमा यस्तो सुझाव दिइएको हो ।


शिक्षा मन्त्रालयले गत साल ‘विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ बनाएको थियो । ३१ बुँदे सो कार्ययोजनामा इन्टरनेट विस्तार, सार्वजनिक विद्यालयका शिक्षक–विद्यार्थीको सिकाइ सम्पर्क कायम गराउन ‘सियुजी’ अर्थात् मोबाइल सेवाको ‘क्लोज्ड युजर ग्रुप’ मा आवद्ध गराउने, शैक्षिक सामग्री तयारी गर्ने, सिकाइ सहजीकरण केन्द्रलाई ‘फ्रि वाइफाई जोन’ बनाउने, शिक्षक घरदैलो कार्यक्रम सञ्चालन, श्रव्य÷दृश्य सामग्री विकास तथा प्रशारण, शिक्षक क्षमता विकास, वैकल्पिक सिकाइमा विद्यार्थीको पहुँच र बसाई स्थानन्तरण एवं विद्यालय परिवर्तनसम्बन्धी तथ्यांक संकलन, पाठ्यपुस्तकको सुनिश्चितता, विद्यार्थी भर्ना, शिक्षक कार्यस्थलमा पुग्ने, शिक्षण विधि र मूल्यांकन प्रक्रियाको ढाँचालगायतका क्रियाकलापहरु गरिने उल्लेख छन् । यी कामहरु संघमा शिक्षा, स्वास्थ्य, अर्थ र सञ्चार मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, स्थानीय तह र विद्यालयले गर्नेगरी कार्ययोजनामा तोकिएका छन् ।


छलफलमा गाउँपालिका राष्ट्रिय महासंघका महासचिव एवं इन्द्रावती गाउँपालिका सिन्धुपाल्चोकका अध्यक्ष वंशलाल तामाङले गत साल कोरोना अवधिका लागि बनाइएको आकस्मिक कार्ययोजनाले यसपालिका लागि पूर्णरुपमा काम गर्न नसक्ने बताए । “गत साल कोरोनाको प्रभाव कम रहेका वा संक्रमण हुँदै नभएका गाउँ–बस्ती धेरै थिए” उनले भने, “शिक्षा र अर्थ दुवै मन्त्रालयले आकस्मिक कार्ययोजनामा उल्लेख भएको भूमिका पूरा गर्न सकेको छैन ।”

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं योजना महाशाखा प्रमुख डा. तुलसी थपलियाले आकस्मिक कार्ययोजना अनुसार मन्त्रालयले विद्यार्थीलाई अनलाइन सिकाइमा जोड्न वेव पोर्टल बनाएको, पाठ्यपुस्तक समयमा पु¥याएको र रेडियो तथा टेलिभिजनबाट शिक्षण गराउने व्यवस्था गरिएको बताए । उनले आकस्मिक कार्ययोजनाका असान्दर्भिक पक्ष हटाएर परिमार्जन गर्ने विषयमा भने मन्त्रालय तयार नै रहेको बताए ।


सुर्खेत वीरेन्द्रनगरस्थित जन नमूना माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोविन्द कोइरालाले आकस्मिक कार्ययोजना दस्तावेज निर्माणका लागि मात्रै भएको होकि भन्ने प्रश्न गरे । उनले शिक्षकहरुलाई खोप दिने कार्यक्रम आकस्मिक कार्ययोजनामा राख्नुपर्ने माग समेत गरेका छन् । डा. थपलियाले भने शिक्षकलाई भ्याक्सिन दिने सन्दर्भ महत्वपूर्ण रहेकाले त्यसबारेमा शिक्षा मन्त्रालयले के गर्न सक्छ त्यसमा प्रयत्न गरिने पनि वचन दिए ।

काठमाडौं छाउनीस्थित पञ्चकन्या माविकी प्रधानाध्यापक रुपा मानन्धरले कोरोना कहरमा शहरका सामुदायिक विद्यालयमा विद्यार्थीसँगको सम्पर्क टुट्न थालेकाले सिकाइमा अप्ठेरो परेको बताइन् । विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका केन्द्रीय अध्यक्ष कृष्ण थापाले आकस्मिक कार्ययोजनाको अद्यावधिक गर्दा सबै सरोकारवालाको सल्लाह लिनुपर्ने बताए । अनलाइन माध्यमको शिक्षालाई महामारीमा मात्र नभई बाहै्र महिना निरन्तरता दिनुपर्छ भन्दै वैकल्पिक सिकाइमा आर्थिक स्रोतको व्यवस्था पर्याप्त नभएकाले यसमा तीनवटै तहका सरकारले ध्यान दिनुपर्ने उनको सुझाव थियो ।


शिक्षा अभियन्ता ओम शर्मा चापागाईँले महामारीलाई अहिलेको बजेटले सम्बोधन नगरेको र केन्द्रबाट निर्देशन लाद्ने मात्र कामले आकस्मिक कार्ययोजना कार्यान्वयन हुन गाह्रो भइरहेको बताए । शिक्षक नानीराम सञ्जेलले सबैभन्दा पहिला शिक्षक र विद्यार्थी दुवैका लागि खोप उपलब्ध गराउन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्