संकटमा नारायणी वयोधा अस्पतालको साथ
कोरोना संक्रमणको इपिसेन्टर बनेको वीरगन्जमा संक्रमितलाई निजी अस्पतालले चर्को शुल्क लिइरहेको गुनासो आइरहेको समयमा मोफसलमा स्थापना भएको अन्तर्राष्ट्रियस्तरको नारायणी वयोधा अस्पतालले भने कोरोना संक्रमितका लागि सहुलियत मूल्यमा नै उपचार गरिरहेको छ । पर्सा र बाराको सिमानामा स्थापना गरिएको नारायणी वयोधा अस्पतालले वैशाख ६ गतेदेखि नै कोरोना संक्रमितलाई राखेर उपचार गराइरहेको हो । अस्पतालले सरकारले तोकेको मूल्यमा नै कोरोना संक्रमितको उपचार गरिरहेको अस्पतालका क्वालिटि मेनेजर मिथिलेश साहले बताए । वीरगन्जका अधिकांश निजी अस्पतालमा चर्को शुल्क लिएको भन्दै चौतर्फी आलोचना र विरोध भइरहेको समयमा अन्य अस्पतालले भन्दा सुविधासहित कोरोना संक्रमितलाई सहुलियतमा उपचार गरिरहेको संक्रमितका आफन्तहरूले नै बताएका छन् । सरकारले निजी अस्पताललाई क्षमताको कम्तीमा २० प्रतिशत शैय्या कोरोना संक्रमितको उपचारका लागि छुट्याउनुपर्ने निर्णय गरेदेखि नै नारायणी वयोधा अस्पतालले सस्तोमा उपचार सेवा दिइरहेको अस्पतालका क्वालिटी मेनेजर साहको दाबी छ । अक्सिजनसहितको छुट्टाछुट्टै १५ बेड र ४ वटा भेन्टिलेटरसहितको बेडमा संक्रमितको उपचार गर्ने गरिएको छ । अहिलेसम्म अस्पतालबाट ८० जनाभन्दा बढी कोरोना संक्रमित निको भएर घर फर्किएको साहको भनाइ छ । अस्पतालले अहिले आइसोलेसनको प्रतिदिन ४ हजार, आईसीयूको प्रतिदिन ७ हजार र भेन्टिलेटरको प्रतिदिन चार हजार ८ सय शुल्क लिने गरेको छ । त्यस्तै घण्टाको हिसाबले अक्सिजन दिनुपर्ने भए पनि प्रतिघण्टा २ सय रुपैयाँमात्रै लिएको उनले बताए । अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न अस्पताल भएकाले कतिपयले महँंगो अस्पताल होला भन्ने सोचेर बिरामी ल्याई हाल्न नमान्ने र वीरगन्जका प्रायः अस्पतालमा पु¥याइसकेपछि मात्रै अन्तिममा अवस्थाका बिरामीलाई प्रायः नारायणी वयोधा अस्पतालमा ल्याउने गरेको साह बताउँछन् । अस्पतालमा विपन्न वर्गका बिरामीलाई उपचार गराउँदा पैसा तिर्न नसक्ने छ भने पनि अस्पतालको सञ्चालक समितिले स्थापना गरेको ट्रस्टबाट खर्च हुनेगरी निःशुल्क उपचारसमेत गरिएको साहले जनाए ।