मानव जीवनरक्षा पहिलो प्राथमिकता : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता भएको बताएका छन् । पोखरा पर्यटन परिषद्ले आइतबार आयोजना गरेको अत्यावश्यक स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा उनले खोपलाई पहिलो प्राथमिकता दिएर नागरिकको जीवनरक्षाका लागि प्रदेश सरकारले प्राथमिकता साथ काम गरेको बताए ।
उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पनि खोपका लागि सकारात्मक पहल भएको र बजेटले पनि स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको जनाउँदै मन्त्रिपरिषद्बाट पनि खोप खरिद गर्नका लागि संघ सरकारलाई सिफारिस गरेको जानकारी दिए । उनले प्रदेश अक्सिजनमा आत्मनिर्भर रहेको उल्लेख गर्दै स्वास्थ्य उपचारका लागि आवश्यक पूर्वाधार निर्माणको कार्य दु्रत गतिमा भइरहेको बताए । स्रोतसाधन र जनशक्तिसमेत अभाव हुन नदिन सरोकारवालालाई निर्देशन दिइरहेको जनाउँदै उनले बेलाबेलामा हुने ‘टेक्निकल इरर’का कारण बिरामीको मृत्यु हुने दुःखद् भएकोे र यसलाई गम्भीररूपमा लिएको बताए ।
“पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड उपचार अस्पताल भएको छ अब संक्रमितको उपचारका लागि कुनै पनि समस्या हुँदैन,” उनले भने । परिषद्ले उपलब्ध गराएको अत्यावश्यक स्वास्थ्य उपकरणले कोभिड–१९ का बिरामीलाई उपचारमा सहज हुने उनले बताए । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले कोभिड–१९ को महामारीका समयमा मानवीय जीवनलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने धारणा राखे । मुख्यमन्त्रीले उक्त सामग्री संक्रामक तथा सरुवा रोग अस्पतालका चिकित्सक विकास गौचन, पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक डुकबहादुर क्षेत्री र मातृशिशु मितेरी अस्पतालका चिकित्सक पुष्कर गौचनलाई हस्तान्तरण गरेका थिए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोरोना महामारीको अवस्थामा मानवीय सेवालाई केन्द्रबिन्दुमा राख्दै परिषद्को नेतृत्वमा उक्त सामग्री छिमेकी मुलुक चीनबाट आयात गरिएको जानकारी दिए । उनका अनुसार करिब १५ लाख मूल्य बराबरको अत्यावश्यक कोभिड अक्सिजन कन्सन्ट्रेटर मेसिन छ थानसहित अक्सिजन मेशिन (१० लिटर) चार थान, पीपीई सेट ५०० थान, पञ्जा एक हजार थान, मास्क १० हजार थान स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । नमस्ते कम्युनिटी फाउण्डेसन अध्यक्ष भीष्म पौडेलले दुई थान अक्सिजन कन्सन्ट्रेटर मेशिन सहयोग गरेका थिए ।