Logo

बजेट कार्यान्वयनमा जोड


सरकारले ल्याएको बजेट समग्रमा राम्रै भएपनि कार्यान्वयनमा निजी क्षेत्रले जोड दिएको छ ।
सरकारले ल्याएको आर्थिक वर्ष २०७८-०६९ को बजेटले वर्तमान परिस्थिति अनुकुल निजी क्षेत्रको अधिकांश मागहरु सम्बोधन भएको उद्योगी व्यवसायीहरुले बताए ।
बजेट भाषणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उद्योगी व्यवसायीले कोभिड महामारीको बेलामा आएको विशेष बजेट भएका कारण निजी क्षेत्रको धेरै मागलाई सम्बोधन नभएको भएपनि अधिकांश मागहरु सम्बोधन भएको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगी व्यवसायीहरुको ऋणलाई सहजीकरण गर्ने, भ्याटमा सुधार र विलिङ चार्जको कुरा आउनु सकारात्मक भएको बताए । कोरोनाका कारण प्रभावित पर्यटन क्षेत्र, मनोरञ्जनसँग जोडिएका क्षेत्रहरु र अन्य केही क्षेत्रहरुमा विशेष सहुलियतको घोषणा भएको प्रति उनले खुशी व्यक्त गरे । स्वास्थ्य क्षेत्रमा बढी खर्च हुनु पनि सकारात्मक भएको उनले बताए ।
नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवालले आफूहरुले उठाइरहेको कुरा मेक इन नेपाल सरकारले समेटेकाले बजेट उद्योगका लागि सकारात्मक भएको बताए । यसले नेपालमा औद्योगिकीकरण बढाउने र रोजगारीको सिर्जना गर्ने उनको भनाइ छ । कोभिडविरुद्ध लड्न बजेट विनियोजन हुनु सुखद भएको भन्दै उनले खोपको आवश्यकतालाई बजेटले सम्बोधन गर्नु पनि सकारात्मक भएको बताए ।
लकडाउनको बेलाको डिमान्ड शुल्कको माग र डिजेलको भ्याट हटाउनुपर्ने आफूहरुको माग सम्बोधन भएको पनि उनले बताए ।
यस्तै, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले सरकारले पपुलिष्ट बजेट ल्याएको भएपनि कार्यान्वयनमा चुनौती रहेको बताए । बजेट यथार्थपरक नभएको टिप्पणी गर्दै उनले वर्तमान सरकार स्थिर नभएको अवस्थामा बजेट कार्यान्वयनको सन्दर्भमा शंका रहेको पनि बताए । साथै, सरकारले अपेक्षा गरे अनुरुपको राजस्व असुली गर्न पनि कठिन रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्