Logo

गण्डकी प्रदेशको बजेट कोरोना केन्द्रित


गण्डकी प्रदेशको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट कोरोना महामारी नियन्त्रणमा हुने भएको छ । कोरोनाले सृजना गरेको चुनौतीलाई सामना गर्न आगामी आर्थिक वर्षको बजेट केन्द्रित गर्ने भएको गण्डकी प्रदेशका अर्थ, भूमि व्यबस्था तथा सहकारी मन्त्री किरण गुरुङले बताएका छन् ।
गण्डकी प्रदेश सभाको आठौं बैठकमा सोमबार विनियोजन विधेयक २०७८ का सिद्धान्त र प्रथामिकता प्र्रस्तुत गर्दै मन्त्री गुरुङले यस वर्ष पनि कोरोनाको प्रभाव परेकाले कोरोना केन्द्रित बजेट ल्याउने तयारी गरेको बताएका हुन् । कोरोनाकोे रोकथाम, नियन्त्रण र उपचारका लागि स्वास्थ्य प्रणालीलाई सवल एवं सुदृढ गरी, आधारभूत स्वास्थ्य सेवामा सबैको सरल र सहज पहुँच सुनिश्चित गर्दै गुणस्तर अभिवृद्धि गर्न आवश्यक बजेट व्यवस्था गरिने र होम आइसोलेशनहरूमा पनि आवश्यक मेडिकल सेवाहरू उपलब्ध गराउने मन्त्री गुरुङले जनाए । प्रदेशका सबै नागरिकका लागि कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउन नेपाल सरकारसँग समन्वय गरी प्रबन्ध गरिने, कोभिड अस्पतालहरूमा पर्याप्त अक्सिजनको व्यवस्था मिलाउने, कोरोना रोकथामका लागि अग्र पंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत अन्य राष्ट्रसेवक कर्मचारीलाई प्रोत्साहनको व्यवस्था गरिने आगामी बजेट प्रथामिकतामा उल्लेख छ ।
कोरोना महामारीबाट प्रभावित भएको अर्थतन्त्रलाई गतिशील र चलायमान बनाई पुनः पहिलेकै अवस्थामा फर्काउन सार्वजनिक खर्चलाई व्यवस्थित गर्दै आर्थिक, भौतिक तथा सामाजिक पूर्वाधार विकासका क्षेत्रमा स्रोत र साधनलाई केन्द्रित गरिने, आगामी आर्थिक वर्ष २०७८÷०७९ लाई गण्डकी प्रदेश सरकारले गरेका समग्र कामहरूको प्रगति समीक्षा वर्षको रुपमा अगाडि बढाइने भएको मन्त्री गुरुङले प्रस्तुत गरेको बजेटको सिद्धान्त र प्रथामिकतामा उल्लेख छ ।
त्यसैगरी पूर्वाधार विकास, उत्पादनमुखी र गरिबी निवारणका कार्यक्रमहरूलाई जोड दिदै, प्रदेशको राजस्व प्रणालीलाई न्यायपूर्ण, पारदर्शी र प्रविधिमा आधारित बनाई आन्तरिक आयलाई प्रदेशको आम्दानीको मूल आधारको रुपमा विकास गर्न विशेष जोड दिने योजना रहेको उल्लेख गरिएको छ ।
प्रदेश गौरव, रणनीतिक महत्व तथा बहुवर्षीय आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्ने गरी स्रोत व्यवस्था गरी, स्थानीय तहको केन्द्र जोड्ने गरी अघि बढाइएका सडक र ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रमलाई निरन्तरता दिँदै आवश्यक बजेट प्रबन्ध गरिने भएको मन्त्रीले जनाए । प्रदेशका सबै घरपरिवारलाई आधारभूत खानेपानी सेवा पु¥याउन सञ्चालित आधारभूत खानेपानी कार्यक्रम र खानेपानी सबैको पहुँचमा पु¥याउन ‘एक घर एक धारा’ कार्यक्रमलाई निरन्तरता दिइने भएको छ भने कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न प्रदेशका कृषियोग्य जमिनमा सिँचाई प्रणालीहरू विकास र बिस्तार गरी वर्षैभरी सिँचाई सुविधा पुग्ने व्यवस्था मिलाउन बजेटमा प्राथमिकता दिइने भएको मन्त्रीले प्रस्तुत गरेको विनियोजन विधेय २०७८ को बजेट प्रथामिकता र सिद्धान्तमा उल्लेख छ ।
स्थानीय तहका प्रशासनिक भवन निर्माण, सामुदायिक भवन तथा बस्ति विकास कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने, सम्भाव्यता अध्ययन, बिस्तृत परियोजना प्रतिवेदन, जग्गा प्राप्ती लगायतका पूर्व तयारी पूरा भएका आयोजनाहरूमा मात्रै बजेट विनियोजन गरिने, प्रदेश सरकारले आवश्यक ठानेका तथा नयाँ पहिचान गरेका आयोजना तथा कार्यक्रमहरूको सम्भाव्यता अध्ययन एवं बिस्तृत परियोजना प्रतिवेदन तयार गर्न आवश्यक बजेट विनियोजन गनिरे भएको छ ।
उज्यालो गण्डकी प्रदेश र काठेपोल विस्थापन कार्यक्रमलाई निरन्तरता दिँदै केन्द्रीय विद्युत् प्रशारण लाइनमा आवद्ध हुन नसकेका स्थानमा सौर्य तथा वैकल्पिक उर्जा प्रवद्र्धन कार्यक्रमलाई जोड दिइने भएको छ । यातायात सेवालाई व्यवस्थित गर्न विद्युतीय प्रणालीमा आवद्ध गरिने र ट्राफिक प्रणालीलाई चुस्त गरिने तथा विद्युतीय सवारी साधनलाई जोड दिइनेछ एवं यस क्षेत्रका व्यवसायी र मजदुरहरूका लागि राहतका कार्यक्रम ल्याउने मन्त्री गुरुङले जनाए ।
कोभिड अस्पताल लगायत स्वास्थ्य क्षेत्रको सुदृढीकरणको लागि स्वास्थ्य पूर्वाधारहरूको विकास र बिस्तार एवं पर्याप्त दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष प्राथमिकता दिइने र आवश्यक अक्सिजन प्लान्टको स्थापना गरिने तथा वैकल्पिक स्वास्थ्य सेवाको माध्यमबाट आम नागरिकलाई सुविधा पु¥यााउन आयूर्वेद चिकित्सा र योगा लगायतका कार्यक्रमलाई बिस्तार गरिने भएको छ ।
प्रदेशको पहलमा स्थापना गरिएको सरुवा तथा संक्रामक रोग अस्पतालको समग्र गुरुयोजना तथा बिस्तृत परियोजना प्रतिवेदन तयार गरी पूर्वाधार निर्माण, क्षमता विकास र सेवा बिस्तारमा जोड दिइने र सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य थप सुनिश्चित गर्न ‘एयर लिफ्टिङ’ लगायतका कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।
आगामी बजेटमा खेलकुद पूर्वाधार निर्माण र खेलाडीलाई प्रोत्साहित गर्दै खेलकुद क्षेत्रको समग्र विकासलाई प्राथमिकता दिइने भएको छ भने अन्तर्राष्ट्रिय स्तरका खेलकुद पूर्वाधार निर्माणमा जोड दिँदै युवाको सीप र नेतृत्व क्षमता विकास गर्दै युवाको सहभागिता अभिवृद्धि गर्न युवाहरूलाई उद्यमशील, स्वरोजगार र स्वावलम्बी बनाउन आवश्यक कार्यक्रम ल्याउने भएको मन्त्री गुरुङले जनाए ।
पर्यटन क्षेत्रको समग्र विकासको गुरूयोजना निर्माण गरी पर्यटन पूर्वाधार तथा प्रवद्र्धन कार्यक्रमहरू सञ्चालन गरिने, नयाँ पर्यटन गन्तव्य र क्षेत्र पहिचान गरी पूर्वाधार विकासमा जोड दिने, पर्यटन क्षेत्रमा काम गर्ने श्रमिकहरूका निम्ति विशेष कार्यक्रमहरू ल्याउने मन्त्री गुरुङले बताए ।
बजेट ल्याउन मुख्यमन्त्रीलाई चुनौती
संसद बैठक मंगलबार १ बजेसम्मको लागि स्थगित भएको सभामुख नेत्रनाथ अधिकारीले जनाएका थिए । अल्पमतमा परेको सरकारले प्रिबजेट ल्याउनु अस्वभाविक भएको प्रतिपक्षदलहरुले जनाएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यही जेठ २७ गते भित्र प्रदेश सभा सदस्यको ३१ मत आफ्नो पक्षमा पारेर विश्वासको मत लिएर बजेट ल्याउनु पर्ने चुनौती रहेको छ ।
अविश्वासको प्रस्ताव फेस गर्न गणितीय हिसावमा कमजोर भएसँगै मुख्यमन्त्री गुरुङले एक दिनअघि नै राजीनामा दिएका थिए । गठबन्दनले आफ्नो पक्षमा बहुमत पु¥याउन नसकेपछि गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रदेश सभामा ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्ति गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्