दूध किसानले रकम पाउन सकेनन् «

दूध किसानले रकम पाउन सकेनन्

milk splash


कोरोना महामारीका कारणले बजारमा दूधको खपट घट्दा किसानले भुक्तानी पाउन सकेका छैनन् ।
निषेधाज्ञाको कारण होटेल रेष्टुरेन्ट बन्द भएको र उपभोग नै कम भएकाले दूधको खपत ह्वात्तै घटेको हो । कोभिड नियन्त्रण गर्नका लागि गरिएको निषेधाज्ञाले गर्दा दूधको खपत ६० प्रतिशतले घटेको छ । डेरी उद्योगका अनुसार पछिल्लो समय बजारमा ४० प्रतिशतमात्र दूधको खपत भएको छ ।
दूधको बिक्री नहुँदा डेरी उद्योग बन्द भई किसानलाई रकम उपलब्ध गराउन नसकेको उद्योगीको भनाइ छ । डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले कोभिडको कारणले दूधको खपत ६० प्रतिशतले घट्दा किसान र उद्योगी प्रत्यक्ष मारमा परेको बताए । कुल ग्राहस्थ्य उत्पादनमा ९ प्रतिशत योगदान पु-याएको दुग्ध क्षेत्रमा देखिएका समस्या समाधान गर्ने सरकारी तवरबाट कुनै प्रयास नभएको उनको भनाइ छ ।
केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण देवकोटा दूध बिक्री नभएर किसानले खेर फाल्नुपरेको बताए । डेरी उद्योगले दूध खरिद नगर्दा किसानले दूध खेर फाल्नु परेको उनको भनाइ छ । दूधको रकम पाउन नसक्दा किसालाई प्रत्यक्ष मार परेको उनले बताए । राष्ट्रिय दुग्ध विकास बोर्डले मंगलबार भर्चुअलमार्फत कार्यक्रम गरेर विश्व दूध दिवस मनाएको छ । कार्यक्रममा सहभागी किसान र उद्यागीका प्रतिनिधिले निषेधाज्ञाको कारणले दूधको बिक्री नभएकाले ठूलो क्षति भएको बताएका छन् ।
दुग्ध विकास संस्थान (डीडीसी)ले सामान्य अवस्थामा एक लाख लिटर दैनिक संकलन हुने गरेकोमा निषेधाको कारणले गर्दा ९० हजार लिटरमा झरेको बताएको छ । यस्तै दुग्ध उद्योग संघ अन्र्तगतका उद्योगहरुले दैनिक ४ लाख लिटर दूध संकलन गर्ने गरेकामा अहिले एक लाख ९० हजार लिटरमा झरेको छ । यस्तै नेपाल डेरी संघले सामान्य अवस्थामा दैनिक २ लाख ७५ हजार लिटर दूध संकलन गर्दै आएकोमा निषेधाज्ञाका कारण घटेर १ लाख २० हजार लिटरमा झरेको छ । दूधको उत्पादन बढाउन ४६८ वटा स्थानीय तहमा कृत्रिम मिसन कार्यक्रम सञ्चालन गर्न लागिएको कृषि विकास मन्त्रालयले जानकारी दिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्की कोभिडको कारणले दुग्ध क्षेत्रमा धेरै नोक्सान भएकाले कसरी क्षतिपूर्ति दिने भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको बताए ।
राष्ट्रिय किसान आयोगका अध्यक्ष डा. प्रेम दंगाल लकडाउनले गर्दा दुई वर्षमा दूधामा आत्मनिर्भर भन्ने भनिएपनि दुग्ध उत्पादक सहकारी र किसानलाई अनुदान दिनुपर्ने बताए । । दुग्ध विकास संस्थानका महाप्रबन्धक रुद्धप्रसाद पौडेल किसानलाई दूधको भुक्तानी गर्न पहल गरिरहेको बताए । अहिलेपनि किसानको दूध खेर नजाओस भनेर पाउडर दूध उत्पादन गरिरहेको उनले जानकारी दिए ।
नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटा डीडीसीमा मात्र नभएर निजी क्षेत्रका डेरीमा पनि धेरै समस्या रहेको छ । धुलो दूध र बटर बिक्री नभएर थन्किएको छ । राहतको प्याकेजमा राखेर वितरण गर्न सकियो भने प्रयोग हुन्छ । किसान र उद्योगका लागि राहतका कार्यक्रम ल्याउन अति आवश्यक रहेको उनको भनाइ छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार प्रतिव्यक्ति प्रतिवर्ष ९१ लिटर आवश्यक पर्नेमा हाल ७८ लिटर प्रतिव्यक्ति प्रतिवर्ष उपलव्ध रहेको छ । दुई वर्ष भित्रमा दूधमा आत्मनिर्भर हुनेगरी विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ ।
बोर्डले सन् २०११ देखि विश्व दूध दिवस मनाउने आएको थियो । दूध तथा दुग्ध पदार्थको नियमित सेवन, कोरानोविरुद्धको दीर्घकालिन जीवन भन्ने नाराका साथ यो वर्ष दिवस मनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्