माथिल्लो तामाकोसीको टर्बाइन घुम्यो, पहिलो युनिटको सफल परीक्षण
दोलखा-बहुप्रतीक्षित ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको टर्बाइन घुमाइएको छ । आयोजनाको मेकानिकल परीक्षणअन्तर्गत एउटा टर्बाइन (युनिट) मा पानी हालेर घुमाइएको छ । आयोजनाको परीक्षणका क्रममा सुरुङमा जम्मा भएको पानी हालेर एउटा टर्बाइनलाई शनिबार (जेठ १५ गते) परीक्षण सकिएको हो ।
तीन दिनको लगातारको प्रयासपछि विद्युत्गृहमा पानी पठाएर एउटा टर्बाइन घुमाउन सफल भएको अपर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए । यो आयोजनाका लागि महत्वपूर्ण सफलता भएको उनले बताए । इलेक्ट्रिक तथा मेकानिकलको परीक्षणका क्रममा आयोजना र ठेकेदार कम्पनी एन्द्रिज हाइड्रोले हिन्दू वैदिक विधिअनुसार विश्वकर्मा पूजा गरेको थियो ।
सुरुङ र मेकानिकलमा केही समस्या बाँकी भए तापनि त्यसको मर्मत गर्दै विद्युत् गृहको पनि परीक्षण गर्न थालेको उनले बताए । उनका अनुसार ७ सय मिटरमा रहेको पहिलो अडिट र ४ हजार मिटरमा रहेको दोस्रो अडिटको गेटमा समस्या रहेको उनले बताए । सुरुङको काम गर्न बनाइएको अडिटमा सुरुङ बन्द गर्न गेट राखिएको छ । अहिले त्यही गेटमा पानी चुहावट देखिएको छ ।
आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले पहिलो युनिटको सफल परीक्षणपछि अब क्रमशः दोस्रो तेस्रो गर्दै ६ वटै युनिटको परीक्षण गर्दै जाने बताए । माथिल्लो तामाकोसीको विद्युत् गृहमा ६ वटा युनिटबाट ४ सय ५६ मेगावाट विद्युत् उत्पादन हुने क्षमता छ । प्रतियुनिट ७६ मेगावाट विद्युत् उत्पादन हुन्छ ।
मेकानिकल र सुरुङको परीक्षण पूरा भएको भए आयोजनाले परीक्षण विद्युत् उत्पादन गर्न सक्थ्यो । तर, सुरुङ परीक्षणका क्रममा अडिट गेटमा समस्या भएपछि मर्मतका लागि सुरुङबाट पानी खाली गर्न लागेको हो ।
सुरुङमा अहिले ४ किलोमिटर पानी भरिएको छ । गेट मर्मत गर्नका लागि पानी छाड्दा विद्युत् गृहमा रहेका टर्बाइनको पनि परीक्षण गर्न थालिएको हो । उनका अनुसार अहिले सुरुङको पानी एउटा नोजलबाट प्रतिसेकेन्ड २ सय लिटरका दरले छाडिएको छ ।
सुरुङबाट पानी खाली गर्दा ६ वटै युनिटको परीक्षण पूरा गर्ने प्रवक्ता न्यौपानेको भनाइ छ । परीक्षणका क्रममा सबै युनिटको परीक्षण सफल भए गेटहरूको मर्मतपछि एकै पटक विद्युत् उत्पादन गर्न सकिने उनले बताए ।
आयोजनाबाट एक महिनाअघि सुरुङमा पानी हाल्न थालिएको हो । पानी हाल्दा पेनस्टक पाइप मर्मतमा जाने मेन होलको बिर्कोबाट पानी चुहिएपछि मर्मतका लागि बन्द गरिएको थियो । यो समस्या समाधान भइसकेको छ ।
अब दुईवटा गेटको मर्मत गरेर अरू समस्या नदेखिए जेठ अन्तिम अर्थात् असार पहिलो हप्तासम्म विद्युत् उत्पादन थाल्न सकिने अवस्था रहेको छ । आयोजनाको बिगु– ४, सिंगटी बजारभन्दा केही माथि बिग्रेको टावर पनि पुनर्निर्माण पूरा हुन लागेको छ । टावर यही हप्ताभित्र पुनर्निर्माण पूरा हुने आयोजनाका प्रवक्ता डा. न्यौपानेले बताए ।
आयोजना परीक्षणका क्रममा गम्भीर समस्या नभएको आयोजनाले जनाएको छ । “हरेक आयोजना पूरा भएपछि कुनै समस्या छन् कि भनेर विभिन्न चरणमा परीक्षण गरिन्छ,” आयोजनाका प्रवक्ता डा. न्यौपानेले भने, ‘परीक्षणका क्रममा कुनै प्राविधिक समस्या देखियो भने मर्मत गरेर पूर्ण ठीक भएपछि मात्र उत्पादनमा जाने हो ।”
साना आयोजनाको त परीक्षण समय लाग्छ । यो आयोजना उच्च हेड भएको र ठूलो आयोजना भएकाले परीक्षण समय लाग्ने उनले बताए । ८ किलोमिटर सुरुङ छ, सुरुङमा पानी भर्नकै लागि पनि धेरै दिन लाग्छ । पेनस्टक पाइप र सुरुङ परीक्षणपछि विद्युत् गृहका उपकरणको परीक्षण हुन्छ । अन्तर्राष्ट्रिय अनुभवी परामर्शदाताहरूको प्रत्यक्ष निगरानीमा काम भएकाले गुणस्तरीयतामा कुनै शंका नगर्न समेत उनले आग्रह गरे ।
आयोजनाको ८ किलोमिटर मुख्य सुरुङ र ३ सय ७२ मिटर र ३ सय १० मिटरका २ वटा ठाडो पेनस्टक पाइपका सुरुङ छन् । ठाडो पेनस्टक पाइप जडान भएको बीचमा २ सय मिटर र मुख्य सुरुङमा समेत ठाडो सुरुङसँग जोडिएको ठाउँमा पेनस्टक पाइप नै रहेको छ ।
आयोजना पूरा भएपछि २२ मेगावाटको रोल्वालिङ डाइभर्सनबाट अर्को आयोजना निर्माण गर्ने गरी आयोजनाले तयारी थालेको छ । यो आयोजना पूरा हुनेबित्तिकै वित्तीय व्यवस्थापन गरेर रोल्वालिङ सुरु हुने आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए ।
आयोजनामा ७६÷७६ मेगावाटका ६ वटा युनिट छन् । पहिलो युनिटबाट विद्युत् उत्पादन भएपछि बाँकी युनिटहरूबाट क्रमशः विद्युत् उत्पादन हुनेछ । २०७२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पु¥याएको क्षति तथा अवरोध, मधेस आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकलको ठेकेदारको कमजोर कार्यसम्पादनलगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो ।
आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुनेछ । आयोजनाले बिजुली बिक्रीबाट वार्षिक ९ अर्ब रुपैयाँ आम्दानी गर्नेछ । आयोजना बनाउन निर्माण अवधिको ब्याजबाहेक ५३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । डलरको मूल्य वृद्धि, लम्बिएको समयको प्रशासनिक खर्च र ब्याजसमेत पुँजीकरण गर्दा आयोजना बनाउन कुल लागत ८० अर्ब रुपैयाँ बढी पुग्ने सम्भावना छ ।