कर्णालीका उत्पादनमूलक उद्योग संकटमा

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशभर जारी निषेधाज्ञाले कर्णालीका उत्पादनमूलक उद्योग संकटमा परेका छन् । गत वर्ष ९÷१० महिना ठप्प भएर भर्खर लयमा फर्खिन थालेका उद्योगधन्दा फेरि थला परेका हुन् । कडा निषेधाज्ञाले उद्योग सञ्चालन तथा उत्पादित वस्तुको बजारीकरण नहुँदा सयौले रोजगारी गुमाएका छन् भने उद्यमीहरु ऋणको भारमा परेका छन् ।
जुम्लामा पछिल्लो समयमा उद्योग दर्ता गर्नेको संख्यामा वृद्धि भएको छ । स्वदेसमै रोजगारी गरेर दैनिकी गुजारा गर्ने तयारीमा रहेका नव उद्यमीहरु सुरूमै घाटामा परेका छन् । करिब १० लाख भन्दा माथिको लगानीमा सञ्चालन गरिएका उत्पादनमूलक उद्योग बन्द भएपछि उद्यमी घाटामा परेका हुन् ।
चैत मसान्तसम्मको तथ्यांक अनुसार जुम्लामा करिब ८२ करोड लगानीमा ८ सय ६९ वटा उद्योग दर्ता भएका छन् । जसमा उत्पादनमूलक तर्फ ६ सय ५ वटा उद्योग रहेका छन् । अहिले दोस्रो लरहको कोरोना कारण सबै उद्योग पूर्णरूपमा बन्द छन् ।
तिला गाउँपालिका ४ का उद्यमी कृष्णकान्त चौलागाईले स्वदेशमै आयआर्जन गर्ने सोचले १० लाखको लगानीमा तरकारी तथा फलफूल उद्योग सञ्चालन गरेको बताए । तर, कोरोनाले गर्दा गरिखान नदिएको उनको गुनासो छ । त्यस्तै तिला ८ का बलबहादुर बस्नेत पनि कोरोनाले गर्दा भर्खर सञ्चालन गरेको उद्योग बन्द भएपछि घाटा व्यहोर्नु परेको बताउँछन् । कृष्णकान्त र बलबहादुर मात्र नभइ जुम्लाका करिब ६ सय उद्यमीहरु कोरोनाले गर्दा संकटमा परेका छन् ।
साढे २ को उत्पादन थन्कियो
जुम्लाको आरके स्याउ प्रशोधन तथा फलफूल डिस्टीलरी उद्योगको करिब २ करोड बराबरको उत्पादन गोदाममा थन्किएको छ । कोरोनाका कारण देशव्यापी रुपमा लकडाउन जारी भएसँगै देशका मुख्य शहरहरु बन्द हुँदा उद्योग संकटमा परेको सञ्चालक रामकृष्ण चौलाँगाईले बताए । उनले भने, “गत वर्षको ऋण फेरि ऋण निकालेरै तिरियो । श्रमिकलाई न्यूनतम तलब खुवाइयो । यसपाली पनि ठूलो संकट आइपरेको छ । करिब साढे २ करोडको उत्पादन थन्किएपछि उद्योगनै संकटमा छ ।”
अर्गानिक स्याउबाट उत्पादन हुने चाना, वाईन, जुस, साइटर, मार्फालगायतका करोडौंको उत्पादन बिक्री गर्न नपाएको उनको भनाइ छ । काठमाडौं, विराटनगर, पोखरा, हेटौडा, सुर्खेत र नेपालगन्जलगायतका शहरहरुमा कोरोनाको अवस्था सामान्य नभएसम्म आफ्नो उद्योग बन्द गर्नुको विकल्प नरहेको उनको भनाइ छ । सरकारले साना उद्यमीका लागि राहत प्याकेजका कुरा मात्रै गरेर गत वर्ष पनि यस वर्ष पनि घाटामै पारेको उनको गुनासो छ ।
उद्योगमा कार्यरत कामदारलाई जेठ १ गतेबाट बिदा दिएर बन्द गरेपनि बैंकको ऋण तिर्न जुम्लाका उद्योगीहरुलाई दवाव परेको छ । उनले थपे, “बैंकको किस्ता तिर्न मुस्किल भएको छ । उद्योगमा करोडौको सामान थन्किएको छ । कच्चा पदार्थ ल्याएको पैसा किसानलाई दिन बाँकी छ” उनले भने, “सरकार उद्योगी व्यवसायीका समस्याप्रति गम्भीर छैन, त्यसैले तत्काल औद्योगिक क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषाणा गर्नुपर्छ ।”
यता जिल्लाकै पहिलो राडीपाखी उद्योगपनि धन्दा हुँदा लाखौंको घाटा खानुपरेको उद्योग सञ्चालन कुन्जाङ पुटिक तामाङ बताउँछन् । उनले भनिन, “करिब ५ लाख बराबरको सामान बिक्री गर्न तयारी अवस्थामा छ” उनले भनिन्, “बजारमा सामन पठाएको दुई लाख उठ्न बाँकी छ । उद्योग सञ्चालन गर्दा ल्याएको ऋण तिर्न बैंकले ताकेता गरेको छ ।”