संस्थागत आइसोलेसन सञ्चालनमा ढिलाइ
जुम्लामा दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएका छन् । तथ्यांकअनुसाार हालसम्म संक्रिय संक्रमित करिब ३ सय ७२ जना पुगेका छन् । उनीहरूमध्ये करिब ९० प्रतिशत संक्रमित घरमै बसेका छन् । होम आइसोलेसनले गाउँमा संक्रमण फैलिएको र सबै स्थानीय तहले तत्तकाल संस्थागत आइसोलेसन सञ्चालन गर्ने निर्णय गरेको थियो । जुम्लाका अधिकांश स्थानीय तहले अहिलेसम्म संस्थागत आइसोलेसन सञ्चालन गरेका छैनन् ।
हालसम्म जुम्लाका आठ स्थानीय तहमध्ये तातोपानीले ५० बेड, पातारासीले ४० बेड र कनकासुन्दरीले ५० बेड संस्थागत आइसोलेसन सञ्चालनमा ल्याएका छन् भने, पातारासी र तातोपानीले ५÷५ बेडको कोभिड अस्पताल पनि सञ्चालन गरेका छन् । गाउँगाउँमा संक्रमण फेलिएको भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेषज्ञ चिकित्सक पठाउँदासमेत संस्थागत आइसोलेसन कोभिड अस्पताल सञ्चालन भएका छैनन् । जुम्लाका कुल संक्रमितमध्ये सबैभन्दा बढी संक्रमित रहेको चन्दननाथ नगरपालिकामा अझै संस्थागत आइसोलेसन बनाइएको छैन भने सिंजा, हिमा, तिला र गुठिचौर गाउँपालिकाले संस्थागत आइसोलेसन सचालनमा ढिलाइ गरेका हुन् ।
होम आइसोलेसनका कारण गाउँमा संक्रमण भयावह हुन थाल्यो । पातारासीका गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले भने, “नागरिक जोगाउन संक्रमण रोकथाम गर्न संस्थागत आइसोलेसनको विकल्प देखिएन । त्यसैले हामीले तत्काल संस्थागत आइसोलेसन निर्माण गरी सञ्चालनमा ल्याएका हौं ।” लक्षण भएका तर अक्सिजन दिनु नपर्ने घरमा असुरक्षित महसुस गरेका सबै संक्रमितलाई होम आइसोलेसनबाट संस्थागत आइसोलेसनमा ल्याइनेसमेत अध्यक्ष बोहोराको भनाइ छ ।
विशेषज्ञ डाक्टर औषधि उपचार, सुरक्षाकर्मीको निगरानीसहितको आइसोलेसन र कोभिड अस्पताल सञ्चालनमा ल्याएको तातोपानीका स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागार्इंले बताए । उनले भने, “संक्रमण रोकथाम तथा नागरिकलाई जोगाउन हामी पूर्ण पूर्वतयारीमा छांै । विशेषज्ञ डाक्टर संक्रमित बोक्ने निःशुल्क एम्बुलेन्स, तयारी अवस्थामा छ भने, जटिल खालका समस्या समधान गर्नका लागि पालिकास्तरमा दु्रत प्रतिकार्य टिमसमेत गठन गरिएको छ ।”
कर्णाली प्रतिष्ठानका अस्पताल निर्देशक राजिव शाह भन्छन्, “हामीले सबै स्थानीय तहमा विशेषज्ञ चिकित्सक पठाएका छांै । स्थानीय तहको सक्रियता देखिएन ।” होम आइसोलेसनले दैनिक संक्रमण बढ्दै छ । अहिलेसम्म ५ स्थानीय तहले संस्थागत आइसोलेसन सञ्चालन गरेका छैनन् ।