Logo

नेपालीको मन सफा र राम्रो पाएको छु

सहरोज कासिफ, १९ वर्षीय सगरमाथा आरोही


पाकिस्तानबाट सगरमाथा चढ्ने सबैभन्दा कान्छा (१९ वर्षीय) आरोही सहरोज कासिफले नेपाल र पाकिस्तानका हिमालले दुई देशको सम्बन्धलाई बढाउने बताएका छन् । आरोही कासिफले आफूले नेपालमा पाएको माया र सम्मान अनि पाकिस्तानको ‘के टु’ आरोहण गर्ने समूहले पाएको सम्मान समान भएको बताए । सगरमाथा र के टु चढेर उनले आफूहरूले माया र सम्मान साटासाट गरेको बताए । यो विश्वका सर्वोच्च शिखरको स्नेह आदान–प्रदान गरेको बुझ्नुपर्ने बताए । प्रस्तुत छ, कान्छा आरोही सहरोज कासिफ (पाकिस्तान) सँग गरिएको कुराकानीको सार :

तपाईंलाई बधाईं छ । संसारको सर्वोच्च शिखरमा पाइला राखेर आउनुभयो । कस्तो अनुभव गर्नुभयो ?
यो मेरो उपलब्धि हो । म संसारको सबैभन्दा अग्लो हिमाल चढेको मात्र नभएर मैले देखेको सपना पूरा गरेको छु । आठ वर्षअगाडि मैले देखेको सपना पूरा गरेको छु । माथि पुग्दा म मात्र थिइनँ, मेरो देश (पाकिस्तान) पनि माथि पुगेको थियो । त्यो मेरो हर्षको समय थियो ।

तपाईं सगरमाथा चढ्दै गर्दा पाकिस्तानबाट सगरमाथा चढ्ने कम उमेरको व्यक्तिको रेकर्ड बनाउनुभयो । यो कोणबाट तपाईंको अनुभव बताइदिनुस् न ।
एक पाकिस्तानी हुुनुको नाताले जुन उपलब्धि हासिल गरें, त्यो मेरो देशको सघन तस्बिर दुनियाँलाई देखाएको छु । म धन्य पनि छु, २० करोड जनसंख्या भएको देशलाई प्रतिनिधित्व गरेको छु । म आफूलाई भाग्यमानी पनि ठान्छु ।

यसको अर्को पक्षबाट कुरा गरौँ । नेपालमा धेरै हिमालहरू छन् । पाकिस्तानमा पनि ८ हजारमाथिको दोस्रो अग्लो हिमाल माउन्ट के टु छ । अब मलाई बताइदिनुस्, नेपाल–पाकिस्तान र हिमाल–हिमालबीचको सम्बन्ध कस्तो लाग्छ ?
हामीलाई पहाडले नै जोडेको छ । जुन माया, स्नेह नेपालमा पाएको छु र गएको हिउँदमा के टु आरोहण गर्ने नेपाली समूहले पाकिस्तानमा पाएको स्नेह र सम्मान समान छ, यहाँ नेपाली, पाकिस्तानीले मात्र हैन; देश–देशबीच, हिमाल–हिमालबीच माया, स्नेह साटासाट भएको पाएको छु ।

हाम्रो दुवै देशमा कोरोना संक्रमणले परिस्थिति विषम बनेको छ । गएको दुई महिनादेखि नेपालमा हुनुहुन्छ । यहाँ बस्दा नेपाली संस्कृति कस्तो लागेको छ ? कस्तो महसुस गर्नुभयो ?
म एकदमै खुसीसाथ भन्न चाहन्छु, मैले शान्तिको अनुभव गरेको छु । म मन्दिर, गुम्बा, बौद्ध घुमें । सोलुखुम्बु, नाम्चेमा भएको गुम्बा पनि हेरें । नेपालको जुन संस्कृति छ, यहाँका बासिन्दा हँसमुख र खुसी छन् । नेपालीको मन सफा र राम्रो पाएको छु । यो देश धेरै सुन्दर छ । पाकिस्तानीहरू नेपाललाई धेरै माया गर्छन् । नेपालको पक्षमा उभिन चाहन्छन् । म फेरि–फेरि पनि नेपाल आउन चाहन्छु ।

यो त सगरमाथा र के टु चढाइएको कुरा भयो । अर्को हाम्रो जनजनको सम्बन्ध पनि छ । नेपाल र नेपालीबारे थोरै भएप नि थाहा पाउनुभयो । पाकिस्तानमा गएर नेपाल र नेपालीको बारेमा के गर्न सक्नुहुन्छ ?
अहिले नेपालीले भोगेको समस्या भिसा अन एराइभल हो । यो सरकारको उच्चस्तरको निर्णय होला । के गर्ने, यसबाहेक नेपालीले पाकिस्तानमा पाउने सम्मानमा कुनै कमी छैन । आजसम्म मैले थाहा पाएसम्म त्यस्तो कुनै सम्मानमा कमी हुने काम भएको छैन । मैले नेपालमा जुन प्रकारको माया, सम्मान पाएको छु, यस्तै कोही नेपाली दाजुभाइ पाकिस्तान आउनुभयो भने योभन्दा राम्रो र अझ धेरै सम्मान दिन चाहन्छु । यसो गर्न सकियो भने दुवै देशको सम्बन्ध राम्रो बनिरहन्छ ।

जाँदाजाँदै तपाईं सगरमाथा चढ्न जाँदा कुनै यस्तो अनुभव गर्नुभयो, जुन आगामी दिनमा सुधार्नुपर्ने ?
मैले त्यस्तो केही पाइनँ । मलाई सबै राम्रो लागेको छ । सबै कुरा व्यवस्थित थियो । म सबै नेपाली दाजुभाइलाई धन्यवाद दिन चाहन्छु । म सेभेन समिट कम्पनीलाई विशेष धन्यवाद दिन चाहन्छु । सबै ठीक छ । भन्नुपर्ने केही छैन । आवश्यक पनि छैन ।
(नोट :सगरमाथा आरोही सहरोज कासिफ १९ वर्षका छन् । उनले सगरमाथा चढ्नुअघि १७ वर्षको उमेरमा १२ औँ अग्लो हिमाल ब्रोड पिक (८ हजार ४७ मि.) चढेर कीर्तिमानी बनाएका छन् । यसअघि पाकिस्तानबाट सगरमाथा चढ्ने पहिलो महिला समिना वेगले २३ वर्षको उमेरमा (सन् २०१३ मा) कम उमेरमा सगरमाथा चढ्ने पाकिस्तानीको रेकर्ड बनाएकी थिइन् ।)

प्रतिक्रिया दिनुहोस्